पर्दाभित्रको राजनीति

बालेनको अग्रता प्रकाशमान र गगनलाई चुनौति

काठमाडौं। के अब काठमाडौं शहरले परम्परागत शक्तिलाई पूर्ण रुपले विदा दिन चाहेकै होत? आफैं रोजेर खोजेर नयाँ अनुहारलाई आफ्नो नेता मान्न काठमाडौं जुर्मुराएकै हो त? स्थानीय निर्वाचनको प्रारम्भिक मत परिणामले उम्मेदवारहरुको रोलक्रम जसरी निर्धारण गरिरहेको छ, त्यसले यस्ता प्रश्नहरु स्वभाविक रुपमा खडा गरेको छ। प्रतिष्पर्धामा रहेका उम्मेदवारहरुको स्थान यसैगरी अन्तिम नतिजासम्म नै कायम रहेमा एउटा जबर्जस्त सन्देश स्थापित हुने छ कि काठमाडौं नयाँ नेताको खोजीमा छ।

काठमाडौं महनगरको मत गणना प्रारम्भिक चरणमै छ भने पनि हुन्छ, ३२ वटा वडा रहेको महानगरका बहुमत वडाको मत गन्न बाँकी नै छ। मत गणना व्यवस्थापन चुस्त हुननसकेकाले अन्तिम परिणाम घोषणा हुन निकै धैर्य गर्नुपर्ने देखिन्छ।

यो स्थानीय निर्वाचनमा काठमाडौंका मतदाताको रोजाईमा नयाँ अनुहार बालेन साह कसरी र किन परे भन्ने बिषय यतिबेला राजनीतिक पण्डितहरुको मथिङ्गल घुमाउन पर्याप्त भएको छ। कुनै दलको समर्थनसम्म पनि नलिएका बालेन साह एक्लै जस्तो निर्वाचन प्रचारमा देखिन्थे। उनका समर्थक पनि स्वतस्फूर्त नै स्वयंसेवक बनेर बालेनलाई सघाईरहेको देखिन्थे। तर उनी मतदानकै दिनदेखि चर्चामा चढेर र अहिले मत गणनाको प्रारम्भमा उनी निरन्तर अघि बढेका छन्। यो बढोत्तरी कहिं पुगेर रोकिने छ या अरुलाई पछि पारेको पार्यै अन्तिम परिणामसम्म कायम रहने छ त्यो भने यसै भनिहाल्न सकिने अवस्था छैन।

यसैपनि काठमाडौं राजनीतिक घरानाहरुले अड्डा जमाएर बसेको महानगर हो। सबैजसो शक्ति केन्द्रहरुले आआफ्नो शिविर चलाएका छन् दशकौंदेखि काठमाडौंमा। परिवारवादको लालनपालन गर्न र राजनीति लगायतका शक्तिपीठहरुमा आफन्तलाई पहिलो प्राथमिकता दिने प्रथा जहाँनियाँ राणा शासनदेखि नै चलिआएको छ। त्यो नयाँ संस्करणमा राजा र राजनीतिक दलले पनि कायमै राख्दै आएका हुन्। शक्ति केन्द्रहरुले राजकीय भूमिकामा आफ्नो पकड बलियो बनाईराख्न चेलीबेटी समेत अन्यत्र कन्यादान नदिने विचित्रको चलन हुर्काउने यही उपत्यका हो, खासगरी काठमाडौं शहर। इतिहासका पाना पल्टाउने होभने यस्ता अनेक कथाहरु पढ्न सकिन्छ। 

संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि त्यस परम्पराले विश्राम लिन नपाएको गुनासो नभएको होइन। तर राजनीतिक दलहरुका कानमा यो सन्देश पस्न सकेन। सत्ता र शक्तिको प्यासले आँत हर्हर भएका दल र तिनका नेताले फुटपाथको चुनौतिपूर्ण आवाज सुनेनन्। उनीहरु दुवै हातले भोजन गरेर आफ्नो सुष्क आँत भर्नमै तन्मय रहेकै हुन्। यो स्थानीय निर्वाचनमा संघीय राजधानी काठमाडौंको महानगरका मतदाताले आफ्नो आवाज सुनाउन बालेन साहलाई अघि सारेका हुन् भन्ने तर्क गरिँदै छ। यसलाई कमजोर तर्क मान्न पनि सकिँदैन।

