नेपाली–अमेरिकी रिमोट सेन्सिङ वैज्ञानिक तथा लेखक डा. चन्द्र गिरीले आफूले अमेरिकी सरकारी निकायमा वैज्ञानिक भएर काम गर्छु भन्ने कहिल्यै नसोचेको बताएका छन् । ‘सामान्य परिवारमा खोटाङको दुर्गम गाउँमा जन्मिएँ । झापामा बाल्यकाल र स्कुले जीवनपछि काठमाडौंमा कलेज तथा जागिरे जीवन बित्यो,’ उनी सम्झिन्छन्, ‘कलेज पढुन्जेल अमेरिका गएर उच्च तहमा जागिर खाउँला भन्ने कहिल्यै सोचिएन ।’ आफूले राम्रो शिक्षण संस्थामा अध्ययन गर्न पाएकै कारण अहिलेको स्थानमा आउन सफल भएको उनको भनाइ छ ।

खोटाङमा आधारभूत शिक्षा लिएका उनले झापाको धुलाबारीबाट एसएलसी उत्तीर्ण गरेका हुन् । त्रिभुवन विश्वविद्यालय वन विज्ञान संस्थानबाट फरेस्ट्रीमा बिएस्सी उत्तीर्ण गरेका उनले थाइल्यान्डको एआइटीबाट मास्टर्स र पिएचडी पूरा गरेका छन् । अहिले उनी अमेरिकी सरकारको इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सीमा वरिष्ठ वैज्ञानिक सल्लाहकारका रुपमा कार्यरत छन् । आफ्नो निरन्तर मेहनत र पाएको अवसरलाई सदुपयोग गरेकै कारण अहिलेको अवस्थामा आइपुगेको उनको धारणा छ ।

रिमोट सेन्सिङ र सेन्सर टेक्नालोजीमा विशेषज्ञता हासिल गरेका उनका विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरुमा ‘म्यान्ग्रोभ फरेस्ट’ सम्बन्धी विभिन्न अनुसन्धामूलक लेखहरुसमेत प्रकाशित रहेका छन् । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (युएसजिएस), कोलम्बिया युनिभर्सिटी, युनाइटेड नेसन्स एन्भारोमेन्टल प्रोग्राममा उनले वरिष्ठ वैज्ञानिकका रुपमा काम गरिसकेका छन् ।

२२ वर्षदेखि सपरिवार अमेरिकामा बस्दै आएका उनी पछिल्लो समय साहित्य सिर्जना खासगरी गीत, संस्मरण र निबन्ध लेखनमा क्रियाशील छन् । ‘मैले नदेखेको सपना’ शीर्षकमा उनको बायोग्राफी निकट भविष्यमा प्रकाशित हुँदैछ । डा. गिरीले खोटाङ, झापा, काठमाडौं, थाइल्यान्ड हुँदै अमेरिकासम्मको जीवनयात्रा, वैज्ञानिक अनुसन्धान, साहित्य सिर्जना आदिबारे दृश्य टिभीसँग आफ्नो अनुभव सेयर गरेका छन् ।

प्रतिक्रिया