ब्रिटनीको बिहेमा पूर्व पतिले गरे बबाल

वासिङ्टन। चर्चित अमेरिकी पप गायिका ब्रिटनी स्पीयर्स विहीबार राती आफ्नो प्रेमी सेम असगरीसँग विवाह बन्धनमा बाँधिएकी छिन्। तर, उनको बिहेमा जुन घटना भयो, त्यो अहिले चर्चाको विषय बनेको छ। 
लस एञ्जल्सको क्यालिफोर्नियामा भएको एक गोप्य विवाह समारोहमा उनको पूर्व श्रीमान जेसन एलेक्जेन्डर जबरदस्ती घुसेर बबाल गर्न खोजेपछि प्रहरीले गिरफ्तार गर्नु परेको थियो। 

जेसनले आफ्नो पूर्व पत्नीको विवाह कार्यक्रमलाई खराब तुल्याउन यस्तो दुस्प्रयास गरेको बताइएको छ। बिहेअघि पनि जेसन ब्रिटनीको क्यालिफोर्नियास्थित घरमा प्रवेश गर्न खोजेका थिए। जेसनले घटना अगाडि आफ्नो अफिसियल सोसल मिडिया इन्स्टाग्राममा लाइभ बोलेका थिए। यसपछि उनी सिधै बिहे भएको मण्डपतर्फ लागेका थिए। 

लाइभ भिडियोमा उनले सुरक्षाकर्मीलाई आफूलाई ब्रिटनीले निम्तो गरेको बताएका थिए। तर, धेरै आग्रह गरे पनि सुरक्षाकर्मीले उनलाई भित्र प्रवेश गर्न दिएनन्। यसपछि उनले जबरजस्ती भित्र छिर्ने धम्की दिएका थिए। 

ब्रिटनीले सन् २००४ मा आफ्नो सानो देखिको साथी जेसनसँग बिहे गरेकी थिइन। तर, उनले ५५ घण्टामै उनीसँग छुट्टिने निर्णय गरिन्। 

हाल उनले तेस्रो बिहे गरेकी हुन्। यसअघि उनले केभिन फेडरलिनसँग दोस्रो बिहे गरेकी थिइन। जसबाट उनको दुई वटा बच्चा छन्। सन् २००७ मा उनले केभिनसँग पनि पारपाचुके गरेकी थिइन। असगरीसँग ब्रिटनीले २०२१ को सेप्टेम्बरमा रिङ साटेकी थिइन। यिनीहरूबीच १२ वर्षको अन्तर छ। ब्रिटनी ४० कि हुन् भने असगरीको उमेर २८ वर्ष हो। 
 

प्रतिक्रिया