जलवायु अभियन्ता प्रकृति कोइरालाले जलवायु परिवर्तनका कारण सिर्जित समस्याहरुसँग जुध्न युवाहरु अग्रपंक्तिमा आउनुपर्ने धारणा राखेकी छन् । जलवायु परिवर्तन सबैको मुद्दा भएकाले समाधानका उपायहरु खोजी गर्न युवालगायत समाजका तमाम पक्षको उत्तिकै सहकार्य र समन्वय जरुरी रहेको उनको भनाइ छ । ‘हामीकहाँ जलवायु परिवर्तनबारे स्पष्ट बुझाइको कमी छ । सरकारको स्पष्ट नीति र नागरिक सचेतनाबिना जलवायु परिवर्तनजन्इ समस्याको समाधानको स्पष्ट खाका पहिल्याउन गाह्रो हुन्छ । यसका लागि युवाहरुलाई सँगै लिएर अगाडि बढ्नुपर्छ,’ दृष्टि टिभीसँग कुराकानी गर्दै कोइरालाले भनिन् ।

युवाहरु भन्नेबित्तिकै खाली सहरी क्षेत्रका सम्भ्रान्त परिवारलाई केन्द्रित गरिएको उल्लेख गर्दै उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै युवाहरुलाई जलवायु परिवर्तनजन्य समस्याबारे प्रशिक्षित गर्नुपर्ने विचार राखिन् । बेलायतको ग्लास्कोमा गत वर्ष सम्पन्न भएको पक्षधर राष्ट्रहरुको २६ औं संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप २६) मा सहभागी भइसकेकी प्रकृति आगामी नोभेम्बरमा इजिप्टमा हुन गइरहेको कोप २७ मा सहभागिताका लागि आवश्यक तयारी गरिरहेकी छन् ।

युवा क्लाइमेट नेगोसिएटरका रुपमा नेपालको जलवायु परिवर्तन सम्बन्धी मुद्दालाई कसरी कोप २७ जस्तो वृहत् अन्तर्राष्ट्रिय मञ्चमा कसरी उठान गर्ने तयारीमा छिन् । त्यसका लागि उनले सरकारी अधिकारी, जलवायु वैज्ञानिक, प्राध्यापक, युवा, विद्यार्थी आदिसँग आवश्यक छलफल गरिरहेकी छन् । प्रकृतिले त्रिभुवन विश्वविद्यालय, वातावरण विज्ञान केन्द्रीय विभागबाट मास्टर्स डिग्रीको पढाइ पूरा गरेकी छन् ।

आगामी कोप २७ मा नेपाल सरकारले चुस्त तयारी गरेर जलवायु परिवर्तनका मुद्दालाई सशक्त ढंगले उठाउनुपर्ने उनको सुझाव छ । जलवायु परिवर्तनमा नेपालको स्ट्यान्ड, ग्रीन क्लाइमेट फन्ड, जलवायु परिवर्तनजन्य ‘लस एन्ड ड्यामेज’लगायत विभिन्न विषयमा केन्द्रित रहेर दृश्य टिभीका लागि लुना थापाले जलवायु अभियन्ता कोइरालासँग कुराकानी गरेकी छन् । हेरौं– पूरा भिडियो ।

प्रतिक्रिया