चार पिढीपछि राजनीतिमा नागेशको दमदार ‘इन्ट्री’ को अर्थ

दधिराम कोइरालाका चौथो पुस्ता नागेश कोइरालाले विराटनगर महानगरपालिकाको मेयर पद ८ हजार ७ सय १५ मतको अग्रतासहित जितेर राजनीतिमा दमदार ‘इन्ट्री’ गरेका छन्। उनले नेकपा एमालेका सागर थापाले ल्याएको २१ हजार ४ सय ५५ मतको तुलनामा ३० हजार १ सय ७० मत प्राप्त गर्दै मेयर जितेका हुन्। नेपाली कांग्रेसमा नागेशका जिजुबुवासहित परिवारका सबै सदस्यले अमूल्य योगदान गरे पनि चुनाव लड्ने उनी पहिलो व्यक्ति थिए। त्यसैले उनको राजनीतिक जीवनलाई लिएर विभिन्न कोणले टिकाटिप्पणी हुनु स्वभाविक थियो। 

उनले मेयर पदका लागि टिकट पाउँदै गर्दा कांग्रेस भित्रैबाट अन्तरघात हुन्छ कि भन्ने आंशका पनि गरिएको थियो। किनभने मेयरका लागि उनले टिकट पाउनुअघि नेपाली कांग्रेसका दुई केन्द्रीय सदस्य अमृत अर्याल र भीम पराजुली अगाडि थिए। अझ स्पष्ट भन्नु पर्दा पूर्व मेयर भीमको सम्भावना प्रबल थियो। तर, महाधिवेशनको मुखमा मोरङका सर्वस्वीकार्य नेता शेखर कोइरालाको क्याम्प छोडेर कृष्ण सिटौलाको क्याम्पमा समावेश हुनु नै भीमका लागि दुर्भाग्य बन्यो। 

नागेशको टिकटका लागि शेखर कोइराला मात्र होइन, डा. शशांक र सुजाताले पनि पार्टी नेतृत्वलाई दबाब दिएका थिए। एक अर्थमा भन्नुपर्दा पुरै कोइराला परिवार नागेशको पक्षमा खुलेर लागेको थियो। यसैले शेखरलाई कमजोर बनाउन पनि अन्तर्घातको खेल हुने आशंका जायज पनि थियो। विभिन्न वडाहरूमा भएको अपारदर्शी टिकट वितरण तथा बागीको समस्याले पनि नागेशलाई अफ्ठेरोमा पार्ने हो कि भन्ने चर्चा पनि चलेको थियो। तर, नागेशले प्राप्त गरेको मतले यी सबै आशंकालाई मत्थर मात्र पारेको छैन, उनको व्यक्तित्वले पनि चुनावमा ठूलो काम गर्यो। 

नागेशलाई विराटनगरवासीले भोट हाल्दै गर्दा उनी सम्पन्न परिवारबाट आएको र भ्रष्टाचार नगर्ने व्यक्तिको रूपमा बुझेका थिए। यही सेरोफेरोका बीच विराटनगरमा नागेशको उदय भएको छ। थर कोइराला भए पनि उनी कोइराला विरासतका पुस्ता होइनन्। त्यसैले उनलाई भविष्यमा ठूलो राजनीतिक स्पेस हुनेछैन । फेरि विराटनगरवासीले भ्रष्टाचार गर्नुनपर्ने व्यक्तिको रूपमा उनको जुन ‘इमेज’ बनाएका छन्, पाँच वर्षपछि यसबाट बेदाग बाहिर निस्किनु नै नागेशको राजनीतिमा अगाडि बढ्ने पूँजी हुनेछ। 

