रवि लामिछानेको पार्टीसँग चुनावमा सहकार्य हुन्छ : डा. प्रणय राणा

काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका डा. प्रणय शमशेर राणाले रवि लामिछानेको नेपाल स्वतन्त्र पार्टीसँग चुनावमा सहकार्य हुने बताएका छन् । ‘रविजीसँग पहिलेदेखि नै सहकार्यका विषयमा कुराकानी हुँदै आएको र नेपाल स्वतन्त्र पार्टीको घन्टी चिन्हबाट चुनावमा उठ्ने निश्चित भइसकेको छ,’ उनले भने ।

सुमन सायमीको अगुवाइमा स्वतन्त्र उम्मेदवारहरुले सामूहिक रुपमा लौरो चुनाव चिन्ह लिने विषयमा चर्चा भइरहेका बेला डा. राणाले घन्टी चिन्हबाट उठ्ने निर्णय गरेका हुन् । आफू स्वतन्त्र हैसियतमा उम्मेदवार बन्ने र नेपाल स्वतन्त्र पार्टीको चुनाव चिन्ह मात्र प्रयोग गर्ने उनले स्पष्ट पारे ।

माओवादी द्वन्द्वकालमा नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्ट भएर सात वर्ष काम गरेका राणाले अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा पिएचडी गरेका छन् । अमेरिकाको जनस्वास्थ्य सम्बन्धी काम गर्ने संस्था सिडिसीमा सल्लाहकार भएर समेत उनले नीति निर्माणको तहमा काम गरिसकेका छन् ।

कोभिड महामारीका बेला नेपाल फर्किएका उनले मुुलुकका विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । महामारीकै बेला नेपालमा सहज रुपमा अमेरिकाबाट भ्याक्सिन ल्याउन पहल गर्ने व्यक्तिहरुमध्ये उनी पनि एक हुन् । काठमाडौं क्षेत्र नं ५ बाट एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निश्चित भएको छ ।

मुलुकका प्रमुख राजनीतिक दलहरुले डेलिभरी दिन नसकेकाले यसपालि स्वतन्त्र उम्मेदवारहरुले संसदमा ‘इन्ट्री’ गर्ने उनको भनाइ छ । दलहरुले गर्दा मुलुकमा भ्रष्टाचार र कुशासन बढेकाले यसपालि जनताले ब्यालेटबाट योग्य र सक्षम उम्मेदवार छान्ने उनको धारणा छ ।

‘नागरिकहरुले यथास्थिति होइन, परिवर्तन खोजेका छन्, उनीहरुको चाहना प्रतिबिम्बित हुने गरी काम गर्न स्वतन्त्र उम्मेदवारी दिएको हुँ । जनताले मलाई विजयी गराउनु हुनेछ भन्ने विश्वास छ,’ बूढानीलकण्ठका स्थायी बासिन्दा रहेका उनी भन्छन् । सिमा सुरक्षा, जनस्वास्थ्य सुदृढीकरण र सडक व्यवस्थापनलाई आफूले प्रमुख चुनावी एजेन्डा बनाएको राणाको भनाइ छ ।

‘सिमा सुरक्षामा आधुनिक प्रविधि उपयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ । त्यही भएर ड्रोनको उपयोग गरेर सिमा क्षेत्रको निगरानी गरिनुपर्छ भन्ने मेरो एजेन्डा छ । जनस्वास्थ्य सुदृढीकरणलाई केन्द्रमा राखेर काम गर्नेछु,’ उनी भन्छन् ।

आफू विचारको राजनीति गर्न आएको दाबी गर्ने र आफूले चुनाव जितेमा जनताको सेवक भएर काम गर्ने विचार राख्ने डा. राणासँग दृश्य टिभीले स्वतन्त्र उम्मेदवारी, चुनावी अभियान, चुनावी एजेन्डा र समसामयिक राजनीतिबारे गरेको कुराकानी ।

 

 

#drishyatv

प्रतिक्रिया