राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पदको तानातानले सिट बाँडफाँटमा कुरा मिलेन

काठमाडौं। सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे छलफल चलिरहे पनि केही प्रमुख संवैधानिक पदहरु ककसले लिने भन्ने बिषयले अन्तिम निर्णय हुननसकेको थाहा भएको छ। 

‘राष्ट्र प्रमुख, सरकार प्रमुख र संसद प्रमुखको पदको भागबण्डा नमिलेर गठबन्धनका नेताहरु अर्को बैठक बस्ने भन्दै उठ्ने गरेका छन्’ सरकारको नेतृत्व गरिसकेका एक वरिष्ठ नेताले व्यंग कस्दै दृश्य टिभीसँग बताए। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको निर्वाचनपछि गठबन्धन सरकारको नेतृत्व लिन चाहेका छन्। नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो दलका नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन चाहन्छन्। यसो गर्दा नेपाली कांग्रेसको भागमा प्रतिनिधिसभाको सभामुख पद पर्नेछ।

प्रधानमन्त्री शेरबहादुर देउवा भने निर्वाचनपछिको सरकार पनि आफ्नै नेतृत्वमा बनाउन चाहन्छन्। उनी माओवादीलाई सभामुख पद दिन तयार छन् भने समाजवादीलाई राष्ट्रपति नै दिनपरे पनि उनी असहमत हुनेछैनन्। अरु साना दललाई उपसभामुख र राष्ट्रिय सभाको अध्यक्ष दिने सहमति गरेर भएपनि सिट बाँडफाँटको छलफल टुंग्याउन प्रधानमन्त्री देउवाले प्रयाश गरिरहेको उच्च राजनीतिक सूत्रले बताएको छ। 

‘प्रतिनिधिसभाको सिट बाँडफाँटमा कुरा नमिल्नुको चूरो कारण यिनै संवैधानिक पद कस्को भागमा पर्ने भन्ने तानातानले हो,’ सूत्रले भन्यो।

बिहीबार बिहान ९ बजे सिट बाँडफाँट कार्यदल र नेताहरूको बैठक बस्यो।

बुधबार बसेको कार्यदल बैठकले सिट बाँडफाँट प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने सहमति गरेको थियो।

विवादित क्षेत्र प्रधानमन्त्रीसहित पाँच दलीय शीर्ष नेताले टुंग्याउने भने पनि निर्वाचनपछि प्रमुख संवैधानिक पदको भागबण्डा प्रष्ट नभएसम्म कुरा मिल्ने छाँट देखिँदैन।

यता असोज १ मा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने अनिवार्य प्रावधानले गर्दा प्रत्यक्षतर्फका सिट बाँडफाँट टुंग्याउनुपर्ने वाध्यता छ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्न असोज २३को कार्यतालिका जारी गरिसकेको छ।

पाँच दलीय गठबन्धनले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन सदस्य छन्।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू पुरी र आनन्द शर्मा कार्यदल पनि सदस्य छन्।
 

प्रतिक्रिया