कार्की कोशीको मुख्यमन्त्री नियुक्त: ओली र कोइराला सहकार्यले सत्ता गठबन्धनलाई धक्का?

विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले शनिबार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की नेपाली कांग्रेसमा नेता शेखर कोइराला पक्षका मानिन्छन्। कार्कीलाई सो पदमा स्थापित गर्न कोइरालाले केहीदिन यता गरेको कसरत र पार्टी सभापति शेरबहादुर देउवासँग राखेको अडानले कार्की नेता कोइरालाका लागि प्रतिष्ठाको बिषय थिए भन्ने कुरा प्रष्ट पारिसकेको छ।

कोइरालाले नेतृत्वसँग पहिलोपल्ट राखेको अडानमा यताउता नगरेपछि केन्द्रकै सत्ता सन्तुलनमा कम्पन आउने खतरा देखेपछि सभापति देउवा र प्रधानमन्त्री प्रचण्ड आफ्नो अडानबाट पछि हट्न वाध्य भएको देखियो।

कार्कीको मुख्यमन्त्रीमा नियुक्ति भएको केहीबेरमा चितवन ओर्लिएका प्रधानमन्त्री प्रचण्डले गठबन्धनले उनलाई विश्वासको मत दिने सार्वजनिक रुपमै बताएका छन्। तर कोइरालाको अडानले देउवा भने झस्किएको जानकार सूत्रले बताएको छ।

पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता कोइरालावीचको प्रत्यक्ष र परोक्ष सम्वादले नेपाली कांग्रेस र माओवादी गठबन्धनको भविष्य जोखिममा पर्दै गएको ठानिरहेका नेताहरु कोशीको पछिल्लो राजनीतिक विकासक्रम त्यतैतिर लक्षित रहेको विश्वास गर्छन्।

कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। केन्द्रमा गठबन्धनमा आबद्ध दलहरुले नेकपा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए।

उक्त सहमतिप्रति असहमति जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षधर कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

कार्कीको समर्थनमा उनीसहित कांग्रेसका ८ सांसद तथा नेकपा एमालेका ३९ जना सांसद छन्।

समर्थन गर्ने सांसदहरुको प्रत्यक्ष उपस्थितिमा प्रदेश प्रमुख खापुङले सनाखत गराएपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका एमालेका हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आफूले विश्वासको मत पाउने आधार नदेखेपछि असोज २० गते पदबाट राजीनामा दिएका थिए। 

त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वान गरेका थिए।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न हिजो ५ बजेसम्मको समय दिएका थिए। मुख्यमन्त्रीका लागि कार्की र आङ्बो दुवैले आफूलाई ४७–४७ सांसद्को समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए।

दुवैको बराबरी समर्थन संख्या पेस भएपछि समर्थन गर्ने सांसदहरुको सनाखत गरिएको थियो। सनाखतमा कार्की पक्षका सांसदहरु उपस्थित भएका थिए भने आङ्बो पक्ष सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय गएन।

सनाखत गर्दा कार्कीको पक्षमा ४७ सांसद पुगेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

 
 

प्रतिक्रिया