आइन्स्टाइनको त्यो चर्चित तस्वीरको कथा

सुजाने कोर्ड्स। जर्मनी

महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको यो फोटो ७० वर्ष पुरानो हो। यो फोटोलाई विश्वको सबैभन्दा चर्चित फोटोमध्ये एक मानिन्छ। आखिर के रहेछ– यो फोटोको कहानी? एकछिन बुझ्ने प्रयास गरौं। 

१४ मार्च, १९५१ को दिन। मौका थियो– अल्बर्ट आइन्स्टाइनको ७२ औं जन्मदिनको। विश्वप्रसिद्ध भौतिकशास्त्री आइन्स्टाइनको जन्म जर्मनीको उल्म शहरमा भएको थियो। तर, लामो समयदेखि उनीअमेरिकामा बसोबास गर्दै आइरहेका थिए। त्यतिबेला उनी न्यु जर्सीको प्रिन्स्टनमा ‘इन्स्च्युट फर एडभान्स स्टडी’ मा कार्यरत थिए। रिसर्च सेन्टरले उनको सम्मानमा जन्मदिनको विशेष कार्यक्रम आयोजना गरेको थियो। आयोजना स्थलको बाहिर मिडियाकर्मीको ठूलो भिड लागेको थियो। 

जतिबेला आइन्स्टाइन सेन्टरबाट बाहिर निस्किए, पत्रकारहरूले उनलाई घेर्न खोजे। त्यहाँ उपस्थित सबै पत्रकार उनीसँग कुरा गर्न चाहन्थे। विश्व चर्चित वैज्ञानिक आइन्स्टाइन राजनीति र दर्शनलगायत सबै विषयमा उत्तिकै दखल राख्थे र ठट्यौली शैलीमा आफ्नो कुरा राख्न पोख्त थिए। यसै कारण फोटोग्राफरहरू पनि उनको जन्मदिनको तस्वीर खिच्न लालायित देखिन्थे। 

तर, त्यो दिन आइन्स्टाइनलाई मिडियामा देखिन मन थिएन। उनी जन्मदिनको विशेष अवसरमा कुनै किसिमको बयान दिनबाट उम्किन चाहिरहेका थिए। तर, सेन्टर बाहिर पत्रकारहरूको अप्रत्यासित भिड देखेर असमञ्जस देखिए। उनलाई कुनै पनि हालतमा पत्रकारहरूको भिडबाट बाहिर निस्किनु थियो। उनी जसोतसो सबैलाई छल्दै आफ्नो लामो लिमोजिन कारको पछाडिको सिटमा बसे, संस्थानका पूर्व निर्देशक फ्र्याक ऐडेलट र उनको श्रीमती मेरी पनि सँगै थिए।  

मिडियाकर्मीबाट जोगिन सबै हत्कण्डा अपनाए पनि उनको अनुहारमा क्यामेराको फ्ल्यास चम्किरहेको थियो। उनलाई मिडियाको यो व्यवहार मन परेको थिएन। उनले ठूलो स्वरमा चिच्याउँदै भने, ‘भयो! अति भयो।’

तर, त्यही बेला पत्रकारहरूको भिडबाट एउटा आवाज आयो, ‘ये प्रोफेसर! कृपया एउटा बर्थडे फोटोको लागि त हास्नुहोस्।’
पत्रकारको व्यवहारबाट दिक्क भइसकेका आइन्स्टाइनले आफ्नो ठ्ट्यौली पारामा जिभ्रो बाहिर निकाल्दै रिसाएको अनुहार बनाए। यही बेला फोटोग्राफर आर्थर सेसले आइन्स्टाइनको जिब्रो निकालेको फोटो आफ्नो क्यामेरामा कैद गर्न सफल भए।
भोलिपल्ट अमेरिकी पत्रिकामा यो फोटो सार्वजनिक भयो। अहिले यो फोटो आइन्स्टाइनको सबैभन्दा सम्झनलायक फोटोको सूचिमा पर्छ। 

enstine1

प्रायः आफैमा मग्न हुने, कहिले काहीँ जुत्तामा मोजा नै लगाउन बिर्सिने तर सापेंक्षतावादको सिद्धान्तको आविस्कार गरेर आफ्नो विलक्षण बौद्धिक क्षमताको प्रदर्शन गरिसकेका आइन्स्टाइन यो तस्वीर धेरै पछि ‘पप आइकन’ को रूपमा पनि चर्चित भयो।  

रमाइलो कुरा– यो फोटोलाई विश्व चर्चित बनाउन फोटो खिच्ने पत्रकारको जति भूमिका थिएन, त्यो भन्दा ठूलो भूमिका आइन्स्टाइन स्वयम्को थियो। किनभने आइन्स्टाइन चाहदैन्थे, उनको बेढङ्गको त्यो तस्वीरमा ऐडेलट दम्पत्तिको पनि अनुहार देखियोस्। त्यसैले उनले आफ्नो फोटोको अनगिन्ति तस्वीरको प्रिन्ट मगाए। जसलाई उनले काटछाँट गरे। ऐडेलट दम्पत्तिको अनुहार हटाउन लगाए र आफ्ना साथी तथा नातेदारलाई आफू मात्र भएको फोटो पठाए। 

उनले आफ्नो साथी योहाना फेन्टोवालाई फोटो पठाउने क्रममा लेखेका थिए, ‘यो बाहिर निस्किएको जिब्रो मेरो राजनीतिक मत जस्तै हो।’

सन् २००९ मा उनको हस्ताक्षर भएको फोटोको एउटा मूलकपि ७४ हजार ३ सय २४ अमेरिकी डलरमा लिलाम भएको थियो। यो आइन्स्टाइनको सबैभन्दा महंगो फोटो हो।

आइन्स्टाइनको जन्म जर्मनीको एउटा यहुदी परिवारमा भएको थियो। नाजीकालमा उनी जर्मनीबाट भागेर अमेरिका पुगेका थिए। सरकारी तथा शक्तिशाली व्यक्तिद्धारा प्रताडित र निशाना बनाइएको अनुभव उनीसँग थियो। त्यसैले उनी राजनीतिक मुद्धामा निकै सम्हालिएर बोल्थे। मानवता र उसको मुर्खताको विषयमा प्रतिक्रिया दिँदा उनी निकै रमाउँथे। उनी भन्ने गर्थे, ‘दुई वटा कुरा अनन्त छ– ब्रम्हाण्ड र मानवको मुर्खता।’

भन्थे,‘ब्रम्हाण्डको विषयमा अहिले नै कुनै कुरा विश्वस्त रूपमा भन्न म असमर्थ छु। तर, मुर्ख मानिसको निर्णयलाई परिवर्तन गर्न सकिन्न। किनभने पहिलो त उनीहरूको संख्या नै यति धेरै छ, दोस्रो उनीहरूको बोली पनि त्यति नै प्रभावशाली छ, जति हाम्रो।’ 


 

प्रतिक्रिया