हिन्दु तन्त्र र बौद्ध तन्त्रबीच आकाश जमिनको फरक छ : प्रा.डा. नरेशमान वज्राचार्य

त्रिभुवन विश्वविद्यालय, बौद्ध अध्ययन विभागका प्रा. डा. नरेशमान वज्राचार्यले हिन्दु तन्त्र र बौद्ध तन्त्रबीच निक्कै फरक रहेको बताएका छन् ।

‘अनात्मवादी बौद्ध धर्म र आत्मालाई महत्व दिँदै आएको हिन्दु धर्मबीच आधारभूत रुपमै फरक छ, त्यही भएर पनि हिन्दुहरुले अपनाउँदै आएको शैवतन्त्र र बौद्ध तन्त्रबीच आकाश–जमिनको फरक छ,’ उनी भन्छन् ।

कतिपयले हिन्दु तन्त्र र बौद्ध तन्त्रको मुख्य पक्ष उस्तै हो भनी व्याख्या गर्ने गरेको पाइए पनि त्यो सही नभएको उनको तर्क छ । लामो समयदेखि स्वदेश तथा अमेरिकालगायत विभिन्न मुलुकमा बौद्ध धर्म–दर्शनको शिक्षा दिँदै आएका प्रा.डा. वज्राचार्य नेपाल परम्परागत बौद्ध धर्म संघका संस्थापक अध्यक्षसमेत हुन् ।

उनकै अगुवाइमा ३ सय ६२ वर्षपछि लुम्बिनीमा नेपाली विहारको निर्माण हुँदैछ । ‘राजा प्रताप मल्लको पालापछि नेपालमा विहार नै निर्माण हुन सकेको थिएन, लुम्बिनीमा निर्माण हुने लागेको नेपाली मौलिकता समेटिएको विहारको करिब–करिब ९० प्रतिशतभन्दा बढी काम सिधिएको छ, अब केही महिनाभित्र नै त्यसको समुद्घाटन हुन्छ,’ उनी भन्छन् ।

प्रा.डा. वज्राचार्यका अनुसार उक्त नेपाली विहार निर्माणका लागि विदेशीको पैसा लिइएको छैन । नेपालीहरुको स्वेच्छिक दानबाट विहारको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिएको हो । प्रा.डा. वज्राचार्यले लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति भएर चार वर्ष काम गर्दा विश्वविद्यालयको उन्नयनका लागि महत्वपूर्ण काम गरेका थिए । विश्वविद्यालयको भौतिक, प्राज्ञिक र आर्थिक गुरुयोजना तयार पारी सोही अनुसार विभिन्न कामको सुरुआत गरेका थिए ।

नेपाल बौद्ध–दर्शनको अद्वितीय भूमि भएको उनको धारणा छ । संस्कृतमा बौद्ध ग्रन्थ नेपालमा मात्रै रहेको उनी बताउँछन् । ‘महायान र वज्रयानको अभ्यास र साधना संस्कृत भाषामा नेपालमा मात्र हुने गरेको छ, त्यही भएर पनि विदेशी विद्वानहरुको नेवार बौद्ध धर्मप्रति चासो बढेको छ,’ उनी भन्छन् । बौद्ध दर्शन र साधना वैज्ञानिक भएकाले पश्चिमी मुलुकका न्युरो वैज्ञानिकहरु यसप्रति आकर्षित हुँदै गएका उनको धारणा छ ।

बौद्ध धर्म–दर्शन, तन्त्र, विपस्सना ध्यान साधना, महामारीमा बौद्ध शिक्षालगायत विभिन्न विषयमा प्रा.डा. वज्राचार्यसँग दृश्य टिभीले गरेको कुराकानी ।

 

 

 

प्रतिक्रिया