हिउँ नपर्दा नि सुन्दर कालिन्चोक हेरौं तस्विरहरु

हिउँ नपर्दा नि सुन्दर कालिन्चोक हेरौं तस्विरहरु

शम्भु गौतम
दोलखा: हिउँ खेल्नका लागि प्रसिद्ध दोलखाको कालिन्चोक क्षेत्र यो वर्ष हिमपात नहुनाले सुनसान जस्तै बनेको छ । 
हरेक वर्ष यतिखेरसम्म २—३ पटक हिउँ पर्ने गरेकोमा यसपालि एकपटक पनि हिउँ परेको छैन । हिमपातमा मात्रै भर पर्ने गरेको कालिन्चोकको पर्यटन व्यवसाय चौपट भएको कालिन्चोक कुरीका होटल व्यवसायीहरुको गुनासो छ । 

तर प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको केन्द्र कालिन्चोकको पर्यटन हिउँमा मात्रै भर पर्नुपर्ने भने होइन । यहाँबाट मौसम सफा भएको बेला वरिपरि जस्तै हिमालहरुको अवलोकन गर्न सकिन्छ । समुद्रसतहबाट ३८४२ मिटरको उचाइमा रहेको कालिन्चोक टाकुरोबाट टाढाटाढासम्म देखिने पहाडको तरेली लोभलाग्दो हुन्छ । कालिन्चोक टाकुरोबाट नजिकै देखिने हिमालहरु जुगल, छोबाभमरे गौरीशंकर लगायत रोल्वालिङ हिमश्रृङ्खलाले पर्यटकहरुको मनै लोभ्याउने गर्दछ । 

कालिन्चोक क्षेत्रको अर्को आकर्षण यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्य पनि हो । एक साँझ र अर्को बिहान खर्चिने पर्यटकले लोभलाग्दो सूर्योदय र सूर्यास्तको पारख गर्न सक्छन् । 

यति सुन्दर धार्मिक तथा प्राकृतिक पर्यटकीय ठाउँमा हिउँमा मात्रै भर पर्नु परेकोमा होटल व्यवसायीहरु चिन्तित बनेका छन् । होटल सुनापातीका सञ्चालक हरि वलीले काठमाडौँका ट्राभल एजेन्सीको भर पर्दा कालिन्चोकमा पर्यटक घटेको बताउँछन् ।प्राकृतिक सौन्दर्यको हिसाबले कालिन्चोकमा १२ महिनै पर्यटकको घुइँचो हुनुपर्ने हो । हरि वली भन्छन् — तर काठमाडौँका ट्राभल एजेन्सीहरुले हिउँ परेका बेला मात्रै पर्यटकहरु यता पठाउँछन् । नत्र कालिन्चोकमा हिउँ परेको छैन भनेर अन्तै पठाउँछन् । अब उनीहरुको भर पर्न छोड्नुपर्छ ।

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यसँगै होटलहरुमा सुविधा थप गर्न सके काठमाडौँको ठमेल भन्दा राम्रो पर्यटकीय क्षेत्र बनाउन सकिन कालिन्चोक कन्ट्री भिल्ला होटलका सञ्चालक नविन खड्का बताउँछन्  । त्यसका लागि पहिला कुरीको जग्गाको स्वामित्व निर्धारण हुनुपर्ने उनको धारणा छ । 

शुक्रबार र शनिवार पर्यटकहरु ठिकै संख्यामा आए पनि हिउँ नपर्दा कालिन्चोकको पर्यटन व्यवसाय निकै खस्केको होटल दिकीका रामबहादुर तामाङ दुखेसो छ । सुन्दर कालिन्चोकका बारेमा बेलाबेलामा आएका नराम्रा समाचारले पनि पर्यटन व्यवसाय धरासायी भएको उनको ठम्याइ छ । 

होटल फायरसाइडका सञ्चालक राजु केसी होटल व्यवसायीबिचमा आपसी सहयोग, होटल खोल्ने समय बढाउनुपर्ने र दोलखा आउने पर्यटकहरुको चरिकोटदेखि सुलभ र सहज यातायातको व्यवस्था हुनुपर्ने धारणा राख्छन् । उनले जिल्लाको कालिन्चोकसँगै जिल्लाभरलाई लक्षित गरी पर्यटक भित्र्याउन पहल गर्नुपर्ने र जिल्ला सदरमुकाममा सूचना केन्द्रको स्थापना गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया