एमालेमा बादलले जितेर घनश्यामले हारेको पनि देखियो 


काठमाडौं । बाँचे के के देख्न पाइन्छ भन्थे, हो रहेछ । नेकपा (एमाले)मा घनश्याम भुषालले चुनाव हार्ने र माओबादी केन्द्रबाट आएका रामबहादुर थापाले जित्ने दिन पनि देखियो । 

नेकपा(एमाले)मा चार दशक लामो योगदान दिएका घनश्याम भुषाल उपाध्यक्ष पदमा पराजित भएका छन् । उनले सबैभन्दा कम ७२५ मत मात्र प्राप्त गरेका छन् । 

उपाध्यक्ष पदका भएको निर्वाचनमा विजयीहरुमध्ये अष्टलक्ष्मी शाक्यले सबैभन्दा बढी १९७६ मत पाएकी छिन् । सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाएका छन् । 

एमालेमा माधव नेपाल समूहमा रहेर वैचारिक बहस चलाउँदै आएका भुषालले नेपालले नेकपा (एकिकृत समाजबादी) गठन गर्दा साथ दिएका थिएनन् । दश बुँदे सहमतिको पालनाको अडान राख्दै एमालेमै संघर्ष गर्दै आएका भुषालको नाम अध्यक्ष ओलीले उपाध्यक्षमा सूचीमा नसमेटेपछि उनी चुनावी मैदानमा उत्रिएका थिए । 

एमालेलाई गुटगत राजनीतिले कुन हदसम्म गाँजीसकेको रहेछ भन्ने पूर्व माओबादी नेता रामबहादुर थापाले १७६८ मत पाएर उपाध्यक्ष जितिरहँदा घनश्याम भुषालले भने हार्नुप¥यो । गुटबन्दीको राजनीतिले कसरी वैचारिक चेतसम्पन्न र पार्टीमा लामो योगदान गरेका मानिसहरुलाई मुलधारबाट किनारामा धकेल्छ भन्ने यो एउटा उदाहरण हो । 

नेपाली मानसिकताले निकट अतितलाई चटक्कै भुलीहाल्छ । रामबहादुर थापा माओबादी हिंशात्मक विद्रोहका तिनै अगुवामध्येका एक हुन्, जसको आक्रमणको तारो कुनैबेला गाउँमा गाउँमा एमालेका नेता र कार्यकर्ता नै थिए । 

द्वन्द्वकालमा एमालेले गाउँ गाउँमा बादलद्वारा प्रशिक्षित ‘जनसेना’को ज्यादती सहनु परेको घाउ अझै सेलाएको छैन । यदु गौतमको हत्यादेखिका घटना आलै छन् । शान्ति प्रकृयापछि माओवादीको वाइसिएलसँग भिडनकै लागि एमालेमा केपी ओलीकै पहलमा युवा सँघ अस्तीत्वमा आएको थियो, जुन युवासँघको सोझो टक्कर वाइसिएलसँग थियो र यसका नेता बादललाई नै थिए । 

युवा सँघकै दबदबा भएको एमालेले रामबहादुर थापालाई जिताएर घनश्याम भुषाललाई हराएको छ, जुन घनश्याम भुषालले पंचायतकालमा राष्ट्रबादी विद्यार्थी मण्डलसँग भिडेरै एमालेको सँगठन निर्माण गरेका थिए । 

घनश्यामको पराजय र बादल, बिष्णु पौडेल आदिको विजयले एमाले भनेको अध्यक्ष ओलीकै लाचार छायाँ हो भन्ने स्पष्ट भएको छ । 

प्रतिक्रिया