प्रतीक प्रधान पत्रकार हुन्, प्रयोगधर्मी पत्रकार। उच्च शिक्षातिर बढ्दै जाँदा वास्तवमा उनी इञ्जिनियर बन्न चाहन्थे तर विभिन्न कारणले उनलाई त्यता जानबाट रोक्यो।

प्रतीकले व्यापार पनि गरिहेरे तर सफल भएनन्। विश्वास गरेका साझेदार मित्रहरुले उनलाई धोका दिए, व्यापारमा गरेको लगानी डुब्यो। उनी त्यहाँबाट हात धोएर निस्किए।

सरकारी सेवामा रहेका पिताजी साहित्यकार थिए परशु प्रधान। पिताजीले संकलन गरेका विभिन्न पुस्तक र देशविदेशका पत्रपत्रिकाको स्वाध्यायनले प्रतीकभित्र एउटा पत्रकारको भ्रूण बिजारोपण भैरहेको रहेछ। त्यसैले उनको व्यक्तित्वलाई अरु आकर्षणले खिच्न सकेन। कालान्तरमा प्रतीक बने पत्रकार नै। यसमा भने उनी सफल रहे। आजसम्मको यात्राबाट उनी सन्तुष्टै छन्।

प्रतीक किन कल्पनाशील प्रयोगधर्मी पत्रकार हुन् भन्ने कुराको एउटा रोचक प्रमाण छ। २०६१ साल माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले सैनिक बलमा नागरिक अधिकार विरुध्द कू गरेका थिए। त्यसलगत्तै सबैभन्दा पहिला सञ्चार गृह र माध्यमहरुमाथि सैनिक निगरानी सुरु गरियो। सुरु गरिएन मात्रै सम्पादकको भूमिका सैनिक अधिकारीहरुले निर्वाह गर्न थाले प्रत्यक्ष सेन्सरसीप गरेर। त्यतिमात्र होइन उनीहरुले सम्पादकहरुलाई राजाको प्रत्यक्ष शासनविरुध्द नलेख्न नरम भाषामा चेतावनी समेत दिईरहे।

कान्तिपुर पव्लिकेशनको दि काठमाडू पोष्टमा सम्पादक थिए प्रतीक। कान्तिपुर दैनिकमा थिए नारायण वाग्ले। व्यवस्थापकहरु प्रष्ट नीति बनाउन असमर्थ थिए। अनि यी दुई सम्पादक नै सम्पादकीय नीति बनाउन अघि सरे।

राजाको प्रत्यक्ष शासनको समर्थन गर्ने त सम्भावनै थिएन, न विरोध या आलोचना नै गर्न सकिन्थ्यो त्यसबेला। त्यसैले विम्वको सहारामा व्यंग गर्ने निधोमा पुगे सम्पादक र व्यवस्थापक पनि। अनि उनीहरुले मोजाको बजार मूल्य र बाग्मती सफाई शीर्षकमा सम्पादकीय लेखे, जसले मज्जाले चर्चा पायो। मोजावाला सम्पादकीय त अमेरिकाको न्युयोर्क टाइम्सले समेत कोट गरेर समाचार बनायो। यो नवीन शैली प्रतीकले नै बनाएका थिए।

पत्रकारिता गर्दैजाँदा प्रधानमन्त्रीको प्रेस सल्लाहकार पनि बने प्रतीक। उनी यतिबेला बाह्रखरी डटकमको प्रधान सम्पादक छन्। यो न्यूजपोर्टल उनैले स्थापना गरेका हुन्। यहाँ हामी उनै प्रतीक प्रधानको आरोहअवरोधमा आधारित भिडियो सम्वाद प्रस्तुत गरिरहेका छौं, हेरौं यस्तो छ यो सम्वाद–

 

प्रतिक्रिया