काठमाडौं। नेपाली कांग्रेसका नेता केशब कुमार बुढाथोकीको आत्मसंस्मरणात्मक कृति ‘आफ्नो आफ्नो सगरमाथा’ सार्वजनिक भएको छ।

शिक्षाआर्जनको प्रारम्भिक अवस्था हुँदै पुरै विद्यार्थी जीवनको रोचक वर्णन गरिएको यो कृतिमा राजनीतिक करिअरमा भएका आफ्ना व्यक्तिगत त्रुटी, कमीकमजोरीलाई नेता बुढाथोकीले जस्ताको तस्तै उल्लेख गरेका छन्। राजनीतिक रुपमा निकै उतारचढाव सामना गरेका बुढाथोकीले अन्याय, थिचोमिचोमा परेका नागरिकका पक्षमा ठूला जोखिम पनि मोलेर संघर्ष गरेका कैयौं घटनालाई पनि समेटेका छन् पुस्तकमा।

शनिबार काठमाडौंमा आयोजित ठूलै समारोहमा केशबकुमार बुढाथोकीको यो कृति सार्वजनिक भएको हो। साहित्यकार कृष्ण धरावासीले सम्पादन गरेका यो कृतिले राजनीतिक मानिसहरुमा इमान्दारिता कतिसम्म हुनआवश्यक छ भन्ने कुरा यो संस्मरणबाट प्रेरणा लिन सकिने भनेर वक्ताहरुले चर्चा गरेका थिए।

कार्यक्रममा सरिक भएका वरिष्ठ पत्रकार युवराज गौतमले पुस्तक पढिसकेर यस्तो टिप्पणी लेखेका छन्( २०७९ भदौ ४ गते कवि वैरागी काँइलाले लोकार्पण गर्नुभएको पुस्तक ‘आफ्नो आफ्नो सगरमाथा’ कार्यक्रमस्थलबाट किनेर ल्याएँ। राति ३ घण्टा पढेँ । विहान पनि पढेर सिध्याएँ, जम्मा ५ घण्टामा झण्डै ३०० पृष्ठ।

दार्जिलिङमा राजा वीरेन्द्रसंग पढ्नु भएका उहाँका बालसखा केशवकुमार बुढाथोकीले कतै झुटो बोल्नुभएको छैन। कैयौं मान्छे कुटेको, कलेजमा प्राध्यापकको दाँत झारेको, केटाकेटी छँदा उपद्रो गरेकोदेखि लिएर दामोदर शमशेरसमेतलाई झपारेका रोचक प्रसंग छन्।

२०१७ र १८ सालतिर दार्जिलिङमा मामा केबी भट्टराईको घरमा लगेर तिहारको विदामा आलुदम, सेलरोटी, धुलो अचार खुवाएको प्रशंगमा बुढाथोकीले लेख्नुभएको छ, वीरेन्द्र जुन बाकसमाथि बसेर सेलरोटी खाँदै थिए, त्यो बाकसमा नेपालमा राजाविरुद्ध क्रान्ति गर्न भेला पारिएका हतियार रहेछन्।

पुस्तकमा बीपीले बैंक लुटेर नेपाली काँग्रेसलाई धन जम्मा गर्ने योजना बनाउने जिम्मेवारी आफूलाई दिएको तर विराटनगरमा विमान अपहरण गरेर भारत लगिएको कुरा रेडियो नेपाल सुनेर थाहा पाएको लेख्नुभएको छ।

पुस्तकमा सयौं पात्रको नाम छ। झापा बुधबारेका प्रधानपंच मेघनाथ ढकाल, शनिश्चरेका हेडमास्टर मोहन जोशी, हरिविलास बन, इलामका भगवतीदास श्रेष्ठदेखि चेस्मे साइँला आदिका नाम सम्झनुभएको छ, लेखकले।

आत्मवृत्तान्तमा धेरैले कमजोरी लुकाएको, बढाईचढाई गरेको पाइन्छ। बुढाथोकीले इमानदारीसाथ ७६ बर्षको उमेरसम्म भोगेको र देखेका धेरै कुरा बोल्नुभएको छ।

धन्यवाद छ, कुमार दाइ। पुस्तकले तपाईंको उचाइ अरु थपिएको छ।

प्रतिक्रिया