छिमेकी भुटानमा अब नयाँ पर्यटन नीति, २३ सेप्टेम्बरदेखि सीमा खुल्दै

काठमाडौं। कोरोना संक्रमणको जोखिमका कारण विदेशी पर्यटकलाई पूर्ण रूपमा प्रवेश निषेध गरेको भुटानले आउँदो शुक्रबारदेखि पुनः ढोका खोल्ने भएको छ। भुटानले अढाई वर्षपछि विदेशलाई ढोका खोल्न लागेको हो।

तर, यसपालि उसले आफ्नो पर्यटन नीतिमा भने केही परिवर्तन गर्दैछ। भुटानले कोरोना संक्रमणका कारण जोखिममा परेको पर्यटन क्षेत्रको सुधारका लागि केही महत्वपूर्ण निर्णय गरेको छ। उसले अब दिगो विकास शुल्क (एसडीएफ) को नाममा पर्यटकबाट पैसा उठाउने निर्णय गरेको छ। 

विदेशी मात्र होइन, भारतीयले पनि यो शुल्क चुकाउनु पर्नेछ। यसअघि भारतीयलाई भुटानमा कुनै किसिमको शुल्क लाग्दैन्थ्यो। भुटान सरकारले उठेको रकम पर्यावरण संरक्षणका लागि कार्बन उत्सर्जन कम गर्न र पर्यटन क्षेत्रसँग जोडिएका मानिसको क्षमता अभिबृद्धिका लागि खर्च गरिने बताएको छ। 

भुटान पहिलेदेखि नै पर्यावरणलाई लिएर संवेदनशील छ। देशको नयाँ पर्यटन नीतिले भौतिक पूर्वाधार, सेवा, पर्यटकको अनुभव र पर्यावरणमा ध्यान दिन सहयोग पुग्ने बताइएको छ। भुटानका विदेशमन्त्री तथा पर्यटन परिषद्का अध्यक्ष डाक्टर टेन्डी दोर्जीले भनेका छन्, ‘यी सबै निर्णयको कारण पर्यटकलाई राम्रो अनुभव गराउनुका साथै आफ्नो नागरिकलाई राम्रो काम उपलब्ध गराउनु हो।’

भुटानमा अन्य देशका साथै भारतीय पर्यटक बढी जाने गरेका छन्। सन् २०१८ को रिपोर्ट अनुसार भुटानमा २ लाख ७४ हजार पर्यटक पुगेका थिए, जसमा ६६ प्रतिशत भारतीयको उपस्थिति थियो। सन् २०२० को सुरुको तीन महिनामा भुटानमा २९ हजार ८ सय १२ पर्यटक पुगेकोमा २२ हजार २ सय ९८ भारतीय थिए। 

पहिले भारत, बंगलादेश, माल्दिभ्सका पर्यटकलाई भुटान घुम्न जाँदा अतिरिक्त रकम खर्च गर्नु पर्दैन्थ्यो। अब उनीहरूले प्रतिदिन १९२० नेपाली रुपैयाँ खर्चिनुपर्ने छ। अन्य देशका नागरिकले प्रतिदिन ६५ डलरको हिसाबले एसडीएफ भुक्तानी गर्नुपर्ने छ। 

भुटान सरकारले पर्यटनसँग जोडिएका होटलहरूको यात्रा प्याकेजको अवधिलाई पनि बढाएको छ। गृह तथा सांस्कृतिक मन्त्रालयका निर्देशक टासी पेन्जोर भन्छन्, ‘पर्यटकबाट प्राप्त हुने एसडीएफको प्रयोग पर्यावरण संरक्षण बाहेक भौतिक पूर्वाधार सुधारमा पनि खर्च गरिने छ।’

उनले भुटानको सीमामा रहेका स्थानीय तथा विदेशी नागरिकले भुटानी मुद्रामा ३ हजारसम्मको सामान लिएर आउन सक्ने बताएका छन्। यो ट्युटी तथा ट्याक्स फ्रिसँग जोडिने छ। पहिले यस्तो कुनै प्रतिबन्ध थिएन। पर्यटकले सामान लैजान पाउँथे। 

सरकारले न्युनतम दैनिक प्याकेज दरलाई भने खारेज गरेको छ। भुटान आउने पर्यटकले यसअघि न्युनतम राशी प्याकेज रेट अनुसार बुझाउनु पर्दथ्यो। पहिले पर्यटक घुम्ने अधिकार टुर अपरेटरले तय गर्दथे। तर, अब यो अधिकार पर्यटक स्वयमलाई उपलब्ध गराइएको छ। पर्यटकले अब सर्भिस प्रोभाइडरसँग सिधै सम्पर्क गरेर आफूले लिने सेवा अनुसार भुक्तानी गर्नसक्ने छन्।  
–एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया