ललितपुर क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीले धर्म–संस्कृतिमाथिको निरन्तर प्रहारले यहाँका समुदायको अस्तित्व समाप्त हुनसक्ने जोखिम औंल्याएका छन् । ‘धर्म–संस्कृतिमाथिको अतिक्रमण बढ्दो छ, यहाँको मौलिक सम्पदा हराउँदै गएका छन् । त्यही भएर पनि विकासका साथै संस्कृतिको रक्षाका लागि अभियान जरुरी छ,’ उनले भने । आफू सदैव धर्म–संस्कृति, विकास र सम्पदा संरक्षणका लागि डट्न तयार रहेको उनको भनाइ छ ।

यसअघिका जनप्रतिनिधिले यतिका वर्षसम्म जनताको आकांक्षा र भावनालाई आत्मसात गर्न नसकेको उनको दाबी छ । ‘विकास–निर्माण, संस्कृतिको जगेर्ना र सम्पदा संरक्षणमा ठोस काम हुन सकेन, अब त्यही भएर यहाँका मतदाताले परिवर्तनका लागि युवा उम्मेदवारलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनी भन्छन् । ललितपुरको माटोलाई आफूले चिनेकाले यहाँका सबै समुदायको भावनालाई आत्मसात गर्दै अगाडि बढ्ने उनको विचार छ ।

जवाहरलाल नेहरु विश्वविद्यालय, नयाँ दिल्लीबाट विद्यावारिधी गरेका केसी दुई दशकदेखि पत्रकारिता गर्दै आएका छन् । खोज पत्रकारितमा दख्खल राख्ने केसीका किताबहरु तथा अनुसन्धानमूलक लेखहरुसमेत प्रकाशित छन् । सनातन धर्म–संस्कृति रक्षाका लागि ललितपुरले यसपालि दियो बाल्ने उनको विश्वास छ । ‘यसपालि ललितपुरका जनताले मेरा एजेन्डालाई अनुमोदन गर्नुहुनेछ भन्ने विश्वास छ, यदि मलाई चुन्नु भयो भने जनताको सेवक भएर अगाडि बढ्न चाहन्छु,’ उनी थप्छन् ।

स्वतन्त्र उम्मेदवारी, चुनावी एजेन्डालगायत विषयमा डा. केसीसँग दृश्य टिभीले गरेको कुराकानी ।

 

प्रतिक्रिया