यी हुन्, यमनारायण भण्डारी। पाँचथर फिदिमका स्थायी वासिन्दा। उनी यो क्षेत्रमा ‘टुप्पी बा’ को नामले चर्चित छन्। 
उनको टुप्पीको लम्बाई नै ११ फिट छ। ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ को सूची हेर्ने हो भने उनको उमेरमा विश्वका कुनै व्यक्तिको यति लामो टुप्पी छैन। अहिले उनी ८३ वर्षमा प्रवेश गरेका छन्। 

P5480742 copy

गत साता दृश्यटिभीको टिम उनलाई खोज्दै फिदिमस्थित उनको घर पुगेको थियो। यतिबेला उनी आफ्नो दुबै आँखाको उपचार गरेर बसेका छन्। उनको श्रीमतिको निधन २ वर्ष अगाडि भएको थियो। बुढ्यौलीका कारण अलिकति कमजोर देखिएका यमनारायण भन्दै थिए, ‘पहिले ५० किलोको बोरा मज्जाले बोकेर घर ल्याइन्थ्यो। हिजोआज ३ केजी बोक्दा पनि स्वाँस्वाँ हुन्छ।’
उनी दमको रोगका कारण अलि गलेको देखिन्छन्। यसबाहेक उनलाई कुनै किसिमको समस्या छैन। उनले आफ्नो टुप्पीलाई राम्रोसँग स्यहारेका छन्। 
यमनारायणले सानैदेखि टुप्पी नकाटेको दृश्यटिभीलाई बताए। ३५–४० वर्षको उमेरमा अग्लो रुखबाट लड्दा उनको सोढे ५ फिट टुप्पी चुडिएको थियो। उनी आफ्नो टुप्पीको लम्बाई अलि कम हुनुको कारण त्यो घटना भएको सुनाउँछन्। 

बुढेसकालमा यति लामो टुप्पी पाल्नुको कारण दृश्यटिभीले उनीसँग जान्न खोजेको थियो। उनले यसको श्रेय सपनालाई दिए। ‘एकदिन बिहानी मेरो सपनामा गेरुवस्त्र लगाएका एकजना साधु आए। उनले मलाई टुप्पी कहिले नकाटेस् र काइयो पनि नलगाएस् भने। झसङ् भएर आँखा खोल्दा ती साधु थिएनन्। यसपछि मैले कपालमा काइयो पनि लगाएको छैन। काटेको पनि छैन।’
उनी अहिले साताको एक दिन बाल्टीमा कपाल राखेर नुहाउने गर्छन। लुगा धोए जस्तै साबुन लगाएर छपछप गर्छन। उनी कपाल नुहाएर सुकाउन २–३ घण्टाको समय लाग्ने बताउँछन्। 
‘फिजाउन मिलेन। काइयो पनि लगाइन्न,’ उनले भने। उनी पहिले आफ्नो कपालको लम्बाई साढे ११ फिट भएको तर नुहाउँदा र सुकाउँदा कपाल झरेर ११ फिट भएको बताउँछन्। 

P5480721 copy

यमनारायण पहिले ढाका टोपीले आफ्नो टुप्पी छोप्ने गर्थे तर टुप्पीको लम्बाई बढ्न थालेपछि उनले ठूलो मक्कले टोपी लगाउन थालेका छन्। ‘ढाका टोपीमा टुप्पी अडिनै छोड्यो। टुप्पीको लम्बाईका कारण टोपी झरिहाल्ने। त्यसैले हिजोआज ठूलो घप्प परेको टोपी लगाउँछु।’

गर्मी महिनामा पनि उनले टुप्पी अडाउन टोपी लगाउने गरेका छन्। अहिले टुप्पीमा बानी परिसकेको उनको भनाई छ। राती सुत्दा यसले कुनै किसिमको बाँधा नपुर्याउने उनी बताउँछन्।
यमनारायणले युवा अवस्थामा जिल्ला विकाश समिति (जिविस) मा पिउनको काम गरेका थिए। पछि उनी जिल्ला प्रशासन कार्यालय (जिप्रका) मा सरुवा भए। जिप्रकामा काम गर्दा चिट्ठी बोकेर हिँड्दै ताप्लेजुङ, धनकुटा, तेह्रथुम र झापासम्म पुग्ने गरेको उनको भनाई थियो। 

Screenshot (155) copy

‘त्यतिबेला गाडी चल्दैन्थ्यो। हिँड्दै सबैतिर पुग्नुपथ्र्यो। २ दिनमा झापा पुगेर फर्किन्थे,’ उनले पुरानो कुरा सुनाए। जिप्रका मै कार्यरत रहँदा आफ्नो टुप्पीको प्रसिद्धि बढेको उनले बताए। 
‘मन्त्रीदेखि ठूलाबडा आउँदा जिप्रकाले बिदाई गर्ने चलन थियो। मेरो टुप्पी अगाडि उभिएर उहाँहरू फोटो खिचाउन खोज्नु हुन्थ्यो,’ उनले पुरानो कुरा सम्झिए। 

पछिल्लो समय राजा ज्ञानेन्द्रले फिदिमको यात्रा गर्दा आफूसँग फोटो खिचाएको उनी सम्झिन्छन्। ‘अ मैले फोटोमा देखेको भन्नुभयो,’ पूर्वराजासँगको संवाद उनले दृश्यटिभीलाई बताए। 
उनले टुप्पी पाल्नका लागि आफूले विशेष केही खानपिन नगरेको स्पष्ट पारे। ‘स्यहार सुसार गर्थे। खाना घरमा जे पाक्यो त्यही खाइन्छ।’ 

‘टुप्पी बा’ का ५ सन्तान छन्। यसमध्ये ४ छोरी र एक छोरा भएको उनले सुनाए। 

‘अटल राजनेता’ गिरिजाबाबु

यसरी सुरु भएको थियो, नेपालको पहिलो रेल 

सगरमाथा आरोहीको पालिका अध्यक्ष बन्ने योजना

प्रतिक्रिया