पछिल्लो समय नसा च्यापिने समस्या घरघरको समस्या बन्दै गएको छ । समयमै उपचार भएको खण्डमा यो समस्या निराकरण हुने विज्ञहरुको धारणा रहेको छ । नसा च्यापिने समस्याको एलोपेथिक, अकुपंचर, अकुप्रेसर, फिजियोथेरापीलगायत विभिन्न विधिहरुबाट उपचार गरिँदै आएको पाइन्छ ।

नसा च्यापिने समस्या देखिँदा शल्यक्रिया गर्नुपर्छ कि फिजियोथेरापी वा अन्य विधिहरुबाट निको हुन्छ भन्ने विषयमा बिरामीहरुमा अन्योल रहेको पाइन्छ । अकुपंचरिष्ट एवं काठमाडौंको मिनभवनस्थित सुस्वास्थ अस्पतालका अध्यक्ष सुदर्शन बस्नेत करिब ८५ प्रतिशत नसा च्यापिने समस्यामा शल्यक्रिया गर्नुनपर्ने धारणा राख्छन् । ‘अधिकांश नसा च्यापिने समस्या भएका बिरामीहरु फिजियोथेरापी, अकुपंचर, अकुप्रेसरलगायत विधिहरुबाट उपचार गरेपछि ठिक हुने गरेका छन्,’ उनी भन्छन् । अत्यन्त गम्भीर प्रकृतिका समस्यामा मात्र शल्यक्रिया गरिनु उपयुक्त हुने उनको सुझाव छ ।

बस्नेतका अनुसार घाँटी र कम्मरको नसा च्यापिने समस्याले सम्पूर्ण शरीरमा असर पर्ने भएकाले बेलैमा सावधानी अपनाएर उचित उपचार सुरुआत गर्नुपर्छ । नसासम्बन्धी समस्या देखिएमा विज्ञहरुसँग परामर्श लिएर तोकिएको अवधिसम्म उपचार जारी राख्नुपर्ने उनको सुझाव छ । नसा च्यापिने समस्या देखिनेबित्तिकै जथाभावी शल्यक्रिया गर्ने प्रवृत्तिले विभिन्न व्यक्तिहरुमा स्वास्थ्य समस्या सिर्जना गरेको उनको धारणा छ ।

तौरतरिका नमिलाइकन गरिने शारीरिक व्यायामहरुले पनि स्वास्थ्य समस्या ल्याउने बस्नेतको भनाइ छ । ‘त्यही भएर विशेषज्ञहरुको सरसल्लाह र निगरानीमा उपचार पद्धति सुरु गर्नुपर्छ । जथाभावी उपचार गर्दा विभिन्न जटिलता आउन सक्छन्,’ बस्नेत भन्छन् । हरेक व्यक्तिले जागरुक भएर उठबस गर्ने तौरतरिका, खानपान, जीवनशैली आदिमा ध्यान दिन सकेमा यस्ता स्वास्थ्य समस्याबाट मुक्ति पाउन सकिने उनको सल्लाह छ ।

अकुपंचरिष्ट बस्नेतले दृश्य टिभीमार्फत् नसा च्यापिने समस्या, यसका लक्षण तथा प्रकार, नसा च्यापिने रोगमा गरिने उपचार विधिहरु, नसा च्यापिने समस्या र शल्यक्रिया, नसा च्यापिने समस्यामा बिरामीले पालना अपनाउनुपर्ने आदत र जीवनशैली आदिबारे आफ्ना अनुभव र सल्लाह दिएका छन् ।

 

प्रतिक्रिया