प्रधानमन्त्री जस्तो व्यक्तिले ३ सय दिन विश्वविद्यालय बन्द गरेको देश हो यो: डा. सचिन घिमिरे

मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिकलगायत विभिन्न क्षेत्रमा विकृति र विसंगतिले पराकाष्ठा नाघेको मानवशास्त्री एवं ललितपुर क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार डा. सचिन घिमिरेले बताएका छन् ।

जेएनयुबाट चिकित्सा मानवशास्त्रमा पिएचडी गरेका घिमिरे लेक्चरर, वृत्तचित्र निर्माता, अनुसन्धाता र परामर्शदाताका रुपमा समेत परिचित रहेका छन् ।

‘प्रधानमन्त्री जस्तो व्यक्तिले ३ सय दिन विश्वविद्यालय बन्द गरेको देश हो यो । अनि, मुलुकमा सुशासन आउन सक्छ ?,’ उनी प्रतिप्रश्न गर्छन् । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तालाबन्दीले गर्दा एक वर्षदेखि त्रिभुवन विश्वविद्यालयको कामकारबाही प्रभावित हुँदै आएको छ ।

ललितपुर क्षेत्र नम्बर १ का स्थायी बासिन्दा रहेका घिमिरेले आफ्नो स्वतन्त्र उम्मेदवारी प्रतिरोध आन्दोलन रहेको जनाएका छन् । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि दलहरुले राज्यको स्रोतको दोहन गरी खुलेआम मुलुकमा अनियमितता र भ्रष्टाचारलाई बढावा दिएको उनको दाबी छ ।

ललितपुर क्षेत्र नं १ विकासका दृष्टिले अझै पनि बत्तीमुनिको अँध्यारोजस्तै अवस्थामा रहेको उनको धारणा छ । ‘विगतमा कांग्रेस, एमालेका नेताहरु यो क्षेत्रबाट आलोपालो निर्वाचित भए पनि यहाँको विकास र समृद्धिका लागि कुनै पनि उल्लेखनीय काम हुन सकेन ।

दलहरु नाम मात्रका भए, उनीहरुले खाली अराजकतालाई महत्व दिए,’ घिमिरे भन्छन् । लोकतान्त्रिक व्यवस्थामा दलहरु उत्तरदायी, जिम्मेवार र जनपक्षीय हुनुपर्नेमा त्यहाँभित्र बेथिति चुलिएको उनको भनाइ छ ।‘आखिरमा दलहरु सच्चिनैपर्छ, उनीहरु जवाफदेही बन्नैपर्छ, जनतालाई सुशासन दिनैपर्छ, मेरो उम्मेदवारी पनि त्यही दबाबकै लागि हो,’ उनी भन्छन् ।

आफू सामाजिक अनुसन्धाता रहेकाले त्यस क्षेत्रको सामाजिक, राजनीतिक, आर्थिक, जातीय उत्पीडनलगायत समस्यालाई मिहिन ढंगले विश्लेषण गर्दै आएको र त्यसको समाधानका लागि स्पष्ट कार्ययोजना रहेकाले यसपालि जनताले आफ्नो पक्षमा अभिमत प्रकट गर्नेमा उनी विश्वस्त छन् ।

ललितपुर क्षेत्र नं १ को सामाजिक र आर्थिक पाटा, स्वतन्त्र उम्मेदवारी, चुनावी अभियान र समसामयिक राजनीतिबारे डा. घिमिरेसँग दृश्य टिभीले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

 

 

 

प्रतिक्रिया