समाचार विश्लेषण

सबैलाई ललकार्ने ओली वधाई दिन किन हतारिए ?

बिराटनगर । मर्यादाका सबैजसो सीमा उल्लंघन गर्दै परस्पर लान्छना लाएका कम्युनिष्ट पार्टीका नेताहरु ताजा निर्वाचन परिणाम आईरहँदा वधाईको बहानामा सम्वाद गर्न थालेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नै यसमा अग्रसर भएका छन्। उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वधाई दिन फोन सम्पर्क गरेका थिए। त्यही मौकामा ओलीले भविष्यमा वामपन्थी दलहरुवीच सम्वाद र सहकार्यको ढोका खुला रहेको संकेत दिएका थिए।

ओली झापाको पाँच नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा बिजयी भएका हुन् भने प्रचण्ड गोरखाको क्षेत्र नम्बर दुइबाट। यी दुइ नेता मिलेर अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्दा वामपन्थी दलहरुले संसदमा झण्डै दुइतिहाई बहुमत हासिल गरेका थिए। अरु साना दललाई सरकारमा सामेल गरेर दुइतिहाई बहुमत पुर्याएका भए पनि सत्ता संघर्षकै कारण नेपाल कम्युनिस्ट पार्टीको एकता धरासायी भएको थियो । त्यसपछि ओली र प्रचण्डवीचको सम्बन्ध यति तीतो बन्यो कि उनीहरु एकअर्कालाई अत्यन्त निम्नकोटीको लान्छना लाएर गाली गर्थे। परिणामत प्रचण्डले आफ्नो पार्टी मात्र अलग गरेनन् एमालेका पूर्व अध्यक्ष माधवकुमार नेपाललाई समेत अलग गराएर नेपाली कांग्रेससँग पाँचदलीय गठबन्धन गरेर सहकार्य गरे। यी सबै राजनीतिक उतारचढावको मुख्य कारण एमाले अध्यक्ष ओलीको अहंकार हो भनेर राजनीतिक वृत्तमा चर्चा गरिन्छ। 

यो निर्वाचनमा पनि ओलीलाई मात्र व्यक्तिगत लाभ हुनेगरी निर्वाचन परिणाम आएको तर ओलीले नेतृत्व गरेको एमालेलाई भने ठूलै क्षति भएको विश्लेषण गरिएको छ। 

यता निर्वाचन परिणाम आईरहँदा प्रतिनिधिसभा र प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत आएको छैन। यस अवस्थामा वामपन्थी दलहरू मिलेर सरकार बनाउने विषयमा नेताहरूबीच चर्चा सुरु भएको छ। सोचेजस्तो परिणाम हात नपरेपछि प्रचण्ड र माधव नेपालले हाल कांग्रेससँगको सहकार्यमा पुनर्विचार गर्न सक्ने संकेत देखिएको छ। यही कारण उनीहरु सके वाम एकता त्यो सम्भव नभए वाम गठबन्धनको प्रयाशमा जुटेको बुझिएको छ। 

अहिलेसम्म घोषित निर्वाचन परिणाम अनुसार सत्ता गठबन्धनबाट कांग्रेस अग्रस्थानमा छ। कुनै पनि दलको बहुमत नआएको अवस्थामा कांग्रेस फेरि पनि वामपन्थी दलहरूसँग मिलेर सरकार बनाउने प्रयासमा छ। तर माओवादीका धेरै नेताले चुनावमा पराजय भोगेसँगै कांग्रेससँग सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा अनौपचारिक बहस थालेका छन्। सत्ता गठबन्धनमै रहेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि वाम एकताको विषय उठाएका छन्।

ओलीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि टेलिफोन गरेर बधाई दिएका छन्। त्यसक्रममा उनले देउवालाई परिवर्तनका संवाहक पक्षहरूबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

एमालेले प्रत्यक्ष निर्वाचनतर्फ ४५ र समानुपातिकतर्फ कम्तीमा ३० सिट पाउने अनुमान गरिएको छ। निर्वाचनबाट वामपन्थी दलहरूमा एमाले सबैभन्दा ठूलो दल बन्ने संकेत देखिएको छ। माओवादीले प्रत्यक्ष र समानुपातिकतर्फ गरी २५ देखि ३० सिट जित्ने विश्लेषण हुन थालेको छ। एमालेबाट विभाजन भएर बनेको नेकपा एसले पनि प्रत्यक्षतर्फ कम्तीमा १० सिट जित्ने अनुमान गरिएको छ। राष्ट्रिय जनमोर्चाले एक सिट जितिसकेको छ। वामपन्थी दलबीच सहकार्य भए मुलुकमा बलियो वामपन्थी शक्ति बन्ने देखिन्छ।

एमाले अध्यक्ष ओलीले अहिलेसम्म घोषित निर्वाचन परिणामका आधारमा सरकार बनाउनै गाह्रो, बनेमा टिकाउन गाह्रो हुने टिप्पणी गरेका छन्। उनले सरकार गठनका लागि कुनै दलको पनि बहुमत नपुगे थप विकृति निम्तिने पनि बताएका छन्। ‘सरकार बनाउन गाह्रो, बनाएपछि टिकाउन झन् गाह्रो हुने भयो। मिलिजुली सरकार बनाउनेतिर देश गयो। हरेक सांसदको भाउ बढ्यो। राजनीति एकदुई महिना सरकार गठनको खेलमा लाग्ने भयो,’ ओलीले भने। ओलीले झापामा सम्वाददाताहरुसँग अहिलेसम्म घोषित चुनावी परिणामले कुनै पनि दलको बहुमत आउने नदेखिएकाले ‘भवितव्य’ले संसद्मा पुगेकाहरूको टाउको गनेर मोलतोल हुने बताएका छन्।

निर्वाचन परिणाम घोषणा हुने क्रमसँगै माओवादी केन्द्रका नेताबीच वाम एकताको विषयमा अलि धेरै चर्चा हुन थालेको छ। उनीहरूले कांग्रेसभित्रको आन्तरिक कलहले चुनावमा माओवादीलाई बेफाइदा पुगेको निष्कर्ष निकालेका छन्। चुनावअघि वर्तमान सत्ता गठबन्धन लामो समयसम्म कायम रहने भन्दै यसका पक्षमा मतदान गर्न शीर्ष नेताहरूले आग्रह गरेका थिए। तर सत्ता गठबन्धनमा रहेका वाम दलले अपेक्षित नतिजा प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि वाम गठबन्धन वा सहकार्यको विषय उठाएका हुन्।

नेकपा एसका अध्यक्ष नेपालले नतिजा सोचेजस्तो नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन्। उनले आगामी सरकार कसको नेतृत्व बन्छ भनेर अहिल्यै भन्न नसकिने पनि बताएका छन्। रौतहटबाट निर्वाचित भएपछि नेपालले आफ्नो पार्टीले अपेक्षा गरेअनुसार नतिजा नआएको र यसबाट शिक्षा मिलेको बताए। उनले निर्वाचन परिणामको मूल्यांकन गरी कमीकमजोरी सुधारेर अघि बढ्ने धारणा पनि राखे।

 

प्रतिक्रिया