गुणकारी कन्दमूल खाऔं, माघे संक्रान्ति मनाऔं
कन्दमूलको तस्वीर

गुणकारी कन्दमूल खाऔं, माघे संक्रान्ति मनाऔं

हरेक चाडपर्वको फरक महत्व विशेषता छन् । नेपालीहरुले मनाउने चाडपर्वमा फरक फरक स्वादका परिकार खाने चलन छ । दशैंमा मासुको परिकार र तिहारमा सेलरोटीको महत्व भएझैं माघे संक्रान्तिका लागि नेपालीहरुले कन्दमूलका परिकार खाने गर्दछन् । 

माघे संक्रान्तिमा खाइने मुख्य खानेकुरा तरुल हो । आगामी शनिबार माघे संक्रान्ति मनाइँदैछ । यो पर्वमा खाईने तरुलको व्यापार साताको सुरुबाटै चुलिएको छ । तरुल एक प्रकारको कन्दमूल हो । माघे सक्रान्तिका लागि पुसको पाक्य माघको खाक्य भन्ने किंवदन्ति नै छ । पुसको अन्तिम दिन अर्थात् मसान्तमा तरुललगायतका कन्दमूल उसिनेर भोलिपल्ट माघे सक्रान्तिका दिन घ्यू, चाकु सहित खाने परम्परा छ । यो पर्वलाई ध्यु चाकु सङ्लु पनि भनिन्छ ।

बजारमा अहिले विभिन्न प्रकारका तरुलहरु देखिन्छन् । हात्तिपाइले तरुल, रातो तरुल, वन तरुल, चिप्ले तरुल, लाम्चो चिप्ले तरुल, पातले तरुल, सिमल तरुल आदि प्रजातीका तरुल बजारमा पाइन्छन् । यसमध्ये सिमल तरुलको बिक्री बढी हुने गरेको व्यापारी बताउँछन् । तरुल उसीनेर वा पकाएर जसरी खाए पनि स्वास्थ्यका लागि फाइदाजनक हुने चिकित्सकको भनाई छ । जाडो मौसममा शरीरलाई अत्यावश्यक तत्व तरुलमा पाइने भएकाले पनि यो समयमा तरुल खानुपर्ने उनीहरुको सुझाव छ ।

त्यस्तै स्वासप्रश्वास तथा छालासम्बन्धी समस्याको लागि पनि तरुल गुणकारी मानिन्छ । यसमा प्रशस्त मात्रामा फाइबर पाइने हुँदा पाचन प्रक्रियासम्बन्धि समस्याको लागि राम्रो हुन्छ । तरुलमा भिटामिन बी सिक्स प्रशस्त मात्रामा पाइन्छ । जसले मुटुसम्बन्धी समस्या हुनबाट जोगाउँछ। यसमा पाइने एन्टीअक्सिडेन्टले क्यान्सर रोगसँग लड्न समेत सहयोग गर्छ ।

तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेड पनि पाइन्छ। जसकारण यसलाई शक्तिको प्रमुख स्रोतका रुपमा समेत लिइन्छ । हामीले राजधानी काठमाडौँमा माघे संक्रान्तिको पूर्वसन्ध्यामा व्यापारका लागि राखिएका तरुलको फोटो खिचेका छौं । हेर्नुस् यस्ता छन् तरुल

प्रतिक्रिया