पर्दाभित्रको राजनीति

 ‘भावी उपप्रधानमन्त्री’ आरजुको राखी कुटनीति  

काठमाडौं। आरजु राणा देउवाले नेपाल–भारत सम्बन्धलाई नयाँ परिभाषा दिने चेष्टा गरेकी छन्। पति शेरबहादुर देउवाले देशको कार्यकारी नेतृत्व सम्हालिरहेको मौकामा आरजु दक्षिणको महत्वपूर्ण छिमेकीसँगको सम्बन्धलाई व्यक्तिगत तहमै कसिलो बनाउने प्रयाशमा रहेको बुझ्न सकिन्छ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको दायाँ हातमा राखी बाँधेर आरजुले दुइ देशको परम्परागत सम्बन्धलाई चेलिमाईतीको तहमै घनिष्ठ बनाउने कामको शिलान्यास गरिसकेकी छन्। त्यसपछि प्रत्यक्ष परोक्ष यी चेलीमाईतीवीचको भेटघाटले काठमाडौं र नयाँदिल्लीमा राष्ट्रिय तहमै चर्चा पाउन थालेको छ। राखी बन्धन गरेर आरजुले परम्परागत ‘रोटीबेटी’ को नातालाई नयाँ परिभाषा दिएको भनेर पनि टिकाटिप्पणी हुने गरेको छ। 

स्वास्थ्योपचारका लागि भारतीय राजधानीमा रहेकी आरजुको ‘देखभाल’ गर्न भाजपा नेता चौथाईवाले आफैं अस्पताल गएका छन्।

जहाँनियाँ निरंकुश शासन चल्दादेखि नै मनमौजी राजकाज चलाउने कुलीन देखि तेस्रो श्रेणीका राणाहरुको भारतका राजारजौटा र सामन्त घरानियाँसँग कुनै न कुनै नाता सम्बन्ध रहँदै आएको देखिन्छ। दुवै देशमा राजनीतिक परिदृश्य फेरिए पनि यो पारिवारीक सम्बन्धलाई भने कुनै फरक परेको छैन। आरजुले आफ्ना पिता पूर्खाको बिरासत धान्न नेपाली कांग्रेसको पहिचान उपयोग गर्न कुनै कसर छाडेकी छैनन्।

परम्परागत दुइ देशले सम्बन्धमा ‘चेलीमाईती’ को नयाँ परिभाषा पाउँदै गर्दा यसले आरजुको राजनीतिक महत्वाकांक्षाको मात्र मलजल गर्ने हो कि सभापति शेरबहादुर देउवाको राजनीतिक करिअरको एकमात्र आधार नेपाली कांग्रेसलाई पनि लाभ हुने हो, यसै भनिहाल्न सकिँदैन। तर आरजु केन्द्रित सक्रियता हेर्दा भाजपा विदेश विभाग प्रमुखसँगको घनिष्ठतालाई उनी आफ्नो राजनीतिक लाभमा मात्र उपयोग गर्न चाहन्छिन् भन्ने बुझ्न सकिन्छ। यसमा उनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि साथ रहने निश्चित देखिन्छ। आरजुको योजनामा नयाँदिल्ली पुगेका प्रचण्डले आगामी संसदीय निर्वाचनपछिको रोडम्यापमा आरजुुसँगको सहकार्यमा सहमति जनाएर फर्किएको बताईन्छ।

अझ यसपटक गठबन्धनका अर्का नेता पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुगेर आरजुसँगसँगै केही भारतीय नेतालाई भेटेका छन्। पहिले नै नयाँदिल्ली उत्रिएकी आरजुको ब्रिफिङ्गपछि पुगेका प्रचण्डको भारतीय नेताहरुसँगको भेटघाट कति फलदायी भयो सतहमा आएका सूचनाकै आधारमा यसै भनिहाल्न सकिँदैन। तर संयोग नै मान्नुपर्छ प्रचण्ड फर्किए लगत्तै प्रतिनिधिसभाले लामो समयदेखि अल्झिएर बसेको नागरिकता संशोधन विधेयक पारित गरेको छ। 

