‘दम मारो दम’ बाट बलिउडमा इन्ट्री गरेका चर्चित गायक भुपिन्दर रहेनन्

दिल्ली। चर्चित गजल गायक भुपिन्दर सिंहको ८२ वर्षको उमेरमा सोमबार राती निधन भएको छ। उनी लामो समयदेखि पेटको रोगबाट थला परेका थिए। उनलाई १० दिनअघि अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा उनलाई कारोना भयो र पछि हदयघातबाट निधन भयो। 

उनको अन्तिम संस्कार सोमबार राती नै मुम्बईस्थित ओशिवारा घाटमा गरिएको थियो। 

घरमा संगीतको माहौल भए पनि भुपिन्दरले सुरुमा गायक बन्ने चाहना राखेका थिएनन्। सन् २०१६ मा उनले दिएको अन्तर्वार्तामा भनेका थिए, ‘घरमा यति धेरै संगीतकार थिए कि मलाई डर थियो, उनीहरूभन्दा बेग्लै केही गर्न सक्दिन भनेर।’

भुपेन्दरका पिता नाथा सिंह अमृतसरमा संगीतका प्रोफेसर थिए। ठूलो दाजु सानैैदेखि वाद्ययवादन बजाउँथे। उनले सुरुका दिन गितार बजाउने गर्थे। गितारले नै उनलाई गीततर्फ आकर्षित गरेको थियो। 

भुपिन्दरले ‘हरे राम हरे कृष्ण’ फिल्मको ‘दम मारो दम’ गीतबाट बलिउडमा डेब्यु गरेका थिए। यस गीतको कम्पोज आरडी बर्मनले गरेका थिए। यो गीतपछि उनले आरडीको प्रायः सबै उत्कृष्ट गीतमा गितार बजाए। उनी पञ्चम दाका नवरत्नमध्ये एक रत्न थिए। उनले ‘यादो कि बरात’ फिल्ममा ‘चुरा लिया है तुमने’ गीत, ‘अमर प्रेम’ फिल्ममा ‘चिङ्गारी कोइ भड्के’ गीत, ‘चलते चलते’ को टाइटल ट्रयाक र शोले फिल्मको ‘महबुबा ओ महबुबा’ गीतमा काम गरेका थिए। 

गायकको रूपमा भुपिन्दरको चर्चित गीतहरू जिने कि राहको ‘आने से उसके आए बहार’, ऐतबारको ‘किसी नजरको तेरा इनतजार आज भी है’, सिताराको ‘थोडी सी जमिन थोडा आसमान’, परिचयको ‘बिती न बिताई रैना’, मौसमको ‘दिल ढुंढता है’, किनाराको ‘नाम गुम जाएगा’, घरौंदाको ‘एक अकेला इस शहरमे’, मासुमको ‘हजुर इस कदर भी न इतरा कर चलिए’, बजारको ‘करोगे याद तो हर बात याद आएगी’, आहिस्ता आहिस्ताको ‘कभी किसीको मुकम्मल जहाँ नही मिलता’ थियो। 

उनले बंगलादेशकी हिन्दु गायिका मिताली मुखर्जीसँग बिहे गरेका थिए। मितालीले बंगालीमा गाएको गीत सुनेर भुपिन्दर दंग भएका थिए। सन् १९८३ मा उनीहरूको बिहे भएको थियो। यो जोडीबाट जन्मिएको एक छोरा निहाल सिंह अहिले संगीतकार छन्। 

प्रतिक्रिया