इटालीको आसन्न चुनाव र युरोपको भविष्य

इटालीमा आइतबार चुनाव हुँदैछ। रुस–युक्रेन युद्धको छाँयामा परेको यसपालिको संसदीय चुनावले इटालीको मात्र होइन, युरोपेली संघको पनि ध्यान केन्द्रीत गरेको छ। 

यतिबेला इटालीमा उर्जा संकट उच्च बिन्दुमा छ। दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदा परिवार तथा व्यापारीहरूमा बोझ बढ्दै गइरहेको छ। यसको प्रमुख कारण युक्रेनमाथि रुसको हमलालाई लिने गरिन्छ। रुस–युक्रेन युरोपको खाध्यान्नको ठूलो भण्डार हुन्। 

जियोर्जियो मेलोनी र उनको पार्टी ‘ब्रदर्स अफ इटाली’ यस चुनावमा जितको मुख्य दावेदार मानिएको छ। आफ्नो नव–फाँसीवादी जड तथा धार्मिक एजेन्डा (एजेन्डा अफ गर्ड) लाई पार्टीले मुख्य एजेन्डा बनाएको छ। 

यसपालि इटालीको चुनाव यस कुराको पनि संकेत हो कि, २७ सदस्यीय देश आवद्ध युरोपेली संघमा अतिवादी दक्षिणपन्थी भावना तीब्र गतिमा बढ्दै गइरहेको छ। हालै स्वीडेनमा एक अतिवादी दक्षिणपन्थी पार्टीले मानिसहरूमा डरको भावना सिर्जित गर्दै फाइदा उठाएर आफ्नो लोकप्रियता बढाएको थियो। 

मेलोनीको गठबन्धनमा अर्को मुख्य साक्षेदार दक्षिणपन्थी पार्टीका नेता मातेओ साल्विनी हुन्। जो देशमा अपराध बढ्नुमा आप्रवासीहरू जिम्मेदार भएको विचार राख्छन्। यति मात्र होइन, साल्विनीकै कारण लामो समयदेखि हंगेरी र पोल्याण्ड जस्ता देशमा दक्षिणपन्थी सरकारको आत्मविश्वास चुलिएको छ। 

सोझो प्रतिस्पर्धा

रोमस्थित एक थिंकट्याक इन्टरनेशनल अफेयर्स इन्स्टिच्युटका निर्देशक नताली तोच्ची भन्छिन्, ‘युद्धको बीच चुनाव, उर्जा संकटको बीच चुनाव र आर्थिक संकटको चेतावनीको बीच चुनाव हुन लागेको कारणले गर्दा यसपालिको चुनाव विशेष हुनेछ।’

साल्विनीको जनाधार विशेष गरेर देशको उत्तरी भागमा रहेका व्यापारीहरू बीच छ। उनी विगतमा पुटिन समर्थक टिसर्ट लगाउँथे। उनले रुसविरूद्ध पश्चिमी देशको प्रतिबन्धको विषयमा पनि प्रश्न उठाएका थिए। उनको स्पष्ट भनाई छ, ‘रुसमाथिको प्रतिबन्ध इटालीको आर्थिक हितमा छैन। यसले नोक्सानमा पुर्याउँछ।’ 

आइतबार हुन लागेको चुनावभन्दा १५ दिनअघि एउटा सर्वेक्षण भएको थियो। जसको नतिजा प्रकासित गर्न रोक लगाइएको छ।

तर, यसअघि प्रकासित सर्वेक्षणमा भनिएको थियो, ‘मेलोनीको पार्टी सबैभन्दा ठूलो दलको रूपमा उदाउँदै छ। उनले पूर्व प्रधानमन्त्री एनरिको लेट्टाको मध्य बामपन्थी डेमोक्रेटिक पार्टीलाई पछाडि छोड्ने आशंका गरिएको छ।’

लेट्टाकै कारण साल्विनी तथा पूर्व प्रधानमन्त्री सिल्वियो बेर्लुस्कोनी जस्ता रुढिवादीसँगै मेलोनी नजिक भएकी थिइन। यसले गर्दा लेट्टालाई चुनाव जित्न कठिन देखिएको छ। 

लेट्टालाई यसअघि विश्वास थियो कि, चुनाव प्रचारको बेला उनको गठबन्धन बामपन्थी झुकाव भएको लोकप्रिय पार्टी ५–स्टार मुभमेन्टसँग हुनेछ। तर, यस्तो हुन सकेन। ५–स्टार मुभमेन्ट हालको संसदमा सबैभन्दा ठूलो पार्टी हो। 

