शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वती रहेनन्

काठमाडौं। ज्योतिर्मठ बद्रीनाथ र शारदा पीठ द्धारकाका शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको ९८ वर्षको उमेरमा आइतबार निधन भएको छ। सोमबार साँझ ६ बजे मध्य प्रदेशको नरसिंहपुर जिल्लाको क्षेतेश्वरमा परमहंसी गंगा आश्रममा समाधिस्थ गर्ने कार्यक्रम रहेको छ। 

हिन्दु धर्ममा सामान्य मानिसको अन्तिम संस्कार अग्नि दिएर गर्ने गरिन्छ। तर, साधुसन्तको अन्तिम संस्कारको छुट्टै नियम हुने गर्छ। सन्यासीहरूलाई भू–समाधि अर्थात माटोमा गाड्ने गरिन्छ। 

स्वरुपानन्दको जन्म ब्रिटिशकालमा २ सेप्टेम्बर १९२४ मा भएको थियो। उनलाई द्धारकाको शंकराचार्यको पदवी १९८२ मा प्राप्त भएको थियो। 

स्वरुपानन्दको वास्तविक नाम पोथीराम उपाध्याय हो। उनलाई गुरु ब्रम्हानन्दले दण्डी सन्यासीको शिक्षा दिएका थिए। 

सन् १९५० मा भारतीय कांग्रेसविरूद्धको अभियानमा सक्रिय भएका स्वरुपानन्द गौहत्या रोक्ने अभियानमा सक्रिय हुँदा सन् १९५४ र १९७० को बीचमा तीन पल्ट जेल परेका थिए। उनले देशव्यापी रूपमा आश्रम सञ्चालन गरेका थिए भने हिन्दुबाट क्रिश्चियन बनेका भारतीय नागरिकलाई पुनः आफ्नो धर्ममा फर्काउने अभियानकै नेतृत्व गरेका थिए। 

महर्षी महेश योगीको विषयमा उनले दिएको एउटा रोचक प्रतिक्रियाका कारण आज पनि स्वरुपानन्दलाई धेरैले स्मरण गर्ने गर्छन। लामो समय आफ्नो गुरु ब्रम्हानन्द सरस्वतीको निजी सहायक भएर काम गरेका महर्षी महेश योगीको विषयमा एक पल्ट स्वरुपानन्दले भनेका थिए, ‘कुनै हवाइजहाज बिना महर्षीले एक पल्ट अमेरिकाबाट भारतको यात्रा गरेको भए राम्रो हुन्थ्यो। त्यसपछि सायद उनले भनेको कुरा स्वीकार गर्न सकिन्छ।’

स्वरुपानन्दको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, कांग्रेस नेता प्रियंका गान्धी र छत्तिसगढका मुख्यमन्त्री भूपेश बाघेलले दुःख व्यक्त गरेका छन्। 

स्वरुपानन्दले १९ वर्षको उमेरमा महात्मा गान्धीले आव्हान गरेको भारत छोडो आन्दोलनमा भाग लिएका थिए। उनी ‘क्रान्तिकारी साधु’ को उपनामले पनि चर्चित थिए। उनी त्यतिबेला दुई पल्ट (पहिलो पल्ट ९ महिना, दोस्रो पल्ट ६ महिना) जेल परेका थिए। 

सन् २०१२ मा उत्तराखण्डका मुख्यमन्त्री विजय बहुगुणाले गंगा नदीबाट बिजुली निकाल्न ड्याम र ब्यारेज बनाउन दिएको मन्जुरीको विरूद्ध स्वरुपानन्दले दिल्लीको जन्तरमन्तरमा विरोधसभाको आयोजना गरेका थिए। 

सन् २०१४ मा जम्मु र काश्मिरबाट आर्टिकल ३७० लाई समाप्त गर्नुपर्ने बयान दिँदै उनी विवादमा तानिएका थिए। 

प्रतिक्रिया