अमेरिकामा कार्यरत नेपाली वैज्ञानिक डा. नवीन मालाकारले अमेरिकी अन्तरिक्ष संस्था नासामा काम गर्दा अविस्मरणीय अनुभव हासिल गरेको बताएका छन् । उनले सन् २०१४ देखि सन् २०१७ सम्म नासाको जेट प्रपल्स ल्याबमा पृथ्वीको तापमानसम्बन्धी अनुसन्धान गरेका थिए । ‘विश्वकै प्रतिष्ठित वैज्ञानिक संस्था नासामा अनुसन्धाता भएर काम गर्दा म एकदमै उत्साहित थिएँ । त्यहाँ केही गरेर देखाउनुपर्छ, के सिक्नुपर्छ भन्ने हुटहुटी मनभित्र रहेको थियो,’ उनी भन्छन् ।

नवीनले पृथ्वीको तापमान नाप्ने नयाँ गणितीय ‘एल्गोरिदम’ तयार पारेपछि वैज्ञानिक जगतमा उनको चर्चा बढेको थियो । यस कामका लागि उनले पृथ्वीका चार भूउपग्रहको २० वर्षदेखिको तथ्यांक विश्लेषण गरी तापमान नाप्नका लागि नयाँ विधि पत्ता लगाएका थिए । यो विधि पत्ता लागिसकेपछि अब एउटै गणितिय विधिअनुसार विश्वका विभिन्न स्थानको ताप नाप्न सकिने डा. नवीन बताउँछन् । योभन्दा पहिले पृथ्वीको तापमान सम्बन्धी अध्ययन–अनुसन्धान गर्दा अप्टिकल तथ्यांक मात्र उपलब्ध हुन्थ्यो ।

सन् २०११ मा न्युयोर्कस्थित सुली अल्बानी युनिभर्सिटीबाट कम्प्युटेसनल फिजिक्समा पिएचडी गरेका नवीन पृथ्वीको तापमान अर्थात् ज्वरो नाप्ने अनुसन्धानमा त्यसयता निरन्तर लागि परेका छन् । उनले सन् २००३ मा त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र विभागबाट ‘ब्ल्याक होल’सम्बन्धी अनुसन्धानमा एमएस्सी गरेका हुन् । उनी अहिले उस्टर स्टेट युनिभर्सिटी, म्यासाचुसेट्सको अर्थ, इन्भारोमेन्ट एन्ड फिजिक्स विभागमा असिस्टेन्ट प्रोफेसरका रुपमा अध्यापन तथा अनुसन्धान गर्दै आएका छन् ।

आफूले प्रतिपादन गरेको पृथ्वीको तापमान नाप्ने विधि जलवायु परिवर्तन, विपद्, कृषि बालीविज्ञान आदिका लागि उपयोगी हुने उनको धारणा छ । पछिल्लो समय उनी नेपालको विभिन्न क्षेत्रमा जलवायु परिवर्तन र तापमान वृद्घिसम्बन्धी अनुसन्धान गरिरहेका छन् । अनुसन्धान पूरा गरेर यसको नतिजा सार्वजनिक गर्न अझै केही समय लाग्ने उनको भनाइ छ । वैज्ञानिक अनुसन्धान, विज्ञान लेखन र भावी योजनामा केन्द्रित रहेर डा. नवीनसँग दृश्य टिभीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया