अब मनास्लु र आमादाब्लम हिमाल आरोहण गर्ने योजना छ : प्रीति भुसाल 


 सगरमाथा आरोही पहिलो नेपाली महिला चिकित्सक डा. प्रीति भुसालले यही वर्षको अक्टुबरदेखि नोभेम्बरभित्रमा मनास्लु र आमादाब्लम हिमाल आरोहण गर्ने बताएकी छन् । यही वर्ष मार्च १२ मा उनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी थिइन् । उनी र दुई शेर्पा गरी आरोहण दलमा तीन सदस्यहरु रहेका थिए ।
  
‘सगरमाथा आरोहणपछि मैले अन्य हिमाल चढ्ने योजना पहिल्यैदेखि बनाएका थिएँ । त्यसअनुसार यही वर्ष नै मनास्लु र आमादाब्लम हिमाल चढ्ने योजना बनाएको छु । आमादाब्लम प्राविधिक रुपले अलि अप्ठ्यारो हिमाल पनि हो,’ उनले दृश्य टिभीसँगको कुराकानीमा भनिन् । 

मनास्लु र आमादाब्लम हिमाल चढिसकेपछि चाहिँ पर्वतारोहण नगर्ने उनले सुनाइन् । आउँदो नोभेम्बरदेखि पर्वतारोहण नगर्ने र त्यसपछि भने उनले स्पोर्टस मेडिसिनमा मास्टर्स गर्ने योजना बनाएकी छन् । ‘स्पोटर्स मेडिसिनमा विशेषज्ञ डाक्टरको जरुरी छ, पर्वतारोहणपछि भने मलाई यो क्षेत्रप्रति झनै रुचि बढ्यो । त्यही भएर स्पोर्टस मेडिसिनमै एडी गर्ने सोच आएको हो,’ उनी भन्छिन् । नेपालमा अन्य विषय पढेर पछि तालिम लिएर स्पोर्टस मेडिसिनमा काम गर्ने एकाध डाक्टर भए पनि विशेषज्ञ डाक्टर नरहेको उनको भनाइ छ । 

कोभिड–१९ कै बेलामा आरोही पेम्बा दोर्जे शेर्पासँग भेट भएको र उहाँ एवं अन्य शेर्पाहरुको सल्लाह, सुझाव र उत्प्रेरणाले आरोहण सफल भएको उनी बताउँछिन् । गत वर्ष लोबुचे पिक आरोहण गरेकाले यसपटक सगरमाथा आरोहण गर्न सहज भएको उनको धारणा छ । 

सगरमाथा आरोहणका क्रममा सुखद र दुःखद दुवै खालका अनुभूति उनी संगाल्न पाइन् । ‘अप्ठ्यारो बाटो छिचोल्दा अनि लगातार हिँड्दा थकित भइयो, त्यस्तो बेलामा असहज महसुस भयो । तर, जब हिमालको नजिक पुग्थ्यौं, त्यति नै रोमाञ्चक अनुभूति हुन्थ्यो,’ उनी भन्छिन् । 

सगरमाथाको क्याम्प–४ ज्यादै फोहोर भएकाले त्यसको सरसफाइका लागि तुरुन्त तत्परता लिनुपर्ने उनको सुझाव छ । उनका अनुसार क्याम्प–४ मा वर्षौदेखिका पुराना लुगा, टेन्ट, प्लास्टिकजन्य वस्तु थुप्रिएकाले फोहोरको डंगुर देखिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण केन्द्रको नियमन र रेखदेखले अन्य क्याम्पहरुमा त्यति फोहोर नभएको उनले बताइन् । क्याम्प–४ को फोहोर सफाइका लागि सरकारी निकाय, संस्था, आरोहीलगायत सबैबीच सहकार्य हुनुपर्ने उनको धारणा छ । 

काठमाडौंको ग्रान्डी अस्पतालमा मेडिकल अफिसरका रुपमा कार्यरत डा. भुसालले भविष्यमा आफ्नो चिकित्सा पेशा र पर्वतारोहण प्रशिक्षणलाई सँगै अगाडि बढाउने सोच बनाएकी छन् । हिमालयन सेफर्ड इको टुरिज्म नामक कम्पनी दर्ता गरेर उनले त्यसमार्फत् पनि काम गर्दै आएकी छन् । 

कोभिड–१९ मा दिवगंत भएका विश्वभरका चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति सम्मान,  जलवायु परिवर्तनले पारेको जनस्वास्थ्यमा असर र हिमालमा प्रदूषण रोकौं भन्ने नारासहित उनले सगरमाथा आरोहण गरेकी हुन् । आरोहणमा आफूलाई आर्थिक रुपले सघाउने ग्रान्डी इनटरनेसनल हस्पिटल, सेभ द चिल्ड्रेन, केजिएच ग्रुप, विश्व स्वास्थ्य संगठनलगायत संस्थाप्रति उनी आभार व्यक्त गर्न चाहन्छिन् । सगरमाथा आरोहणको आफ्नो अनुभूति र जलवायु परिवर्तनले एभरेस्ट क्षेत्रमा पारेको असरबारे उनले अनुभव सेयर गरेकी छन् । हेरौ–पूरा भिडियो ।  
 


 

प्रतिक्रिया