'मेरो कन्जर्भेसन यात्रामा वौद्ध दर्शनको ठूलो देन छ' 

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का नेपाल प्रतिनिधि एवं संरक्षणविद् डा. घनश्याम गुरुङले आफ्नो प्रकृति संरक्षणको करिअरमा वौध्द दर्शनको ठूलो योगदान रहेको बताएका छन् । पाँच वर्षको कलिलो उमेरदेखि सम्भोटा लिपि सिकेर वौध्द धर्म–दर्शनको अध्ययन सुरु गरेका डा. गुरुङवौध्द ध्यान–साधनाको अभ्यासकर्ताका रुपमा समेत परिचित छन् ।

‘मेरो पढाइको सुरुआत वौध्द शिक्षाबाट भयो । सानो उमेरमै मैले वौध्द गुरुहरुको संगतले गर्दा मन्त्र साधनाबाट प्राप्त हुने शक्तिको बारेमा जानकारी पाएँ,’ उनी भन्छन्, ‘मन्त्र साधनाको प्रभावले धेरै कामहरु फत्ते गर्न सकिन्छ भने मैले पनि मेहनत गरे भने भविष्यमा धेरै पढ्न सक्छु भन्ने आत्मविश्वास जागृत भयो । पछि प्रकृति संरक्षणको क्षेत्रमै काम गर्ने निधो गरेँ ।’ प्रकृति संरक्षणमा न्यूजील्यान्डबाट स्नातकोत्तर र स्वीट्जरल्यान्डबाट पिएचडी अध्ययन पूरा गरेका उनी चार वर्षदेखि डब्लुडब्लुएफ नेपालका प्रतिनिधि रहेका छन् ।

वौध्द दर्शनमा सिकेको करुणा, दया, दायित्व आदिले संरक्षण क्षेत्रमा कार्य गर्दा सहज भएको उनको अनुभव छ । ‘वातावरणमैत्री सामाजिक र सांस्कृतिक व्यवहारले संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँछ, जुन आध्यात्मिक शिक्षाले सिकाउँछ,’ उनी भन्छन् । विभिन्न धर्मगुरु एवं समुदायको सहयोगले संरक्षण कार्यलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।

पछिल्लो समयमा नेपालमा बाघ, गैंडाको संख्या बढेकोमा उनी खुसी व्यक्त गर्छन् । खासगरी हिमचिुतवा अभियानमा डा. गुरुङले खेलेको भूमिकालाई उल्लेखनीय मानिन्छ । डब्लुडब्लुएफले रणनीतिक योजना बनाएर संरक्षण कार्यलाई आगामी दिनमा अगाडि बनाउने उनी बताउँछन् ।

वौध्द दर्शन र प्रकृति संरक्षण अभियान, वातावरणमैत्री जीवनशैली, डब्लुडब्लुएफको संरक्षण अभियान र भावी योजनाबारे डा. गुरुङले दृश्य टिभीसँग कुराकानी गरेका छन् ।

प्रतिक्रिया