विचरो छेपारो
फोटो कथा

विचरो छेपारो

 

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पराजीत भएपछि लामो समयदेखि एकछत्त रजगज चलाउँदै आएका कमल थापाले अर्कै दल खोले र केही समय पछि नै नेकपा एमालेसँग अँगालो मार्न पुगे। कतिसम्म भने उनी एमालेको चुनाव चिन्ह सूर्य शीरमा राख्न नै तयार भए। थापा तिनै नेता हुन्, जसले झण्डासँगै एउटा सरकार गिरेपछि अर्को सरकारमा गएका थिए। थापाको यो हरकतलाई राजनीतिमा छेपाराले रंग फेरेजस्तै भनेर खिस्सि गर्ने गरिन्छ।

अक्सर राजनीतिमा छेपारे प्रवृत्तिको धेरै चर्चा हुने गर्छ। बोली र व्यवहारमा देखिने अन्तर नै यसको कारण हो। छिटो छिटो दल बदल्ने, कहिले काहीं त एकैदिन दुइवटा दलमा ओहोर-दोहोर समेत गर्न भ्याउने नेताले यो प्रवृत्तिलाई चर्चामा ल्याउने गर्छन्।

यस्तो प्रवृत्तिलाई जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई चरम अवसरवादको संज्ञा दिन्छन्। केही समय अघि वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गरे। व्यवसायी समेत रहेका सरावगी २०७४ सालको स्थानीय तहको निर्वाचन भन्दा ६ महिनाअघि वीरगञ्जको मेयरको टिकट पाउने गरी तत्कालीन संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए। ३० वैशाखको चुनावमा एमालेले मेयरको टिकट दिने भएपछि त्यही पार्टी प्रवेश गरेका छन्। उनले नेपाली कांग्रेस प्रवेश गर्न चाहेका थिए। तर मेयरको टिकट दिनुपर्ने भएका कारण नेताहरुले चासो दिएनन्, त्यसैले सरावगी एमाले पुगे।

राजनीतिक विश्लेषक कृष्ण खनाल चुनावको बेला दलबदल हुनु नौलो कुरा नभएको बताउँछन्। राजनीतिक दलका शीर्ष नेताहरुले नैतिकता देखाउन छोडेका बेला सत्ताको लोभले पार्टी छोड्नु प्रवेश गर्नु नौलो कुरा नभएको बताउँछन्। अर्का राजनीतिक विश्लेषक हरि रोका पनि दलका नेता कार्यकर्ताले सिद्धान्त र नीतिभन्दा व्यक्तिगत स्वार्थ हेर्न थालेको बताउँछन्।

दोहोरो चरित्र प्रदर्शन गर्ने जोसुकै होस् उसलाई कस्तो छेपारे रहेछ भनेर घोचपेच हुने गर्दछ। छोटो समयमा आफ्नो शरीरको बाहिरी आवरणको रंग फेर्ने घश्रिने प्रजातिको प्राणी छेपारो यही कारण सधैं चर्चामा आईरहन्छ। कस्तो विडम्वना नीच बानी बेहोरा देखाउने चैं मान्छे, गाली खाने बेलामा विचरो छेपारो।

प्रकृतिले जे बनायो छेपाराले त्यही गर्यो। छेपाराले रंग बदल्न पछि सिकेको पक्कै पनि होइन। बरु रंग बदल्न अर्थात् जतापनि ठ्याक मिलाउन त मानिसले पो सिके, थाले। हाम्रो समाजमा आजभोली रातारात त धेरै परको कुरा सेकेण्ड मै रंग बदल्ने जताततै भेटिन थालेका छन् । झन् राजनीतिमा त रंग बदल्ने खुबी नभएकाहरु त टिक्नै गाह्रो भइसकेको छ। स्थानीय निर्वाचनको मुखमा रंग बदल्ने नेताहरुको राम्रै बिगबिगी छ। ठूला भनाउँदा नेताहरुले मिनेट भर मै रंग बदल्न थालेपछि टापटिपे नेताहरुको के कुरा गराई भयो र।

बदमासी गर्ने मानिस अनि छेपारे प्रवृत्ति भन्दै बदनाम हुने विचरो छेपारो। अन्याय पो भयो कि।

 

प्रतिक्रिया