कतिपय विश्लेषकको तर्क छ, बालेन साहका समर्थक राजनीतिक दलकै नेताका सन्तति हुन्। अभिभावकले आफ्ना राजनीतिक दलका उम्मेदवारलाई मत दिए भने उनका सन्तानले रोजे बालेन। आमाबाबुको निर्देशनलाई अवाक हुनेगरी जवाफ दिएर नयाँ पुस्ताले नयाँ प्रयोग गरेका हुन्। गएको स्थानीय निर्वाचन र संघीय संसदको निर्वाचनमा पहिलो पल्ट मतदान गरेको पुस्ता र यसपटक पहिलो पटक मतदान गर्न योग्य भएको पुस्ताले राजनीतिक दलका उम्मेदवारप्रति खासै रुचि नदेखाएको कुरा काठमाडौंको यतिञ्जेलको मत परिणामले देखाएको छ। नतिजा के आउँछ त्यो त पर्खनै पर्छ तर दिनको मौसमको संकेत बिहानै मिलेको छ।

तीन लाख चानचुन मतदाता रहेको काठमाडौं महानगरमा करिब दुई लाख मत खसेको छ। मतको ठूलो संख्या भने गणना गर्न बाँकी नै छ।  

नेपाली कांग्रेसकी सिर्जना सिंह र एमालेका केशब स्थापित महानगर प्रमुख पदका मुख्य प्रत्याशी मानिन्थे उम्मेदवारी दर्ताका समय सम्म। बालेन साह रहरले उठेका युवा मात्र ठानिन्थे। तर राजधानी लगायत सिंगो मुलुकको शक्तिमा झण्डै शताब्दीदेखि पकड जमाएर बसेका परम्परागत शक्तिहरुलाई निर्दलीय उम्मेदवार बालेनले कसरी चुनौती दिन सके भन्ने प्रश्न अहिले चर्चाको बिषय बनिरहेको देखिन्छ।

उम्मेदवारको योग्यताकै आधारमा मात्र मतदाताले यस्तो निर्णय गरे भनेर मान्न सकिँदैन। यसलाई सामान्य रुपमा पनि लिन मिल्ने देखिँदैन। कतिपयले यसलाई परम्परागत राजनीतिक घरानाप्रतिको वितृष्णा भनेर पनि टिप्पणी गरेको पाईन्छ। यसै भएर मतदाताले विकल्प खोज्दैगर्दा बालेन साह पात्र बनेको बताईन्छ।

एमालेका केशव स्थापित यसअघि पनि महानगर प्रमुख भैसकेका व्यक्ति हुन्। यसपटक उम्मेदवार बनेदेखि नै उनी ठूलो विवादमा परे। उनलाई नयाँ पुस्ताले त्यतिबेलै सार्वजनिक रुपमै अस्वीकार गरेको सन्देश दिईसकेको थियो। अन्तिम मत परिणामले यी तीन जनामध्ये जो पनि चुनिन सक्ने सम्भावना त छँदैछ।

गणेशमान सिंहलाई काठमाडौं र पुरै देशले सर्वमान्य नेताको रुपमा सहर्ष स्वीकार गरेकै हो। २०४६को जनआन्दोलनका सर्वमान्य कमाण्डर गणेशमान सिंह आफूले कुनै पनि राजकीय सुविधाको पद नलिएर दुर्लभ मान्यता स्थापित गरेका नेता हुन्। तर उनका परिवारका सदस्यले भने अवसर पाई नै रहेका छन्। पुत्र प्रकाशमान सिंहले पार्टी नेपाली कांग्रेसमा र सरकारमा पनि अवसर नपाएको होइन। उनी काठमाडौं एक नम्बर क्षेत्रका प्रतिनिधि सभा सदस्य हुन्। 