जनता निराश

युरोपका अवस्था अहिले निकै कमजोर छ। तर, आइतबार हुने इटालीको आम चुनावमा अहिलेसम्म कै सबैभन्दा कम मत झर्ने सम्भावना देखिन्छ। सन् २०१८ मा यहाँ ७३ प्रतिशत मत झरेको थियो। सर्भेमा संलग्न लोरेन्जो प्रेगलियास्कोको भनाई अनुसार यसपालि मतदानको प्रतिशत घटेर ६६ मा झर्नसक्ने छ। 

प्रेगलियास्को सर्भे गराउने कम्पनी युट्रेडका प्रमुख हुन्। उनी भन्छन्, ‘गत आम चुनावपछि बनेको तीन वटा गठबन्धनको सरकारको कामबाट कोही खुसी छैनन्। सबै निराश छन्। जनताहरूलाई लाग्छ, उनीहरूको भोटबाट खासै परिवर्तन हुने छैन।’

निवर्तमान सरकारको नेतृत्व युरोपेली केन्द्रीय बैंकका पूर्व प्रमुख मारियो द्रागीले गरिरहेका छन्। २०२१ को सुरुमा इटालीका राष्ट्रपतिले उनलाई राष्ट्रिय एकताको सरकार बनाउन आब्हान गरेका थिए। यो फैसला त्यतिबेला आएको थियो, जब ५–स्टार मुभमेन्टका नेता जुसेप्पो कोन्तोको नेतृत्वमा बनेको दोस्रो गठबन्धन सरकार पनि ढलेको थियो। 

प्रेगलियास्कोका अनुसार सर्भेबाट संकेत प्राप्त भएको छ कि, इटालीको अधिकांश मानिस द्रागीलाई मन पराउँछन् र उनीहरूको सोच छ, उनको सरकारले राम्रो काम गर्यो। 

तर, मेलोनीले उनको गठबन्धनमा समावेश हुन अस्विकार गरिन्। अहिले उनको त्यही बागी छवीले चुनावमा सबैभन्दा बढी मत प्राप्त गर्नसक्ने सम्भावना बढेको छ। तोच्ची भन्छन्, ‘मेलोनीको पार्टी यति लोकप्रिय यस कारण छ, उसले नयाँ भरोसा जगाउने काम गरेको छ।’ 

मेलोनी अफ्ठेरोमा

मेलोनीले अहिले पनि यो ओलाचना खेप्नु परिरहेको छ कि, उनले तानाशाह बेनितो मुसोलिनीसँग सद्भाव राख्ने र नव–फाँसीवादी आन्दोलनबाट आफूलाई छुट्टयाउन सकेकी छैनन्। मेलोनीले यसै कारण चुनावको बेला आफूबाट लोकतन्त्रलाई कुनै किसिमको खतरा नभएको स्पष्टीकरण दिनुपरेको थियो। 

केही राजनीतिक विश्लेषक भन्छन्, फाँसीवादबाट जोडिएको प्रश्न चिन्ताको मुख्य विषय होइन। 

रोमको एउटा निजी विश्वविद्यालय एलुयआइएसएसमा राजनीतिक विज्ञानका प्रोफेसर रोबेर्टो डि’आलिमोन्ते भन्छन्, ‘मलाई फाँसीवादी खतरा लाग्दैनन्। डर उनको अयोग्यतासँग छ। उनीसँग कुनै पनि स्तरमा सरकार चलाउने अनुभव छैन।’

बेर्लुस्कोनीको अन्तिम सरकारमा मेलोनी युवा मन्त्री थिइन। तर, त्यो एक दशक बितिसकेको छ।  

डि’अलिमोन्ते गठबन्धनका मुख्य साझेदार साल्विनीलाई पनि समस्याको रूपमा हेर्छन्। उनी भन्छन्, ‘मेलोनी मात्र होइन, साल्विनीले पनि समस्या उत्पन्न गर्नेछन्। मेलोनीले होइन, साल्विनीले रुसविरूद्ध प्रतिबन्ध हटाउने माग गरिरहेका छन्।साल्विनीले कर्जा र घाटा अझै बढाउने कुरा गरिरहेका छन्।’

विवादको जड

हालै केही घटनामा ‘ब्रदर्स अफ इटाली’ पार्टी चिन्ताको विषय बनेको छ। सिसिलीमा ‘ब्रदर्स अफ इटाली’ पार्टीका एक उम्मेदवारलाई पार्टीले निलम्बन गरेको थियो। उनले सोसल मिडियामा हिटलरको तारिफ गरेका थिए। यस बाहेक मेलोनी कै पार्टीका सह–संस्थापक मध्येका एकका भाई पनि आफ्नो एक जना नातेदारको अन्तिम संस्कारमा फाँसीवादी सलामी दिँदै गरेको भेटिएका थिए। 

