७० लाख कुम्ल्याउने वन अधिकृत विरुध्द अख्तियारको मुद्दा

काठमाडौं । नक्कली टेण्डर निकालेर  लाखौं रुपैंयाँ कुम्ल्याउने एक वन अधिकृतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । 

अन्तर्राष्ट्रिय कानुन (साईटिस्ट सन्धि) अनुसार बेचबिखन तथा ओसारपसार गर्न नपाइने रक्तचन्दनको ठेक्काको नक्कली टेण्डर निकाल्ने वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्र, नवीन कुमार मिश्र र  ग्याल्जेन एण्ड तामाङ्ग प्रालि र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेनविरुद्ध आज भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले रक्तचन्दनको ठेक्काको लागि नक्कली टेण्डर पनि आह्वान गरेको आयोगले जनाएको छ । सोही नक्कली टेण्डर आह्वान गरी रक्तचन्दनको ठेक्का मिलाई दिने भनी  लाक्पा ग्याल्जेनबाट ७० लाख रुपैयाँ लिएको पुष्टि भएको छ ।

आयोगले आरोप पुष्टि भएपछि मिश्रविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा बिगो ७० लाख रुपैयाँ कायम गरी सजायको माग दाबी गरेको छ । 

त्यस्तै मिश्रको छोरा नवीन कुमार मिश्रले बुबाको घुस बापतको रकम ४० लाख बैंक खातामा जम्मा गरी सहयोग गरेकाले उनीविरुद्ध पनि मुद्दा दायर भएको आयोगले जनाएको छ । मिश्रलाई रकम उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रालि र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन आफैंले २५ लाख दिएको पनि आयोगले अनुसन्धानबाट पत्ता लगाएको प्रवक्ता भण्डारीले बताए ।

लाक्पा ग्याल्जेनको मृत्यु भइसकेकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जफत गर्ने प्रयोजनका लागि मात्र लामालाई प्रतिवादी कायम गर्ने मागदावी लिंदै मुद्दा दायर गरिएको थाहा भएको छ ।
 

प्रतिक्रिया