नागेशका जिजुबुवा दधिराम कोइराला दुम्जाबाटै विराटनगर झरेका हुन्। उनी नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालासँग निकट थिए। राणाकालमा कृष्णप्रसाद कोइरालाको उठिबास हुँदा भित्री रूपमा सहयोग गर्ने व्यक्तिमध्ये दधिराम एक थिए। दधिरामका दुई छोरामध्ये जेठा नारायण कोइराला पञ्चायतकालमा नेपाली कांग्रेस प्रतिबन्धित हुँदा मोरङ जिल्लाको पार्टी अध्यक्ष भए। अर्का छोरा ऋषिकेश कोइराला (हरिबाबु) ले साधकीपूर्ण जीवन बिताए। उनी विराटनगरमा कहलिएका बौद्धिक व्यक्ति थिए। त्यसैले पार्टी राजनीतिभन्दा पनि शिक्षामा बढी रमाए। यद्यपि उनी गिरिजाप्रसाद कोइरालाका दौतरी थिए। उनकै नाती हुन्, नागेश कोइराला। 

यसपालिको चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पनि त्यसको खासै लाभ पार्टीलाई पुगेको देखिएन। पहिले जनता समाजवादी पार्टी (जसपा) बाट चुनाव लडेका उमेश यादवले स्वतन्त्र उम्मेदवारको रूपमा ८ हजार ७ सय ९५ मत ल्याउनु नै यसको उदाहरण हो। यद्यपि कांग्रेससँग मोर्चाबन्दी गरेको जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई पनि कुनै लाभ भएन। उनी त झन् उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्कीसँग ११ हजार ४ सय ५१ मतान्तरले पराजित भए। शिल्पाले २५ हजार ६ सय ८० मत प्राप्त गर्दा अमरेन्द्रको खातामा १४ हजार २ सय १९ मत मात्र खसेको थियो। 

विराटनगर महानगरपालिकामा कूल १९ वडा छन्। यसमध्ये नेकपा एमालेले १, २, ३, ४, ८, १०, ११, १४, १९ गरी ९ वडा जितेको छ। नेपाली कांग्रेसले ५, ६, ७, ९, १५, १६ गरी ६ वडा मात्र जितेको छ। जसपाले १२ र १७ गरी २ वडा, राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नम्बर १३ र स्वतन्त्र उम्मेदवारले वडा नम्बर १८ गरी १–१ वडा जितेका छन्। यस्तो अवस्थामा सबैलाई मिलाएर महानगर चलाउनु नागेशका लागि सबैभन्दा ठूलो चुनौति हुनेछ। यद्यपि उनले व्यवस्थापनमै फिलिपिन्सबाट एमबीए गरेका छन्। उनको अध्ययनको वास्तविक परीक्षण पनि यो पाँच वर्षभित्रमा हुनेछ। 

विराटनगरमा खानेपानी, स्वास्थ्य र बाढीको ठूलो समस्या छ। भीम पराजुलीको पालामा साढे ३ वर्ष केन्द्रमा नेकपा एमालेको सरकार रह्यो। त्यसकारण भीमले केन्द्रबाट जति पाउनुपर्ने सहयोग थियो, त्यो पाउन सकेनन्। बीचमा २ वर्ष कोरोनाले पनि विराटनगरको विकाशलाई धेरै हदसम्म पछाडि छोड्यो। नागेशका लागि अब त्यो सुविधा हुने छैन। फेरि विराटनगरमा विभिन्न जातजाती र भाषाभाषीका मानिसहरू बसोबास गर्छन। त्यसैले महानगरले यी सबैको कला–संस्कृतिको जगेर्ना गरेर विराटनगरलाई जीवन्त महानगरपालिका बनाउने चुनौति पनि नागेशको सामू हुनेछ। सडक, शहरी क्षेत्रमा पार्किङको समस्यादेखि बालबालिकाको लागि खेल्ने बगैंचा र कूलतमा लागेका युवाहरूको ठूलो पंक्तिलाई सुधार गरेर राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउने जिम्मेवारी पनि उनको काँधमा हुनेछ। 
 

प्रतिक्रिया