काठमाडौं क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार सन्तोष प्रधान चौधरीले वैदिक सनातन धर्मद्वारा नियन्त्रित राजसंस्था आवश्यक रहेको बताएका छन् । उक्त राजसंस्था लोकतान्त्रिक शासन प्रणालीअन्तर्गत नै रहने र जनचाहना तथा भावनाअनुसार चल्ने उनको भनाइ छ ।

‘मैले भन्न खोजेको राजतन्त्र नर्वे वा डेनमार्कको जस्तो आलंकारिक हुन सक्छ, जसले लोकतान्त्रिक व्यवस्थाको परिधिमै रहेर जनताको हितलाई सर्वोपरी ठान्दछ ।’ मुलुक संघीय संरचना गए पनि आर्थिक कारणले गर्दा प्रदेशको संरचनालाई धान्न मुस्किल हुने उनको धारणा छ । त्यही भएर पनि अहिलेको संघीय संरचना मुलुकको विकास र समुन्नतिका लागि बाधक बन्ने उनको भनाइ छ ।

‘मुलुक गणतन्त्रमा गएपछि कुन अवस्थामा पुगेको छ भन्ने हामीले देखेका छौं, प्रमुख राजनीतिक दलका नेताहरुको क्रियाकलाप पनि हामीले हेर्दै आएका छौं । त्यही भएर पनि गणतान्त्रिक व्यवस्थाभन्दा राजसंस्थाको अभिभावकीय भूमिका रहने प्रजातान्त्रिक व्यवस्था मुलुकका लागि सुहाउँदिलो हुन्छ,’ उनी भन्छन् ।

काठमाडौं क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमालेका नेता डा. राजन भट्टराई उम्मेदवार बन्ने निश्चित भएको छ । यसपालि काठमाडौं–४ का मतदाताले पटक–पटक निर्वाचित भएर जनताका लागि केही काम गर्न नसकेका गगन थापाको साटो युवा अनुहारलाई संसद्मा पठाउने चौधरीको विचार छ ।

चुनावमा स्वतन्त्र उम्मेदवारका रुपमा आफू विजयी हुने र यसपटक आफ्नो प्रतिस्पर्धा गगनसँग होइन, राजन भट्टराईसँग हुने उनको दाबी छ । आफू निर्वाचित भएमा कपनको बाढी समस्या तीन वर्षभित्र समाधान गर्ने उनले बताए । ‘तीन पटकसम्म यस क्षेत्रबाट सांसद बन्दा गगन थापाले कपनको बाढी समस्या समाधान गर्न सकेनन्, अब कुन मुखले भोट माग्न आउँछन् ?’ उनी प्रतिप्रश्न गर्छन् ।

काठमाडौं–४ का स्वतन्त्र उम्मेदवार चौधरीसँग स्वतन्त्रको हैसियतमा चुनावी अभियान, एजेन्डा र समसामयिक राजनीतिक विषयमा गरिएको कुराकानी ।

प्रतिक्रिया