नेपाल पोलिमर सोसाइटीकी सचिव डा. ज्योति गिरीले सरकारी स्कुलमा रसायनशास्त्रको प्रयोगशालालाई व्यवस्थित बनाउन नयाँ कार्यक्रम ल्याउन लागेको बताएकी छन् ।

‘अधिकांश सरकारी विद्यालयमा विज्ञान प्रयोगशालाको अवस्था नाजुक छ । त्यही भएर रसायनशास्त्रको प्रयोगशालामा सुधार ल्याउन विज्ञान शिक्षकको क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना गर्न लागिरहेका छौं,’ उनी भन्छिन् । त्रिभुवन विश्वविद्यालयबाट प्रकृतिमा राख्दा टुक्रिन सक्ने प्लास्टिकको विषयमा विद्यावारिधी गरेकी डा. गिरी अहिले त्रिचन्द्र क्याम्पसमा रसायनशास्त्रको सहायक प्राध्यापक हुन् ।

उनका अनुसार देशभरि माध्यमिक तहमा अध्यापन गर्ने एक सयजना विज्ञान शिक्षकलाई लक्षित गरी यही कात्तिक २ र ३ गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा कार्यशाला आयोजना गर्न लागिएको छ । यो कार्यशाला नास्ट, साइन्स टिचर्स एशोसिएसन अफ नेपाल (स्टान), बैंकक बैंक, केमिकल सोसाइटी अफ थाइल्यान्डसँगको सहकार्यमा इन्टरनेसनल युनियन अफ प्योर एन्ड एप्लाइड केमेस्ट्री (आइयुपिएसी) को ब्यानरमा हुन लागेको हो । यो कार्यशालामा माध्यमिक तहमा रसायन शास्त्रको प्रयोगात्मक कक्षा कक्षा कोठामै सानो लगानी र उपलब्ध हुन सक्ने रसायनको प्रयोग गरी कसरी प्रभावकारी तरीकाले सञ्चालन गर्ने विधिहरुबारे छलफल गरिनेछ ।

कार्यशालामा सहभागी भएर उत्कृष्ट कार्य प्रदर्शन गर्ने १० जना विज्ञान शिक्षकलाई थप सिकाइका लागि थाइल्यान्ड लैजाने कार्यक्रम रहेको ज्योतिले बताइन् । ‘यसरी छनोट भएका शिक्षकहरुले थाइल्यान्डमा सिकेको कुरा नेपाल फर्किएर अन्य शिक्षकहरुलाई सिकाउनुपर्ने हुन्छ,’ उनी भन्छिन् ।

डा. ज्योतिले गहुँको छ्वाली प्रयोग गरेर बायोडिग्रेडेबल प्लास्टिक (टुक्रिएर माटोमा मिल्न सक्ने) प्लास्टिकलाई कसरी छिटो कुहाउन सकिन्छ भन्ने विषयमा पिएचडी अनुसन्धान पूरा गरेकी थिइन् । ‘बायोडिग्रेडेबल प्लास्टिकमा गहुँको छ्वालीबाट निकालिएको नानो सेलुलोजलाई मिसाउँदा प्लास्टिक छिटो कुहिएको पाइयो,’ उनी भन्छिन् । भविष्यमा बायोडिग्रेडिबल प्लास्टिक सम्बन्धी अझै गहन अनुसन्धान गर्ने उनको योजना छ ।

बायोडिग्रेडेबल प्लास्टिक सम्बन्धी अनुसन्धान, निकट भविष्यमा हुन गइरहेको विज्ञान शिक्षकको कार्यशाला र भावी योजनाबारे डा. ज्योति गिरीसँग दृश्य टिभीले गरेको कुराकानी ।

 

प्रतिक्रिया