जनमत

कुलिङ पिरियड विरुध्द ‘सिंहदरबारका साँढेहरु’

काठमाडौं । राज्यका विभिन्न उच्च तहमा सेवा गरेपछि निवृत्त हुनासाथै र कतिपयले बीचैमा जिम्मेवारी परिवर्तन गरी सुविधाभोगलाई निरन्तरता दिएको आलोच्य बिगतलाई राष्ट्रसेवकहरु जन्मसिध्द अधिकार बनाउन लागिपरेका छन् ।  

संसदको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा अवकाशपछि २ वर्षसम्म संवैधानिक, कूटनीतिक, राजनीतिक लगायतका पदमा नियुक्त हुन नपाउने व्यवस्था प्रस्ताव गरेपछि यसका विरुध्द उनीहरु सिंहदरबारभित्रै परेड खेल्न थालेका छन् । यस्तो व्यवस्था राख्नुलाई असंवैधानिक भएको दाबी गर्दै उनीहरुले प्रस्तावित ऐन नै अवरुध्द गर्ने कुचेस्टा समेत गरेको बुझिएको छ । 

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ पिरियडको व्यवस्था सर्वसम्मतिले २ वर्ष राखेको छ । यो व्यवस्थामा आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली कांग्रे‍स सभापति शेरबहादुर देउवामार्फत राज्यव्यवस्था समितिलाई दबाब दिएका मुख्यसचिव एकनारायण अर्याल नेतृत्वको टोलीले बिहीबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई पनि भेटेर असन्तोष प्रकट गरेको छ । मुख्य सचिव नै सचिवहरुलाई ताँती लाएर सिंहदरबारमा दौडधुप गरेको देखेपछि सर्वसाधारणले व्यंग गर्दै ‘सिंहदरबारका साँढे’ भनेका छन् । राष्ट्रसेवकको यस्तो सक्रियताप्रति जनताको शून्य समर्थन देखिएको छ ।

यस सम्बन्धमा पत्रकार भद्र शर्माले आफ्नो फेसबूकमा लेखेको टिप्पणी निकै सान्दर्भिक छ । उनको टिप्पणी जस्ताको तस्तै– मुख्य सचिव हुन कि ट्रेड युनियनको नेता ? जिन्दगीभर सरकारी जागिर खाएर पुगेन रिटायर्ड भएकै भोलिपल्ट फेरि अर्को आकर्षक जागिर चाहियो भनेर यत्रो विधी घरदैलो नगरेको भए हुने । सचिव पदमा पुगेका अधिकांश तपाईहरु चप्पल पड्काउँदै आउनु भएको हो, गाउँबाट । यो काठमाण्डौ खाल्डोमा के के जोड्नु भयो ? सम्पति कति वैद्य कति अवैध तपाई आफैलाई थाह छ । 

शारीरिक रुपमा थकित, मानसिक रुपमा स्खलित तपाईको जीर्ण शरीरलाई फेरि अर्को नियुक्तिका लागि तनाव नलिनुहोस । पदमा रहँदा सित्तैमा आउने सुविधा तपाई आफुले त लिनुभयो नै, सरकारी सेवामा रहेका घरपरिवारका सदस्य देखि नातासम्बन्धका सबैलाई पुरयाउनु भयो एक कल फोनको भरमा ।

पेन्सनले नपुगेर भोकले मर्ने नै अवस्था हो भने रिटायर्ड भएको भोलिपल्ट सिंहदरबारको दक्षिण गेट आसपासमा मकै पोल्ने, चिया बेच्ने, कफी शप चलाउने देखि गाउँमा गएर सुन्तला खेती गर्नेसम्मका अनेक विकल्प बाँकी छन, महोदय । धेरै नै जाँगर चल्यो भने ठेलामा  हार्पिक बिक्री गरे नि हुन्छ । नेपाली गाउँमा कृर्षिको प्रचुर संभावना छ । रित्तिएका गाउँमा फेरि एकपल्ट पञ्चेबाजा घन्काएर परिक्रमा गर्नुहोस । बिर्सर्नु भएको छैन भने देश बाढीको बितण्डामा परेको बेला गृह नगरको स्वागतमा घन्किएका पञ्चेवाजासंगै हिड्नु भएको थियो नि । हो, त्यसैगरी गाउँमा कुल हुनुस । बुढेसकालमा कति हट हुनु ।

त्यति गर्दा आम मानिसले कसरी जीविकोपार्जन गरिरहेका छन भन्ने राम्रो अनुभव पनि हुन्छ । 

