संकटमा श्रीलंका   

आर्थिक अवस्था सुधार्न विशेष सल्लाहकार समूह  

कोलम्बो। श्रीलंकाली राष्ट्रपति गोटाबाया राजपाक्षेले देशमा जारी आर्थिक संकटको सुधारका लागि अर्थशास्त्रीहरूको एउटा विशेष सल्लाहकार समूह गठन गरेका छन्।

सरकारले गठन गरेको सल्लाहकार समूहको सदस्यहरूमा श्रीलंकाली केन्द्रीय बैंकका पूर्व गर्भनर इन्द्रजीत कुमारस्वामी, विश्व बैंकका पूर्व मुख्य अर्थशास्त्री शान्ता देवराजन र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) क्षमता विकास संस्थानका पूर्वनिर्देशक सर्मिनी कोरे नियुक्त छन्।  

श्रीलंकाको आर्थिक अवस्था दिनहुँ दयनीय बन्दै गएपछि राष्ट्रपति गोटाबाया राजपाक्षेले तेस्रो प्रयास स्वरुप अर्थशास्त्रीहरूको एउटा विशेष सल्लाहकार समूह गठन गरेका हुन्। 

देशमा बढ्दो आर्थिक संकटका कारण सरकारले केही समयअघि आफ्नो अर्थमन्त्रीलाई पदमुक्त गरेको थियो। देशमा जारी विरोधका कारण सबै केन्द्रीय मन्त्रीले यसै साता राजीनामा पनि गरेका थिए। 

राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तीमा राष्ट्रपति र आइएमएफबीच नियमित संवाद हुनुपर्ने सुझाव सल्लाहकार समितिमा नियुक्त सदस्यहरूले पहिलेदेखि नै दिइरहेको बताइएको छ। हाल नियुक्त सल्लाहकार समितिलाई ऋण संकटबाट बाहिर निस्किने उपाय खोज्न विशेष भूमिका दिइएको हो।   
 
आर्थिक संकटका कारण श्रीलंकामा पछिल्लो समय हिंसा बढेको छ। वर्तमान मन्त्रीमण्डलले सामुहिक राजीनामा गरेपछि प्रधानमन्त्री महिन्द्रा राजपाक्षेले विपक्षी नेताहरूलाई समावेश गरेर सर्वदलीय सरकार गठन गर्न खोजेका थिए। तर, विपक्षी पार्टीले उनको प्रस्ताव अस्वीकार गरे। 

विपक्षी पार्टीको आलोचनाका बीच सरकारले अली साबरीलाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिदै हतारहतारमा ४ जनालाई मन्त्री बनाएको थियो। तर, उनीहरूले २४ घण्टा नबित्दै राजीनामा गरे। 

यो घटनापछि राष्ट्रपति गोटाबाया राजपाक्षेले आर्थिक सल्लाहकार समूह गठन गरेका हुन्। श्रीलंकामा हाल अर्थमन्त्रीसहित गर्भनर पद पनि रिक्त छ। बुधबार बान्दुला गुणवद्र्धनेको अर्थमन्त्री बन्ने चर्चा थियो। तर, उनले अर्थमन्त्रीको पद अस्वीकार गरिसकेका छन्। 

श्रीलंकाको पछिल्लो अवस्था हेरेपछि अमेरिकाले आफ्नो देशको नागरिकका लागि लेभल–३ को एडभाइजरी जारी गरिसकेको छ। जसमा अमेरिकाले आफ्ना नागरिकलाई तत्काल श्रीलंका नजान सुझाव दिएको छ। 

श्रीलंका यतिबेला ऋणमा चुर्लम्म डुबेको छ। उसले चीन, जापान, भारत र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ठूलो परिमाणमा ऋण लिएको छ। विदेशी मुद्रा संचिती कमजोर बनेपछि श्रीलंकाले विदेशबाट लिएको ऋण चुक्ता गर्न सकेको छैन। श्रीलंकाले कूल ४५ अर्ब डलरको ऋण लिएको छ। अहिले श्रीलंकामाथि दुई वटा मुख्य चुनौती छन्। पहिलो चुनौती विदेशी दातृ राष्ट्रबाट लिएको ऋणको ब्याज तिर्नुपर्ने र दोस्रो देशका नागरिकलाई आर्थिक दूरवस्थाबाट बाहिर निकाल्नु पर्ने छ। 

विश्व बैकले गत वर्ष नै एउटा रिपोर्ट सार्वजनिक गर्दै कोरोना महामारीका कारण श्रीलंकामा ५ लाख मानिस गरिबीको रेखामुनी पुग्ने चेतावनी दिएको थियो। तर, सरकारले विश्व बैकको उक्त तथ्यांकलाई वेवास्ता गर्दा यतिबेला श्रीलंकामा पहिले सम्पन्न मानिएका परिवारहरूलाई दुई छाक खाना जुटाउन पनि हम्मेहम्मे परिरहेको छ।

हालै सार्वजनिक एक रिपोर्ट अनुसार श्रीलंकामा पकाउने ग्यास र बिजुलीमा ठूलो कमी देखिएको छ। देशमा १० घण्टा लोडसेडिङ छ। श्रीलंकाको महंगी एसियाकै सबैभन्दा ठूलो हो। यहाँ मानिसहरू एउटा ब्रेडको प्याकेटका लागि ०.७५ डलर खर्च गरिरहेका छन्। एक कप चियाको मूल्य नै नेपाली १५० रुपैयाँ पुगिसकेको छ। यस्तै, एक किलो खोर्सानीको मूल्य ६ डलरको हाराहारीमा छ। यहाँ प्याजको मूल्य मात्र ४० प्रतिशतले बढेको थियो। यस्तै, एक किलो आलुको मूल्य ३ सय रुपैयाँको हाराहारीमा पुगेको छ। एजेन्सी    


 

प्रतिक्रिया