ध्यान अभ्यासी, योग प्रशिक्षक एवं कृतज्ञता अभियन्ता अभित प्याकुरेलले कृतज्ञता भाव मानव जीवनका लागि अतिआवश्यक रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा वर्षेनी आठ लाख मानिसले आत्महत्याको बाटो रोजेर अकालमा ज्यान गुमाउने गरेका छन् । यदि मानिसमा कृतज्ञता भाव जगाउन सकेमा आत्महत्याको घटना कम हुने अभितको भनाइ छ ।

‘आफूसँग कृतज्ञ भएमा अरुसँग पनि कृतज्ञ हुन सकिन्छ, कृतज्ञताको अभ्यासमा अरुलाई पनि प्रेरित गर्न सकिन्छ,’ उनी भन्छन् । करिब दुई दशकदेखि ध्यान, योगका अभ्यासकर्ता रहँदै आएका प्याकुरेल अहिले अमेरिकाको न्युयोर्कस्थित ग्रयाटीच्युड पावर एलएलसीका सिजिओको रुपमा कार्यरत छन् । उक्त कम्पनीले विश्वभरका मानिसहरुका लागि कृतज्ञतासम्बन्धी सेमिनार तथा प्रशिक्षण गर्दै आएको छ ।

हरेक वर्ष सेप्टेम्बर २१ का दिन विश्व कृतज्ञता दिवश मनाउने गरिन्छ । यसपालि सेप्टेम्बर २१ का दिन कृतज्ञता दिवशको अवसर पारेर ग्रयाटीच्युड पावर एलएलसीले सगरमाथा आधारशिविर कालापत्थरमा कार्यक्रम आयोजना गरेको थियो । उक्त अवसरमा अमेरिकी नागरिक केभिन फोर्डलगायत नेपालीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । २७ वर्षसम्म वर्गर किङमा काम गर्दा एक दिन पनि गयल नभएका केभिन एक कृतज्ञता भिडियोमार्फत् भाइरल भएपछि विश्वभर चर्चित छन् ।

ध्यानको अभ्यासले मानिसमा कृतज्ञताको भाव विकास हुँदै जाने अभितको अनुभव छ । पश्चिमी मुलुकमा चरम रुपमा भौतिक विकास भए पनि अर्कोतर्फ तनाव, चिन्ता, नैराश्य आदि बढ्दै गएको उनको बुझाइ छ ।

‘चर्चमा पनि ध्यानको अभ्यास गर्न चाहने मानिसको संख्या बढिरहेको छ, मैले विगत ६ वर्षदेखि अमेरिका र स्वीडेनका चर्चहरुमा ध्यान सिकाइरहेको छु,’ उनी भन्छन् ।

कृतज्ञता अभियान सञ्चालन गरिरहेका अभितसँग कृतज्ञता र ध्यानको अन्तरसम्बन्धबारे दृश्य टिभीले गरेको कुराकानी ।

 

प्रतिक्रिया