२०७० साल जेठ ५ गतेबाट बागमती सरसफाइ महाअभियान सुरु भएको हो । त्यसयता यो महाअभियानले ४ सय ८५ हप्ता पूरा गरिसकेको छ । कोभिड महामारीका बेलामा केही हप्तालाई छाडेर निरन्तर रुपमा यो सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ । सामाजिक अभियन्ता शाही पनि सुरुको दिनदेखि हालसम्म निरन्तर बागमती सरसफाइ महाअभियानमा जोडिएर क्रियाशील रहँदै आएका छन् ।

यो सरसफाइ महाअभियान नागरिकस्तरबाट स्वयंसेवाको भावनाले सञ्चालन रहँदै आएको र कसैबाट पनि रकम नलिइएको शाही बताउँछन् । तथापि, सरसफाइका लागि चाहिने बुट, पन्जा, डोको, बेल्चालगायत सामग्री भने विभिन्न व्यक्ति र संघसंस्थाले सहयोग गर्दै आएका उनको भनाइ छ । महाअभियान सुरुका दिनमा गायत्री परिवारलगायत विभिन्न संघसंस्थाहरुको सक्रिय सहभागिताले बागमती सरसफाइ अभियानलाई ठूलो टेवा पुगेको शाहीले बताए । १० वर्षको अवधिमा बागमती नदीबाट हजारौं टन फोहोर निकालिएको छ ।

बागमती नदीमा फोहोर फ्याँकने र ढल मिसाउने प्रवृत्ति अन्त्य नहुँदा सरसफाइ अभियानबाट सोचेअनुरुप नतिजा हासिल गर्न नसकिएको उनको अनुभव छ । सरकारद्वारा गठित अधिकारसम्पन्न बागमती समिति तथा आमनागरिक सचेतताका साथ अगाडि बढेमा मात्र नदीलाई पूर्ण रुपमा सफा बनाउन सकिने शाहीको विचार छ ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन विकराल समस्या बन्दै गएकाले हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्याउने नियमलाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने उनको सुझाव छ । यसका लागि काठमाडौं महानगरपालिकाले हरेक वडामा एकाइ बनाएर फोहोर व्यवस्थापनलाई अभियानकै रुपमा सञ्चालन गरिनुपर्ने शाहीको धारणा छ ।

बागमती सरसफाइ अभियानका अभियन्ता शाही आध्यात्मिक व्यक्तिसमेत हुन् । उनी लामो समयदेखि जैन पद्धतिमा आधारित प्रेक्षा ध्यानको अभ्याससमेत गर्दै आएका छन् । योग, ध्यान र आध्यात्मिक जीवनशैलीको अभ्यासले मात्र समाजमा नैतिक मूल्य–मान्यता स्थापित गर्न सकिने शाहीको अनुभव छ । सिभिल इन्जिनियरका रुपमा राष्ट्रिय खेलकुद परिषद्मा अढाइ दशकभन्दा बढी समय व्यतीत गरेका शाही पछिल्लो समय पूर्णतः सामाजिक सेवामै समर्पित छन् ।

बागमती सरसफाइ महाअभियान, योग–ध्यान र आध्यात्मिक जीवनशैलीबारे शाहीले दृश्य टिभीसँग आफ्ना अनुभव बाँडेका छन् ।

प्रतिक्रिया