किन बसे धर्नामा महावीर (फोटोहरु)

किन बसे धर्नामा महावीर (फोटोहरु)

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आविष्कारको काम थाँती राखेर माइतीघरमा धर्ना बसेका छन्। सरकारले आफ्नो भनाईलाई वेवास्ता गरेको भन्दै उनी अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि भन्दै सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रममा उत्रिएका हुन्। पुनले आफ्ना समर्थकको साथ लिएर ४ बुँदे माग लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै शुक्रबार बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर धर्ना सुरू गरेका छन्।

आविष्कारका क्षेत्रमा काम गर्न माग गरिएका विभिन्न प्लेकार्ड बोकेका समर्थक सहित माइतीघरबाट नयाँबानेश्वर जाने सर्भिस लेनलाई बन्द गरेर धर्ना कार्यक्रम भैरहेको छ।

बिहीबार सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गर्दै पुनले माग पूरा नभएसम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न आह्वान गरेका थिए। उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने अठोट गरेका छन्।

यस्ता छन् माग

१. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राख्नुपर्ने। सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने। कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभए आगामी वर्षमा पनि खर्च गर्न पाउने व्यवस्था गर्नुपर्ने।

२. त्यो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम् सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइनु पर्ने।

३. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजलाई उत्पादन गरी नवउद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरू गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनु पर्ने। सो कामलाई सहज बनाउन र आवश्यकताअनुसार नीति नियम बनाउनका लागि ‘नव उद्यमी प्रवर्द्धन समिति’ बनाउनु पर्ने र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्था गर्नुपर्ने।

४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरूमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत ‘व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ स्थापना गर्नुपर्र्ने। त्यस विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरूलाई के कसरी र कुन रूपमा हुन्छ स्वदेश फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइनुपर्ने।

यसअघि मंगलबार पुनले आफ्ना यी मागहरू प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत र शिक्षामन्त्री अशोक राईलाई बुझाएका थिए।

 

प्रतिक्रिया