समाचार टिप्पणी

नेतृत्वमै मतभेद, अन्योलमा गठबन्धन: किन काङ्ग्रेस एक्लै चुनाव लड्नु पर्दछ?

काठमाडौं। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने पक्षको मत बलियो हुँदै गएको छ। केन्द्रीय नेतृत्व तहमै गहिरो मतभेद देखिईरहेका बेला महत्वपूर्ण स्थानका कांग्रेस संगठनहरु पार्टीले एक्लै निर्वाचनमा प्रतिष्पर्धा गर्नुपर्छ भनिरहेका छन्।   
    
यसैवीच आजै नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिले पनि स्थानीय तह निर्वाचनमा तालमेल गर्न नहुने भन्दै गठबन्धनको विपक्षमा स्पष्ट अडान प्रदर्शन गरेको छ। आज विहान बसेको महानगर समिति बैठकले कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकालेको सचिव सुशन वैद्यले बताएका छन्।

‘सैद्धान्तिक रुपमा तालमेल गर्न नमिल्ने सबैको राय आयो। बैठकमा बोल्ने ३४ जनामध्ये तालमेल गर्नुपर्छ भन्ने मत कसैको थिएन’ सचिव वैद्यले भने, ‘प्रमुख पद सहित ३२ वडामा अध्यक्ष जित्ने आधार वक्ताहरुले प्रस्तुत गर्नु भएको छ ।’

महानगर समितिको बैठकमा मेयर, उपमेयर र ३२ वटै वडाका अध्यक्ष अरु दललाई छोड्न नहुने मत प्रकट भएको थियो। महानगर कार्यसमितिको बैठकले तालमेल गर्न हुँदैन भन्ने प्रष्ट म्याण्डेट दिएको र सबैजनाले कुनै पनि हालतमा गठबन्धन गर्न हुँदैन भनेपछि महानगर समितिको नेतृत्वमाथि ठूलो दवाव परेको छ।

बैठकले महानगरमा आकांक्षीहरुको नाम सिफारिस गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको छ। गत स्थानीय निर्वाचनमा कांग्रेसले काठमाडौं महानगरमा उपमेयर र १४ वडाध्यक्ष जितेको थियो।

चितवन पनि गठबन्धन विपक्षमै

नेपाली कांग्रेस चितवन पनि गठबन्धनमै निर्वाचनमा प्रतिष्पर्धा गर्ने कुराको विपक्षमा उभिएको छ। कांग्रेसका स्थानीय नेताहरुले भरतपुर महानगरपालिकाको नेतृत्व यसपटक कुनै हालतमा पनि अरु दललाई नछाड्ने अडान राखेका छन्। महानगरका सबै वडामा आफ्नै पार्टीका उम्मेदवार उठाएर जिताउने दावी उनीहरुको छ। चितवनका कांग्रेस नेताले सभापति शेरबहादुर देउवा र पदाधिकारीसँग भेटेर आफ्नो अडान स्पष्टसँग राखिसकेको बताएका छन्। 

बिराटनगर महानगर लगायतका देशका अन्य नगरमा पनि कांग्रेसले एक्लै निर्वाचनमा प्रतिष्पर्धा गर्नुपर्ने आवाज उठिरहेको छ।

यता निर्वाचनकै बिषयमा छलफल गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ। यो बैठकमा सरकारले हालै गरेका केही निर्णयले आसन्न निर्वाचनमा नकारात्मक असर पुग्ने भन्दै महामन्त्रीहरुले नै विरोध गरिसकेका छन्। साथै यस अवस्थामा कम्युनिस्ट पार्टीसँग सत्ता गठबन्धनका नामममा तालमेल गरेर निर्वाचनमा गए ठूलो क्षति ब्यहोर्नु पर्ने शीर्ष तहकै नेताहरुको मत छ।

सभापति देउवा भने गठबन्धनलाई जोगाएरै अघि बढ्नुपर्ने तर्क गरिरहेका छन्। उता सभापतिका निकटतम प्रतिद्वन्दी रहेका नेता शेखर कोइराला भने कम्युनिस्टसँग निर्वाचनमा तालमेल गरेर जाने कुराको विरोधमा उभिएका छन्। नेपाली कांग्रेसका कार्यकर्ताले कुन मुखले माओवादी र समाजवादीलाई भोट माग्दै हिँड्ने भनेर कोइरालाले प्रश्न गरिसकेका छन्। कोइरालाको प्रश्नले देशव्यापी रुपमा ध्यानाकर्षण गरेको पाईएको छ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा पनि गठबन्धनका नाममा निर्वाचनमा पनि तालमेल गरेर जाने कुराप्रति सकारात्मक देखिँदैनन्।

शुभचिन्तक पनि चिन्तित

स्थानीय निर्वाचनमा नेपाली कांग्रेस कसैसँग तालमेल नगरी एक्लै प्रतिष्पर्धा गर्न तयार हुनुपर्ने कांग्रेसका शुभचिन्तकले पनि सुझाव दिएका छन्। 

नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष तथा राजनीतिक विश्लेषक केशब प्रसाद भट्टराईले स्थानीय निर्वाचनमा कांग्रेसले किन एक्लै प्रतिष्पर्धा गर्नुपर्छ भनेर केही सुझाव दिएका छन्।

भट्टराईको सुझाव यस्ता छन्–

१. काङ्ग्रेस एक्लै चुनाव लड्दा सोलोढोलो जित्छ भनेर गठबन्धनमा विमति जनाएको होइन, थाहा छ हार पनि हुन्छ। प्रजातन्त्रमा विश्वास गर्नेले हारलाई सहर्ष स्वीकार गर्दछ।

२. जित हार आफ्नो ठाउँमा हुन्छ तर चुनावमा आफ्नै उम्मेदवार हुँदा आफ्ना विचार, मूल्य र विश्वासलाई आम जनतामाझ लैजान सकिन्छ, संगठन क्रियाशील हुन्छ, पार्टीमा उर्जा भरिन्छ, युवाहरूमा नेतृत्व क्षमता विकास हुन्छ। त्यो वर्तमान र भविष्यकोलागि पार्टीले गर्ने राजनीतिक लगानी पनि हो।

३. काङ्ग्रेस दुधले नुहाएको छ भन्न खोजेको होइन। काङ्ग्रेसमा अभाव छन्, विकृति छन्। काङ्ग्रेसकै कारण पनि नेपाली राजनीतिमा विकार र अभाव भित्रिएका छन्। तर त्यसका  बाबजूद काङ्ग्रेसकालागि उसका मतदाताले दिने हरेक मत वलियो राष्ट्र र प्रजातन्त्रकोलागि गरिने लगानी हो।

सन्तुलित र संयमित परराष्ट्र नीति र  मुलुकको समानुपातिक  विकासको लक्षप्राप्तिको बाटोकोलागि गरिने लगानी हो। त्यसैले काङ्ग्रेसप्रति प्रतिवद्ध एउटा एउटा मतको पनि सम्मान र संरक्षण गर्न काङ्ग्रेस एक्लै लड़नुपर्दछ।

झूठ, भ्रम, घृणा, विद्वेष, हिंसा, आतंक, आवेग  र उत्तेजनाको राजनीति  विरुद्धको आवाजहरूलाई जोड्न पनि उसले एक्लै लड्ने हिम्मत गर्नु पर्दछ। राजनीतिलाई  मुलुकप्रति जिम्मेवार बनाउन पनि यसो हुनुपर्दछ।
 

प्रतिक्रिया