बौद्ध गुरु छोग्याल रिम्पोछेले तनाव घटाउनका लागि ‘माइन्डफुलनेस’ ध्यान पद्घति उपयोगी विधि भएको बताएका छन् । माइन्डफुलनेस ध्यानमा ‘अवेरनेस’को अभ्यास गरिने भएकाले यो विधि विश्वभर लोकप्रिय बन्दै गएको उनको भनाइ छ ।

‘समता, विपस्सना ध्यान पद्घतिको अभ्यासले कुनै पनि व्यक्तिमा शान्त स्वभाव विकास हुन्छ । लगातार रुपमा गरिने ‘माइन्डफुलनेस’ अभ्यासले जागरुकता बढ्दै जान्छ,’ रिम्पोछे भन्छन्, ‘पछिल्लो समय विश्वभर बढ्दै गएको तनाव घटाउनका लागि ‘माइन्डफुलनेस’ ध्यान पद्घतिले प्रभावकारी भूमिका खेल्दै गएको छ ।’ मानसिक तनाव व्यवस्थापनका लागि माइन्डफुलनेस अत्यधिक उपयोगी भएको तथ्य वैज्ञानिक अनुसन्धानबाट समेत पुष्टि भएको उनको भनाइ छ ।

अमेरिका, युरोपलगायत विभिन्न मुलुकमा पछिल्लो समयमा ‘माइन्डफुलनेस’ अभ्यासकर्ताको संख्या बढ्दै गएको छ । सन् सत्तरीको दशकदेखि जोन कब्बाट जिनले अमेरिकामा तनाव व्यवस्थापनका लागि ‘माइन्डफुलनेस’ ध्यान विधि सुरु गरेका थिए । अहिले जिनले सुरु गरेको ‘माइन्डफुलनेस बेस्ड स्ट्रेस रिडक्सन’ संसारभर लोकप्रिय बन्दै गएको रिम्पोछेको भनाइ छ । आजभन्दा ३७ वर्षअघि काठमाडौंको बौद्घमा जन्मिएका रिम्पोछेले सिक्किममा बौद्ध धर्म–दर्शनको आधारभूत शिक्षा र त्यसपछि कालेम्पोङबाट खेन्पो डिग्री हासिल गरेका छन् । उनले २० वर्ष बौद्घ शिक्षा, कैलाश मानसरोवरमा ध्यान–साधना र तिब्बती गुरुबाट वज्रयानको विशेष दीक्षा लिएका हुन् ।

विगत आठ वर्षअघिदेखि रिम्पोछेले मलेसिया, चीन, सिंगापुर, युरोपलगायत विभिन्न मुलुकमा वज्रयान ध्यान–साधना कक्षा सञ्चालन तथा बौद्घ धर्म–दर्शनको शिक्षा दिँदै आएका छन् । उनकै अगुवाइमा स्थापित बोधिसत्व इन एक्सनले विभिन्न सामाजिक कामसमेत गर्दै आएको छ भने बौद्ध शिक्षालाई सरलढंगले जनजनमा पु¥याउने उद्देश्यले रेपा नेपालसमेत स्थापना भएको छ ।

रिम्पोछेले दृश्य टिभीसँग आफ्नो बाल्यकाल, बौद्घ धर्मको शिक्षादीक्षा, माइन्डफुलनेस, वज्रयान पद्धति आदिबारे आफ्ना विचार सुनाएका छन् ।

प्रतिक्रिया