माओवादी केन्द्रको जारी बैठकमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन आगामी निर्वाचनसम्म नै जारी रहने छ भनेर नेता कार्यकर्तालाई ब्रिफिङ्ग गरेका छन्। नेपाली कांग्रेसले पनि सभापति तथा प्रधानमन्त्रीको मनशाय अनुसार गठबन्धनलाई निरन्तरता नै दिने भनिसकेको छ। यही आधारमा भनिएको हुनसक्छ आगामी निर्वाचनपछि आरजु र प्रचण्ड आलोपाली सरकारको नेतृत्वमा जानेछन्। संसदीय निर्वाचन आगामी मंसीरमा हुने सम्भावना छ। निर्वाचन भयो, आरजु र प्रचण्ड जिते भने यो आलोपालोको खेल नहोला भन्न सकिँदैन। दिल्ली भ्रमणले यस्तो सन्देश छोडिसकेको छ।

नेपाली कांग्रेसको नेतृत्व तहमा अर्थपूर्ण चलखेल गरिरहेकी आरजुले राजकाजमा समेत दख्खल दिईरहेको चर्चाले काठमाडौंका बैठक कक्षहरु तताउने गरेका छन्। तल्लोदेखि उपल्लोसम्मको सरुवा, बढुवा, नियुक्ति र सिफारिस समेत आरजु म्याडमको पूर्ण जानकारीबिना हलचल गर्न पाउँदैनन् भनिन्छ।  

यसपटकको नयाँदिल्ली भ्रमणले आरजुलाई स्वास्थ्य र राजनीति दुवै पक्षमा तन्दुरुस्त पारेर काठमाडौं पठाउने चर्चा पनि चलिरहेको छ। हिजो बुधबारमात्र भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग आरजुले भेटवार्ता गरिन्। पति देउवाले पाँचौं पटक सत्ताको नेतृत्व गरेको एक वर्षमा आरजु र चौथाइवालेबीच भएको यो चौथो भेट हो। उनीहरूबीच निरन्तर भेटवार्ताले निहित उद्देश्य व्यक्तिगत सम्बन्ध विस्तारमा केन्द्रित हो कि पार्टी–पार्टी सम्बन्ध सुदृढीकरणमा भन्ने चासो पनि पैदा गरेको छ।

देउवा पछिल्लोपटक प्रधानमन्त्री भएको डेढ महिना नबित्दै चौथाइवाले नेपाल आएका थिए। त्यहीबेला आरजु र चौथाइवालेबीच सम्बन्ध स्थापनाको आधार तय भएको हो। भदौ ६ गते रक्षा बन्धनको बेलुकी बालुवाटार पुगेका चौथाइवालेलाई आरजुले राखी बाँधिदिएकी थिइन्, जसले उनीहरूको सम्बन्धलाई दुई मुलुकका नेताबाट ‘चेली–माईती’ मा परिणत गरिदियो। 

आरजुले गत वर्ष पुस र गत जेठमा स्वास्थ्योपचारका लागि दिल्ली गएका बेला पनि चौथाइवालेसँग भेटेकी थिईन्। गत चैतमा प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्दा पनि आरजु र चौथाइवाले भेटेका थिए। देउवा दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेबित्तिकै पत्नी आरजुका साथ दिनदयाल मार्गस्थित भाजपा मुख्यालय पुगेका थिए। चौथाइवाले र आरजुबीचको घनिष्ठ सम्बन्धकै कारण प्रधानमन्त्री देउवाले भारतीय सत्तारूढ दलको मुख्यालय अवलोकन गर्नुपरेको बताईन्छ। 

चौथाइवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वास पात्र मानिन्छन्। आगामी निर्वाचनपछि आरजु उपप्रधानमन्त्री बन्ने कसरतमा रहेको कांग्रेसकै नेताहरूले चर्चा गर्ने गरेका छन्। यही कारण पनि आरजु र चौथाइवाले बीचको निरन्तर भेटवार्तालाई अर्थपूर्ण रूपमा विश्लेषण गरिएको छ। प्रचण्डलाई भावी योजना अनुसार नै आरजुले नयाँदिल्लीको भ्रमणको तारतम्य मिलाएको पनि बताईन्छ। प्रचण्ड पनि नयाँदिल्ली उत्रिएपछि भाजपा मुख्यालय नै पुगेका थिए। तर प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने अन्तिम समयमा पुगेर भेट्न अवसर मिलेन।
 

 

प्रतिक्रिया