हाइड्रोजन युगमा प्रवेश

काठमाडौं। जर्मनीमा हाइड्रोजन इन्धनबाट सञ्चालित पहिलो रेल सेवाको सुरुवात भएको छ। विश्वमा यो पहिलो वातावरण मैत्री रेल सेवा हो। यो रेल सेवाको सुरुवात गर्न जर्मनीले निकै ठूलो अफ्ठेरो परिस्थितिको सामना गर्नुपरेको थियो। तर, उसले अन्ततः यसलाई सफल तुल्याइ छोड्यो। 

फ्रेञ्च कम्पनी एल्सटोमले उपलब्ध गराएको १४ वटा रेलमार्फत जर्मनीको ग्रामीण क्षेत्रबाट यसको सुरुवात गरिएको हो। हेन्सबर्ग नजिकै कुक्सहाफेनबाट ब्रेमरहाफेन, ब्रेमरफोएर्डे र बुक्सटेहुडेसम्म सय किलोमिटर लामो रेल लाइनमा अब हाइड्रोजनबाट दौडिने रेलको मात्र सुविधा प्राप्त हुनेछ। 

एल्सटोमका सीइओ हेनर पोरास लाफार्जले रेल सेवा सुरुवात भएको अवसरमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘बलियो सहयोगीसँग यस्तो टेक्नोलोजीको प्रयोग विश्वमा पहिलो पल्ट गर्न पाउँदा हामीलाई गर्व महसुस भएको छ।’

यसरी चल्छ, हाइड्रोजन रेल

हाइड्रोजन रेलको सहयोगले रेल क्षेत्रलाई कार्बनरहित बनाउने अभियानमा ठूलो सहयोग प्राप्त हुने आशा गरिएको छ। यसको सहयोगले जलवायु प्रदूषित गर्ने डिजल इन्धनबाट मुक्ति पाइने छ। जर्मनीमा अहिले पनि २० प्रतिशत यात्रा डिजल इन्धनको सहयोगले हुने गर्छ। भेइकलमा शुन्य उत्सर्जन मानिने हाइड्रोजन रेलले हावामा पाइने अक्सिजनलाई छतमाथि भएको फ्युल सेलको सहयोगले हाइड्रोजनसँग घुलमिल गराउने काम गर्छ। यो प्रक्रियाबाट उत्पादन हुने बिजुलीले रेलको इन्जिनलाई चलयमान बनाउने गर्छ। 

hydrogen trains1

क्षेत्रीय रेल सञ्चालन एलएनजीवीका अनुसार हाइड्रोजन रेलको निर्माणका लागि ९ करोड ३० लाख युरो खर्च भएको छ। यसको सहयोगले हरेक वर्ष वातावरण दूर्षित बनाउने ४ हजार ४ सय टन कार्बन डाईअक्साइडलाई रोक्ने छ। 

दक्षिण फ्रान्सको शहर टारबेमा डिजाइन भएको तथा मध्य जर्मनीको साल्जगिटरमा एसेम्बल गरिएको यो रेल ‘कोराडिया आइलिन्ट’ को नामले चिनिने छ। एल्सटोमका अनुसार यो परियोजनाले दुवै देशका ८० जनालाई रोजगारीको अवसर प्रदान गरेको छ। 

हाइड्रोजनबाट रेल सञ्चालन गर्ने अभियानको सुरुवात २०१८ देखि नै भएको थियो। तर, पूर्ण रूपमा सफल हुन्, ४ वर्ष लागेको हो। फ्रेञ्च कम्पनीले जर्मनी, फ्रान्स र इटालीका रेल कम्पनीसँग ४ वटा करारपत्रमा हस्ताक्षर गरिसकेको छ। भविस्यमा हाइड्रोजनयुक्त रेल सेवाको माग उच्च हुने आशा कम्पनीले गरेको छ। एल्सटोमका प्रोजेक्ट मेनेजर स्टेफन श्राङ्क भन्छन्, ‘जर्मनीमा मात्र २५ सयदेखि ३ हजारको संख्यामा रेललाई हाइड्रोजनयुक्त बनाउने योजना छ। २०३५ सम्म युरोपेली बजारमा १५–२० प्रतिशत क्षेत्रीय रेल हाइड्रोजन इन्धनको सहयोगले चल्ने लक्ष्य राखिएको छ।’ 

छोटो दुरीको क्षेत्रीय रेल सेवाका लागि हाइड्रोजनयुक्त रेल विशेष रूपले फाइदाजनक हुनेछ। यस्तो ठाउँमा डिजलबाट चल्ने रेललाई बिजुलीमा परिवर्तन गर्दा फाइदाको अनुपात धेरै हुने गर्छ। 
–एएफपी

प्रतिक्रिया