जे गर्दा देश बन्छ भन्नुहुन्छ नि अहिले जनताको करमा किनेको कुर्सीमा बसेर गाउँमा गएर त्यही गर्नुस । छोराछोरी बिदेशमा सेटल भइसकेका छन भने पनि उतै हराउनुस । तपाई नभएर देश डुब्नेवाला छैन । बरु, राम्रो नै हुन्छ तपाईजस्ता रिटायर्डको अनुपस्थितिमा पनि ।

कुलिङ पिरियड हटाउन खोजे उद्योग सचिवबाट रिटायर्ड भएको भोलिपल्ट निजी व्यापारिक घरानाको नोकर हुन जाने परम्परा दोहोरिरहन्छ । आफैले राज गरेको गैरसरकारी संस्थाको निमुखा कर्मचारी हुनुपर्छ । अवकाश पछि केही वर्ष जागिरको मेलोमेसो मिलाउने लोभमा सम्झौता गरेर अनुचित काम गर्ने लत लागिरहन्छ ।

जीवन धान्न नै नसिकने भए गो फण्डमा क्राउड फन्डिङको पहल गरौला, सचिव महोदय । क्राउड फण्ङिमा शून्य रकम जम्मा भएपनि प्राण धान्न पशुपतिका धर्मशाला छँदैछन । कुलिङ पिरियड हटाउन यो लाजमर्दो देउसी बन्द गर्नुहोस । गर्नेलाई भन्दा देख्ने हामीलाई लाज भैसक्यो ।

त्यसैगरी वरिष्ठ पत्रकार तथा विश्लेषक हरि अधिकारीले पनि यस सम्बन्धमा तीखो टिप्पणी लेखेका छन्– No cooling period but never again!

निजामती सेवामा काम गरेर अवकास लिएका कर्मचारीहरूलाई अवकास लिएको मितिदेखि २ वर्षसम्म कुनै पनि प्रकारको राजनीतिक नियुक्ति नदिनका लागि ऋययष्लिन एभचष्यम राख्ने गरी निजामती सेवा ऎनमा हुन लागेको संशोधन त्यसै रूपमा हुन नदिन पदाशीन मुख्य सचिव एकनारायण अर्यालको नेतृत्वमा केही सचिवहरूले राजनीतिक नेतृत्व तहका नेताहरूको ढोका ढोका चहारेको घिनलाग्दो दृश्यले मेरो मनलाई उद्विग्न बनाएको छ । 

के साह्रो लालची भएका हुन् यी मेरूदण्डविहीन कागेभेडाहरूरु सिंहदरबारका ठूला कुर्सीहरूमा बस्दा जसले देश र जनताको हितमा सिन्को भाँचेको छैन, जसलाई अनियमित किसिमको आमदानीसँग परहेज भएको एउटै पनि दृष्टान्त छैन, जसले एक पटक पनि मन्त्री-प्रधानमन्त्रीले दिएको अवान्ञ्छित आदेशको बर्खिलाफ गर्ने हिम्मत गरेको छैन, जसले मलमूत्र बाहेक कहिल्यै पनि केही कुराको त्याग गरेको छैन, त्यस्तो निर्घिणी ऊडुस-टाइप हाकिमलाई अवधि पूरा भएर अवकास लिएको लगत्तै पहिलेको भन्दा ठूलो कुर्सीमा लगेर बिराजमान गराउनू पर्ने? यो कस्तो चाहना हो? 

यस्तो लाग्छ एकनारायण अर्यालले कृष्णबम मल्ल, प्रद्युम्नलाल राजभण्डारी, गोरक्षबहादुर न्हुँछेप्रधान, भोगेन्द्रनाथ रिमाल, विमल कोइरालाहरूको होइन, सोमलाल सुवेदी, लोकमानसिंह कार्की, लोकदर्शन रेग्मी, शंकरदास वैरागीहरूको विरासत बोकेका छन् जो थप केही समय पद, पैसा र सुविधा लिन जुन हदसम्मको पतनको गर्तमा भासिन पनि तयार हुन्छ । 

मक्किइसकेका काठको मूढाजस्ता यी कागेभेडाहरूलाई अवकासपछि नयाँ नियुक्ति दिनू यिनीहरूले गर्दै आएको बदमासीमा लागेको अर्धविरामलाई हटाउनू हो । त्यसैले यिनीहरूका लागि No cooling period but never again हुनु पर्दछ ।

प्रतिक्रिया