सरकारी मिडियामा शेखर कोइराला ‘ब्ल्याक आउट’

काठमाडौं। सत्ताको उन्माद कस्तो हुन्छ? त्यो हेर्न अन्यत्र जानु पर्दैन। नेपालका सरकारी मिडियालाई हेरे पुग्छ।

कुनैबेला नेपालको सरकारी मिडिया ‘कोइरालाहरू’ को बखान गरेर थाक्दैनथ्यो। २०४६ यता पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको न्यूज प्रकाशित नभएको दिन नै हुँदैनथ्यो। उनको देहवशान नहुँदासम्म यो क्रम जारी रह्यो। 

तर, अहिले सरकारी मिडिया उनका भतिजा डा. शेखर कोइरालाप्रति अनुदार बनेको छन्। नेपाली कांग्रेसको गत महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई कडा चुनौति दिएका शेखर यसपछि सरकारी मिडियाको कोपभाजनको शिकार भएका छन्।  

पार्टी सभापतिको चुनावमा प्रधानमन्त्रीसँग पराजित भए पनि उनी संगठनलाई बलियो बनाउने अभियानमा निरन्तर सक्रिय नेता हुन्। पाँच दलीय गठबन्धन र स्थानीय चुनावमा पार्टीका कर्मठ कार्यकर्ताप्रति नेतृत्वपंक्तिले अन्याय गर्दा उनीहरूलाई ढाडस दिन उनै कोइराला पुग्ने गरेको कार्यकर्ता सम्झन्छन्। 

गत स्थानीय चुनावमा आफ्ना नातागोता र ‘पकेट’ का व्यक्तिलाई टिकट दिएको भन्दै सभापति देउवाप्रति कांग्रेस कार्यकर्ताले चर्को रोष प्रकट गरेका थिए। यतिबेला देउवाको निर्णयमा सहमति जनाउँदै केही नेताहरूले तीन पुस्तादेखि कांग्रेसमा लागेका कार्यकर्ताहरूको मानमर्दन गर्न र उनीहरूलाई पार्टीबाट निस्किएर जान ‘धम्की’ समेत दिएका थिए। जसको असर काठमाडौं महानगरपालिकादेखि धनगढीसम्म परेको चर्चा चलेको थियो। 

अहिले पनि नेताहरूको बोली फेरिएको छैन। ‘कार्यकर्ता भए आफू नेता बन्ने’ सामान्य हेक्कासमेत नराखेका कांग्रेसी नेताहरूको अहमका कारण थुप्रै कार्यकर्ता चिढिएको गुनासो सुन्न पाईन्छ। यस्तो बेला बिद्रोही कार्यकर्तामाझ पुगेर शेखर कोइरालाले अलिकति भए पनि उनीहरूलाई ढाडस दिने गरेको देखिन्छ। 

कांग्रेसमा ६०–४० को भाग–शान्ति गिरिजा–किशुनजीको पालादेखि नै सुरु भइसकेको थियो। पछि यो गिरिजा–शेरबहादुर हुँदै अहिले शेरबहादुर–शेखरमा सरेको छ। तर, गिरिजा प्रसाद कोइराला सभापति हुँदा जसरी शेरबहादुर देउवाले पार्टीभित्र आफ्नो भाग खोज्थे। त्यो भागबण्डाको राजनीतिमा शेखर सक्रिय देखिँदैनन्।  

देउवा क्याम्पले शेखरको ‘भद्रता’ लाई कमजोरीको रूपमा लिएको कोइराला समूहको बुझाई छ। तर, उनी देउवाले सोचे जस्तो कमजोर पनि छैनन् भन्छन् उनीहरु। गठबन्धनको धर्म निर्वाह गर्दा केही ‘कम्प्रोमाइज’ गर्नुपर्छ भन्ने हेक्का शेखरलाई छ। तर, ‘कम्प्रोमाइज’ को नाममा जसरी पार्टीको चौतर्फी बदनामी भइरहेको छ, युवा वर्गमा विस्तारै कांग्रेसप्रतिको मोह भंग हुँदै गइरहेको छ, यसले उनको चिन्ता बढाएको कोइराला निकटस्थ सहयोगी बताउँछन्। 

आफ्ना हजुरबुवा कृष्णप्रसाद कोइरालाबाट सुरु भएको प्रजातान्त्रिक आन्दोलनको जग, जहाँनियाँ राणा शासनदेखि राजतन्त्र उन्मूलनसम्मको यात्रामा काका–बुवाले खेलेको भूमिका उनलाई राम्रोसँग हेक्का छ। 

तर, उनको राजनीतिक सक्रियता र प्रजातन्त्रप्रतिको निष्ठालाई शून्यमा झार्ने गरी योजनाबद्ध खेल भइरहेको र उनका लागि स्वीकार्य नभएको कोइरालाका सहयोगी बताउँछन्। अहिले नेपालका सरकार नियन्त्रित मिडिया उनको सक्रिय राजनीतिक पृष्ठभूमिलाई शून्यमा झार्ने अभियानमा रहेको उनीहरुको बुझाई छ। त्यसैको प्रतिबिम्ब हो, सरकारी मिडियामा डा. शेखर कोइरालाको समाचार ‘ब्ल्याक आउट।’  

व्यवसायिक पत्रकारिताको अनुभव सँगालेका पत्रकारको नेतृत्व पाउँदा समेत सरकारी सञ्चारमाध्यमले आफ्नो चरीत्र, प्रवृत्ति र आदेशपालकको भूमिकामा कुनै परिवर्तन गर्न नसकेको राजनीतिक क्षेत्रको मूल्यांकन रहेको छ।
 

प्रतिक्रिया