ज्योति केसी पहिलो नेपाली–अमेरिकी ‘एनालग एस्ट्रोनट’ बन्न सफल भएकी छन् । ‘लक्ड रुम’भित्र बन्द वातावरणमा दुई सातासम्म ‘स्पेस’ सम्बन्धी अनुसन्धान पूरा गरेपछि ‘एनालग एस्ट्रोनट’को प्रमाणपत्र प्रदान गरिन्छ ।

ज्योतिले पोल्यान्डस्थित लुनारेस रिसर्च सेन्टरमा सन् २०२२ मे २५ देखि दुई सातासम्म ‘एनालग एस्ट्रोनट’सम्बन्धी प्रयोगात्मक अभ्याससमेत गरेकी थिइन् । टोलीमा उनीलगायत पोल्यान्डका तीन र मेक्सिकोका एक गरी पाँचजना ‘क्रु मेम्बर’ रहेका थिए । ज्योतिलाई उक्त टोलीको कमान्डरको भूमिका दिइएको थियो ।

विगत साढे तीन वर्षदेखि अमेरिकी वायु सेनामा कार्यरत उनी युनिभर्सिटी अफ टेक्सस, अर्लिङटनमा एरोस्पेस र मेकानिकल इन्जिनियरिङमा मास्टर्स डिग्री गरिरहेकी छन् । दाङ, भालुवाङको मध्यमवर्गीय परिवारमा जन्मिएर गाउँमै विद्यालय शिक्षा र बुटवलबाट प्लस टु सिध्याएकी ज्योति विद्यालय तहमा पढ्दादेखि नै अन्तरिक्ष विज्ञानमा रुचि भएको बताउँछिन् । यो क्षेत्रमा लाग्न आफूलाई बुबाले उत्प्रेरित गरेको उनको भनाइ छ ।

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष–यात्री कल्पना चावलाको जीवनीबाट आफूलाई यो क्षेत्रमा अभिरुचि जागेको उनी बताउँछिन् । ‘एनालग एस्ट्रोनट’को उपाधि हात पारेपछि भविष्यमा अन्तरिक्ष–यात्री (एस्ट्रोनेट) बन्ने उनको सपना छ ।

प्रतिक्रिया