दोलखामा डेढ सय वर्षपछि हरिसिद्धि जात्रा (तस्विरहरु)
संस्कृति

दोलखामा डेढ सय वर्षपछि हरिसिद्धि जात्रा (तस्विरहरु)

दोलखा:संस्कृति र मन्दिरहरुको सहर दोलखामा पौराणिक हरिसिद्धि देवी नाच सम्पन्न भएको छ । 

ललितपुरमा पौराणिक रुपमा देखाइने गरेको हरिसिद्धि देवी नाच १२ वर्षमा एकपटक हरिसिद्धि क्षेत्र बाहिरका भक्तपुर, धुलिखेल, पनौती र पशुपतिमा देखाइने गरेकोमा यसवर्षबाट पौराणिक सहर दोलखामा पनि ल्याइएको हो । 
वासिङ्टन विश्वविद्यालयका प्राध्यापक लिन्डा इलिट्सको विस्तृत लेखमा ‘ललितपुरको हरिसिद्धि नाच दोलखामा पनि लाने गरिएको’ उल्लेख भएकोले यस वर्षबाट दोलखामा यो नाच ल्याइएको दोलखाको संस्कृतिका अध्ययन गरिरहेका शान्तकृष्ण श्रेष्ठले बताए । सोही अध्ययन र लेखको आधारमा दोलखामा सो नाच कम्तीमा डेढ सय वर्षअघिसम्म ल्याउने गरेको अनुमान श्रेष्ठको छ । यो नाच दोलखा आउने गरेको ऐतिहासिक प्रमाणपछि दोलखाको इतिहासमा अर्को इँटा थपिएको श्रेष्ठले बताए । यो नाच भारतको उज्जैनबाट नेपाल भित्रिएको अनुमान गरिएकोले दोलखाली र ललितपुरको टोली उज्जैनसम्म अध्ययन गर्न जाने योजना बनेको उनले सुनाए ।
यो पौराणिक नाचको टोली ललितपुरको हरिसिद्धिबाट भक्तपुर, धुलिखेल, पनौती हुँदै हिजो साँझ दोलखा सहरमा आइपुगेको छ । करिब एक सय जनाको टोली हिजो साँझ दोलखा आइपुगेर विधिपूर्वक स्नान गरेर, पञ्चबलि पूजा गरेपछि हरिसिद्धि नाचको सुरुवात गरेका थियो । 

आज बिहानैदेखि विधिपूर्वक पूजा गरी देवगणहरुले राजकुलेश्वरस्थित तलेजु मन्दिर नजिकैको चक्र डबलीमा पौराणिक नाच प्रदर्शन गरे । 

आज दिनभर चक्र डबलीमा देवगणहरुले विभिन्न पौराणिक कथाका पात्रहरुको भूमिका अभिनय गर्दै नाच प्रदर्शन गरे । वाद्यवादक र सहयोगीहरु सेतो पहिरणमा र नर्तकीहरु विभिन्न कलात्मक पहिरणमा सजिएर युद्धको शैलीमा शास्त्रीय बाजा र गायनमा प्रस्तुत गरेको नृत्यले दोलखालीको मन छोएको थियो । 

कम्तीमा डेढ सय वर्षअघि दोलखा समेत ल्याउने गरिएको हरिसिद्धि देवी नाच दोलखामा आउन पुनः सुरु हुनुले दोलखाको इतिहासमा एउटा अध्याय थपिएको भीमेश्वर नगरपालिका २ का अध्यक्ष विराजमान श्रेष्ठले बताए । यसले दोलखाको इतिहासको थप खोजी गर्नको लागि मार्गप्रशस्त गरेको उनको दावी छ । 
शव्दतस्विरः शम्भु गौतम

प्रतिक्रिया