नक्कली भुटानी शरणार्थी काण्ड

अख्तियार उक्साउँदै पूर्व प्रधानमन्त्री ओली

काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर धनाढ्य हुने अवैध धन्दाको पर्दा खसेपछि सत्ताको शिखरमा बसेका नेताले हिरासतको अतिथि हुनुपरेको छ। ‘फरार’ भनिएका नेता पनि राजनीतिक नाटकको पटकथा अनुसार चाँडै प्रहरीसमक्ष ‘बहादुरीपूर्वक आत्मसमर्पण’ गर्दैछन् भनेर प्रचार गरिएको छ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँण सहित एकदर्जन आरोपी हिरासमा छन् भने अन्यको अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।

संसद्, सडक र सञ्चारमाध्यम मार्फत भ्रष्टाचार विरुध्द नागरिकको आवाज बुलन्द हुँदै गएपछि राजनीतिक दलहरु हच्किएकाले नक्कली शरणार्थी धन्दामा संलग्न नेतालाई संरक्षण दिने आँट गर्न नसकेको प्रष्ट हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीले पटक पटक परामर्श गरेपनि सुरक्षा संयन्त्रलाई प्रत्यक्ष दवाव दिने हिम्मत गर्न सकिरहेका छैनन्। नागरिक दवाव नै यसको मुख्य कारण देखिएको छ। 

काण्ड भर्सेस काण्ड

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिषयान्तर हुनेगरी माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुट्टा कमाएको भनेर टिप्पणी गरेका छन्। नक्कली शरणार्थी प्रकरणमा धमाधम संलग्न नेता र दलाल पक्राउ पर्ने क्रम जारी रहेका बेला ओलीले अर्को बिषय चर्चामा ल्याएर घुमाउरो शैलीमा प्रतिशोध साँधेको महसुस गरिएको छ।

शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी प्रत्यक्ष संलग्न रहेको प्रमाण फेला पारेको प्रहरीले पक्राउ गर्न खोजी गरिरहँदा ‘अचानक वेपत्ता’ भएका छन्। सर्वत्रको चर्को विरोध र दवावपछि एमालेले रायमाझीलाई निलम्वन गरेको छ भने अनुसन्धानमा सहयोग गर्न आत्मसमर्पण गर्न निर्देशन पनि दिएको छ। तर पार्टीको निर्देशनको अवज्ञा गर्दै रायमाझी यतिन्जेल सार्वजनिक भैसकेका छैनन्। 

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई सोझै दवाव दिन नमिलेपछि माओवादी शिविर घोटाला काण्डको बिषय उठाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई ओलीका वफादार विश्वापात्र मानिन्छन्। ओलीकै सहयोगमा राई अख्तियारमा पुगेका हुन्। ओली प्रधानमन्त्री छँदा गृह सचिव रहेका राईकै प्रत्यक्ष समन्वयमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्च सुरु भएको थियो। माओवादी शिविर घोटाला काण्डको फायल हेर्न प्रमुख आयुक्त राईलाई उत्प्रेरणा मिल्नेगरी ओलीको भनाई आएको राजनीतिक विश्लेषकहरुको बुझाई छ।  

काण्डैकाण्ड

करिब दुइ दशकमा देशमा यतिधेरै काण्डको रचना भैसकेको छ, जसमा ठूला मानिने राजनीतिक दलहरु कुनैनकुनै रुपमा संलग्न देखिन्छन्। जस्तो माओवादी शिविर घोटाला काण्ड, बालुवाटारको ललिता निवास जग्गा काण्ड, बाल मन्दिर काण्ड, चाँदबाग काण्ड, वाइड बडी जहाज काण्ड, यति काण्ड, ओम्नी काण्ड, ३३ केजी सुन काण्ड, महरा काण्ड, सुडान घोटाला काण्ड, एनसेल काण्ड, चिनियाँ जहाज खरिद काण्ड, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेस काण्ड, बुढी गण्डकी काण्ड जस्ता अनगिन्ति काण्डहरूले राजनीतिक संरक्षण पाएको समकालीन पुस्ताले प्रत्यक्ष देखेभोगेको छ। यी काण्डहरु राजनीतिक संरक्षण र सत्ता लेनदेनकै कारण अनुसन्धान नभै थाँती रहेका छन्।

एमाले अध्यक्ष ओलीले नेतृत्व गरेको झण्डै दुइतिहाई नजिकको सरकारले पनि केही काण्डहरुको रचना गरेको कुरा सेलाएको छैन।

तर ओलीले आज बिहीवार पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दा क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरे। उनले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप पनि लगाउँदै अख्तियारलाई सतर्क गराए।  

ओलीले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने दाबी गर्दै माओवादी केन्द्रको सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको टिप्पणी गरे। 

‘अब पछिल्लो समयमा त लडाकुलाई बाँड्ने भनिएको छ, घाईते अपांग, के के किस्ता किस्तामा भनिएको छ, अहिलेको सरकार दुई लाख बाँड्ने भनेको छ, अर्थतन्त्र यस्तो छ, कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था छ, बहिर्गमित लडाकुलाई बाँड्ने भनेर एकलौटि निर्णय गरेको छ’, उनले भने, ‘माओवादी केन्द्र जसले सरकारको नेतृत्व गरेको छ, उहाँहरु बलजफ्ती निर्णय गराउने र ५० हजार कार्यकर्तालाई दिने, बाँकी आफैँ लिने कामका लागि शुरु हुँदैछ, क्यान्टनमेण्टका सवालमा त्यस्ता कुराहरु पलिा पनि धेरै भएका छन्।'

'क्यान्टनमेण्टमा नभएका मानिसहरुका पैसा बुझिएको छ, राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो, जो सुकैले गरेको होस्, त्यसको बारेमा कोही पनि बोल्न तयार छैनन्। राज्यको ढुकुटी रित्याएर अर्बौं पैसा कुम्ल्याउन मिल्छ? यी कुराहरु भएका छन्, आज होइन, पहिलादेखि नै हो। अख्तियारले होल्ड गरेर बसेको छ, म भन्न चाहन्छु, राज्यको यत्रो अर्बौंको हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस्, किन खुट्टा कमाएर बस्नुहुन्छ। यस्ता संस्थाहरु राजनीति प्रतिशोधका अस्त्र बनाउने?’

अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताए। उनले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउन? भन्ने हिसावले चलखेल भइरहेको आरोप लगाए। उनले नेकपा एमालेप्रति बढी लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘हाम्रै पार्टीका मानिसको नाम आएको छ, हिजो हाम्रै सरकारमा रहेका साथीहरुको नाम आएको छ, जो सुकैको नाम आओस्, यदी दोषी छ भने कारबाही हुन्छ, हामीले जबसम्म मानिस दोषी करार हुँदैन, तबसम्म दोषी रहेर अनुमान गर्न सकिन्छ, तर दोषी नै हो भनेर करार गर्न सकिँदैन। किनभने त्यसको अदालती छानबिनको प्रक्रिया बाँकी हुन्छ। हामी हेरिरहेका छौँ, कसलाई फसाउने भन्ने प्रयास पनि भइरहेको छ, कता धकेल्ने भन्ने प्रयास भइरहेको छ, पूर्वाग्रह ढंगबाट दिइने अभिव्यक्ति, आधारहीन ढंगबाट अभिव्यक्ति, एमालेका बिरुद्ध निराधार प्रकाशन, अभिव्यक्ति आएका छन्।’

   
 

प्रतिक्रिया