अमेरिकामा भयावह ‘गन कल्चर’, ५० वर्षमा १६ लाखको हत्या

न्युयोर्क। टेक्सासको एउटा स्कुलमा भएको गोली काण्डले फेरि एकपल्ट अमेरिकाको हतियार मोहलाई उजागर गरेको छ। यो घटनामा २१ जनाको हत्या भएको थियो, जसमा १९ नाबालक थिए। 

अमेरिकाको शहरी क्षेत्रमा हुने गोली काण्डमा प्रायः अबोध बालबालिकाले ज्यान गुमाउनु परेको छ। तितो सत्य, हतियार चलाउने व्यक्ति पनि नाबालक नै हुने गरेका छन्। 

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेन्सन (सीडीसी) को तथ्याङ्क अनुसार सन् २०२० मा गोली काण्डको घटनामा मात्र ४५ हजार २ सय २२ जनाले ज्यान गुमाइसकेका छन्, जसमा मर्ने बालबालिकाको संख्या ४ हजार ३ सय ६७ बताइएको छ। 

यो तथ्याङ्क सडक दुर्घटना र क्यान्सरबाट मर्नेहरूको सूचिभन्दा भयावह हो। सन् २०२० मा सडक दुर्घटनाबाट अमेरिकामा ३९ सय बालबालिकाको ज्यान गएको थियो। 

सीडीसीको तथ्याङ्क अनुसार सन् २००६ देखि २०१६ को १० वर्षको बीचमा २२ हजारभन्दा बढी बालबालिका गोलीको शिकार भएका थिए। 

अमेरिकामा बन्दुक घरमा राख्नु फेसन जस्तै भइसकेको छ। हरेक अमेरिकीको घरमा बन्दुक अनिवार्य हुन्छ। यसै कारण बन्दुक सहजै बालबालिकाको हातमा पर्ने गर्छ। कहिले काहीँ खेल्दा खेल्दै बालबालिकाहरू आफ्नो भाई अथवा बहिनीलाई गोली हान्ने गर्छन। यसै वर्ष मात्र स्कुलमा २७ वटा गोली काण्ड भइसकेका छन्, जसमा १ सय २४ नाबालकको ज्यान गइसकेको छ। 

अमेरिकाको अकाउन्टेबिलिटी कार्यालयको रिपोर्ट अनुसार स्कुलमा भइरहेको गोली काण्डमा स्कुलकै पूर्व वा पढिरहेका विधार्थी नै आरोपी देखिएका छन्। यी विधार्थीले गोली काण्डमा आफ्नै बाबु–आमाको बन्दुक प्रयोग गरेको भेटिएको छ।

अनुसन्धानबाट यो पनि पत्ता लागेको छ, आरोपी विधार्थीहरू पारिवारिक समस्या वा डिप्रेसनमा थिए। 

अमेरिकाको ५० वर्ष लामो तथ्याङ्क पल्टाउने हो भने गोली काण्डमा मात्र १५ लाख बढी मानिसको हत्या भइसकेको छ। यो संख्या २ सय ५० वर्ष पुरानो अमेरिकी इतिहासको पुनर्निमाणमा मारिएका सैनिकभन्दा धेरै हो। 

अमेरिकामा प्रति सय व्यक्तिसँग १ सय २० वटा बन्दुक हुने गर्छ। बन्दुकको संख्या यहाँको कूल जनसंख्या भन्दा धेरै छ।

अमेरिकामा बन्दुक घरमा राख्न पाउने अधिकारलाई नागरिकको स्वतन्त्रतासँग जोडेर हेर्ने गरिन्छ। अमेरिकी संविधानले दिएको अधिकारका कारण बन्दुक खरिद गर्नु फलफूल–तरकारी किने सरह सहज छ। 

अमेरिकामा ‘गन कल्चर’ उसको इतिहाससँग जोडिएको छ। बेलायतको उपनिवेश हुँदा अमेरिकीलाई हतियार राख्न प्रतिबन्ध लगाइएको थियो। तर, अमेरिकाको स्वतन्त्रता आन्दोलनमा यहाँको नागरिकले हतियार राख्ने परम्परालाई देशप्रतिको सम्मानको रूपमा लिए। 

सन् १८७६ मा अमेरिका बेलायतको उपनिवेशबाट मुक्त भएपछि पनि संविधान निर्माताले ‘गन कल्चर’ लाई नागरिकको मौलिक अधिकारसँग ब्याख्या गरे। यसैले अमेरिकी नागरिकलाई हतियार घरमा राख्न यहाँको संविधानले नै छुट दिएको छ। 

तर, बेलाबेलामा यसको विरोध भइरहेको हुन्छ। डेमोक्र्याट पार्टी ‘गन कल्चर’ को विरोधमा छ। तर, रिपब्लिकनहरू यसलाई आफ्नो जन्मसिद्ध अधिकार मान्छन्। 

अमेरिकामा जतिबेला ‘मास सुटिङ’ हुन्छ, त्यतिबेला ‘गन कल्चर’ नियन्त्रण गर्न आवाज उठ्ने गरेको छ। तर, यति नै बेला नेशनल राइफल एसोसिएसन (एनआरए) को एउटा ठूलो समूह आवाज दबाउन सक्रिय हुन्छ। एनआरएमा हाल ५० लाखभन्दा बढी सदस्य छन्। उनीहरूको नारा छ, ‘बन्दुक आफैले कसैलाई मार्देन, मान्छेले एक–अर्कालाई मार्ने हो।’

एनआरएले ‘गन कल्चर’ को पक्षमा माहौल बनाउन हरेक वर्ष अमेरिकी संसदमा अर्बो रुपैयाँ खर्च गर्ने गर्छ। ४० प्रतिशत अमेरिकीको मत छ, नागरिकको बन्दुक राख्ने अधिकारमा सरकारले हस्तक्षेप गर्न हुँदैन। 
 

प्रतिक्रिया