अहिले सिंह परिवारकी महत्वपूर्ण सदस्य सिर्जना सिंहले महानगर प्रमुखको लागि प्रतिष्पर्धा गरिन्, मत गणना जारी रहँदा उनी यतिञ्जेल तेस्रो स्थानमा छिन्। अन्तिम परिणाम जे पनि हुनसक्छ। सिर्जना सिंह परिवारकी बुहारी त हुन् नै उनको आफ्नै राजनीतिक लगानी छ र त्यो सम्मानजनक नै देखिन्छ। तर यतिबेला भने युवा मतदाताले इतिहासमा योगदान गरेको परिवारका सदस्यलाई छाडेर नयाँ अनुहार रोजेको संकेत मिलेको देखिन्छ। इतिहासको सम्मान गर्दै शासन सत्तामा नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सन्देश मतबाट प्रकट गरेको बुझ्न सकिन्छ।

त्यसो भए के यो राजनीतिक विरासतको विकल्पको खोजी नै हो त?

यदि त्यसो होभने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको राजनीतिक भविष्य पनि सोचनीय अवस्थामा पुग्ने छ भनेर टिकाटिप्पणी हुन थालेको छ।

यतिमात्र होइन,  समकालिन पुस्ताका लोकप्रिय नेता मानिने गगन थापाले पनि नयाँ मतदाताको नयाँ रोजाईबारे गम्भीर रुपमा चिन्तन गर्नुपर्छ भन्नेहरुको संख्या पनि कम छैन। किनभने प्रकाशमान र गगनको राजनीतिको आधारभूमि काठमाडौं महानगरमा सिर्जना सिंहको पक्षमा परेको मतले यतिञ्जले तेस्रो स्थानमा संघर्ष गरिरहेको देखिन्छ। सिर्जनाको पक्षको मत तेस्रो स्थानबाट हलचल गरेन भने के प्रकाशमान र गगनले यसको जिम्मेवारी लिनु पर्दैन त भनेर मत गणना केन्द्रमा निकै चर्चा भैरहेको छ। 

काठमाडौं महानगरको साँचो बालेन साहको हातमा पर्दैगर्दा काठमाडौंका निर्वाचन क्षेत्रमा किल्ला गाढेर रजगज गर्दै आएका नेपाली कांग्रेस र एमाले मात्र होइन अरु दलका कतिपय नेताको राजनीतिको ढोकाको चुकुल नै कसिन सक्ने जोखिम देख्न थालेका छन् कतिपय विश्लेषकले। यो निर्वाचनमा बालेन साहको बढोत्तरी भनेको असन्तुष्ट मतदाताको प्रतिकात्मक प्रतिक्रिया भन्दा अन्यथा हुने छैन। 

यता नेपाली कांग्रेस र एमालेको मनपरीतन्त्र पनि युवा मतदाताको भावना भड्काउन मुख्य कारण रहेको मानिएको छ। मतदाताको रोजाईलाई वास्तै नगरी दलभित्रको गुटबन्दी अनुसारको भागबण्डामा उम्मेदवार दिने र उसलाई जसरी पनि जिताउनुपर्ने दवाव भोग्दै आएका मतदाताले यसपटक सोझो जवाफ दिँदा बालेन साहलाई पात्र बनाएको प्रष्ट हुन्छ। किनभने प्रमुख दलका नेताका सन्ततिले बालेनलाई रोज्नु चानचुने राजनीतिक सन्देश मान्न सकिँदैन। यो घटनाले दलहरुलाई ठूलै शिक्षा मिलेको हुनुपर्छ। मत गणनाको अन्तिम परिणाम त आउन समय लाग्छ नै, तर यति नै समयको स्पन्दन बुझ्न पर्याप्त हुनुपर्ने हो।

गणतन्त्रसँग असन्तुष्ट पक्ष, शहरमा सरेको नयाँ मत र परम्परागत पीठहरुले नेतृत्व गरिरहेको मत समेत बालेन साहको बक्सामा खसेको चर्चा हुनुले काठमाडौंले नयाँ नेता खोजेकै हो कि भन्ने कुरा स्थापित गरिदिएको छ।
 

प्रतिक्रिया