केही वर्ष यतादेखि दक्षिणपन्थी पार्टी इटालीमा बढी संख्यामा भित्रिएका आप्रवासीको विरूद्ध अभियान चलाइरहेका छन्।

तस्करहरूले डुँगामार्फत लाखौं आप्रवासीलाई इटालीमा प्रवेश गराएका छन्। मेलोनी र साल्विनी यसको कट्टर आलोचक हुन्।

उनीहरू यसलाई विदेशीले आफ्नो देशमा गरेको हमलाको रूपमा लिन्छन्। उनीहरू इटालीको धार्मिक चरित्रलाई समाप्त पार्न यस्तो अभियान चलाइएको बताउँछन्। 

लेट्टा भने कानुनी रूपमा आफ्नो देशमा आउने प्रवासीहरूको बच्चालाई नागरिकता दिलाउने कुराको वकालत गर्छन। उनी अहिले डरको अवस्थामा छन्। गाडीहरूमा उनको पार्टीको पोस्टरमा आधा तस्वीर गम्भीर मुद्रामा लेट्टालाई देखाइएको छ भने तल लेखिएको छ, ‘छानौं’ । तस्वीरको आधा भागमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको राखिएको छ। 

साल्विनी र बेर्लुस्कोनी, दुवैले पुटिनको तारिफ गरिसकेका छन्। तर, मेलोनी युक्रेनलाई दिएको हतियारको समर्थन गर्छिन्। 

युरोपेली संघको चिन्ता

यसै बीच युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेय लायनले इटालीलाई चेतावनी दिएकी छिन् कि, यदी इटाली लोकतान्त्रिक सिद्धान्तभन्दा बाहिर जान्छ भने, उसले यसको नतिजा नराम्रोसँग भोग्नु पर्नेछ। यसका लागि तयार रहन पनि उनले चेतावनी दिएकी छिन्। 

उनको यही बयानले स्पष्ट पारेको छ कि, यदी मेलोनी तथा उनको गठबन्धन सत्तामा आएको खण्डमा इटाली र युरोपेली संघ बीचको सम्बन्धमा तिक्तता आउने छ। 

एउटा अमेरिकी विश्वविद्यालयमा केही दिनअघि फोन डेय लायनलाई सोधिएको थियो, के इटालीको आगामी चुनावलाई लिएर केही चिन्ता छ। जसको जवाफमा उनले भनिन्, ‘मेरो दृष्टिकोणमा कुनैपनि लोकतान्त्रिक सरकार हामीसँग मिलेर काम गर्न तयार छ भने हामी पनि मिलेर काम गर्न तयार छौं। तर, कुरा गलत दिशातर्फ बढ्छ भने, मैले हंगेरी र पोल्याण्डको कुरा गरेको थिए, हामीसँग अरु उपाय पनि छन्।’

साल्विनीले फोन डेय लायनको बयानलाई ‘लज्जास्पद घमण्ड’ को संज्ञा दिँदै आलोचना गरेका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘यो के हो, धम्की? इटालीका जनताको स्वतन्त्रता, लोकतन्त्र र सम्प्रभूतापूर्ण चुनावको सम्मान गर्नुहोस्।’

मुख्य मुद्धा

यसपालिको चुनावमा इटालीका जनताहरूको सबैभन्दा ठूलो चिन्ता नै उर्जाको बढ्दो दाम हो। एक वर्षअघिको तुलनामा अहिले उर्जा १० गुणाले बढेको छ। यस बाहेक पनि मानिसले रोजगारी गुमाउँदै गएका छन्। यो अहम मुद्धा हो। 

अहिले कुनै पनि उम्मेदवारसँग उर्जा संकटको गतिलो विकल्प छैन। मात्र साल्विनीले इटालीमा बन्द भएको परमाणु उर्जा संयन्त्रलाई पूनः सुरु गर्नुपर्ने बताएका छन्। प्रायः सबै उम्मेदवारहरू चाहन्छन्, युरोपेली संघले ग्यासको मूल्य स्थिर बनाओस्। 

यसपालि इटालीमा कीर्तिमानी गर्मी र सुख्खाका कारण जलवायु परिवर्तनको मुद्धा पनि जोडतोडका साथ उठेको छ। इटालीको सानो ग्रीन पार्टी लेट्टाको चुनावी गठबन्धनको सहयोगी पार्टी हो। उसलाई नयाँ बन्ने संसदमा केही सिट प्राप्त हुने अनुमान गरिएको छ। 

–रोयटर्स

प्रतिक्रिया