करिअरको अन्त्यतिर उदाउँदै गरेका क्रिकेटर कार्तिक

काठमाडौं– क्रिकेटको केही रेकर्डलाई हेर्दा समर्थकको मनमा प्रश्न उठ्छ– यो साँच्चिकै हो र? शुक्रबार यस्तै भयो। शुक्रबार त्यस्ता दुईवटा रेकर्ड बने, जसलाई पत्याउन निक्कै गाह्रो थियो। सबैभन्दा पहिले एम्स्टेलभिनमा भएको एकदिवसीय खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध करिब ५ सय रन बनाएको थियो। त्यसपछि राजकोटमा दिनेश कार्तिकले १५ वर्षअघि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेपछि पहिलो अर्धशतक।

कार्तिकको डेब्यू खेल भारतको पहिलो टी–२० अन्तर्राष्ट्रिय थियो र उनी फरक पुस्तासँग खेलिरहेका थिए। उक्त खेलमा भारतविरुद्ध मैदान उत्रिएका विपक्षी टोलीका कप्तान ग्रिम स्मिथले शुक्रबार भारत र दक्षिण अफ्रिकाबीचको खेलमा कमेन्ट्री गरिरहेका थिए। तर, यति लामो करिअरमा कार्तिकले ३४ टी–२० आई खेल मात्र खेल्ने मौका पाए। २०१०–२०१७ बीचको ७ वर्षमा उनले भारतको लागि एउटा पनि टी–२० आई खेल खेलेका थिएनन्।

भारतीय टोलीबाट उनलाई निकालिनुका कारण महेन्द्र सिंह धोनी मानिन्छन्। कार्तिक भारतीय टोलीका दोस्रो नम्बरका विकेटकिपर हुन्। त्यो समय धोनी किपिङ र ब्याटिङमा उदाइरहेका थिए। त्यसमाथि उनलाई एक आरोप लाग्थ्यो– कार्तिक ब्याट्सम्यानकारूपमा टोलीमा खेल्न योग्य छैनन्। 

तर, अहिले ढाँचा फेरिएको छ र सुपर स्पेसलिस्ट खेलाडीका लागि अवसर नै हो। पछिल्ला केही महिनाहरूमा कार्तिक फिनिसरको भूमिकामा एक सुपर स्पेसलिस्टको रूपमा उभिएका छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को सुरुदेखि नै उनले स्तरमा ब्याटिङ गरिरहेका छन्। त्यसैकारण होला भारतीय टोली व्यवस्थापनले उनलाई ११ मा स्थान दिनुपरेको।

भारतीय टोलीले उनलाई इनिङ्सको अन्तिम ५ ओभरमा प्रयोग गर्न चाहेको थियो। त्यसैले सिरिजको दोस्रो खेलमा १३औं ओभरमा चौंथो विकेट खसेपछि अक्षर पटेल उनीभन्दा अगाडि ब्याटिङ गर्न आएका थिए। यो रणनीति असफल भयो र अक्षरले १० रन बनाउन ११ बलको सामना गर्नुपर्‍यो।

राजकोटमा भारतले १३औं ओभरमा चौंथो विकेट गुमाइसकेको थियो। स्लो पिचका कारण ब्याटमा बल राम्ररी आउन सकेको थिएन। नवौं ओभरमा अन्रिक नोर्खिएको पहिलो बल हार्दिक पाण्ड्याको ब्याटमुनि गएको थियो भने पाँचौं बल ऋषभ पन्तको ग्लोभमा लागेको थियो।

यी सबै कुरालाई ध्यानमा राख्दै भारतले अक्षरलाई नभई कार्तिकलाई छैटौं नम्बरमा पठाउने निर्णय गरेको थियो। एकपटक सेट अप भएपछि रन बनाउन सजिलो हुन्छ। उपकप्तान हार्दिकले उनलाई सुरुमा आफ्नो समय लिन आग्रह गरे। कार्तिकले ४ बलपछि खाता खोलेका थिए। तर, यस अवधिमा उनले परिस्थितिको बारेमा राम्ररी जानकारी लिए।

१६औं ओभरमा टेम्बा बाभुमाले नोर्खिएलाई बलिङमा बोलाए। त्यतिन्जेल कार्तिक सेट भइसकेका थिए र अब स्ट्राइक गर्ने पालो पालो थियो। हिँड्दै उनले मिडअफमा बाउन्ड्री प्रहार गरे। दुई बलपछि उनले कटको मद्दतले पोइन्टको दिशामा अर्को बाउन्ड्री प्रहार गरे।

अर्को छेउमा उनले केशव महाराजविरुद्ध स्वीप, ड्राइभ र रिभर्स पुलमा थप तीन चौका प्रहार गरे। महाराजले खेलपछि भने, ‘कार्तिक अनौठो क्षेत्रमा रन बनाउँछन्। जसले गर्दा उसलाई बलिङ गर्न गाह्रो हुन्छ।’ 

ड्वेन प्रिटोरियसले सुरुका दुई ओभरमा ९ रन मात्र दिएका थिए। तर, क्रिजको गहिराईमा उभिएका कार्तिकले ३ बलमा ६, ४, ४ रन प्रहार गर्दै उनलाई महंगो सावित गरिदिए। कार्तिकले प्रिटोरियसको इनिङ्सको अर्को र अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे।

पन्त १२.५ ओभरमा आउट हुँदा भारतको स्कोरबोर्डमा कूल ८१ रन थियो। त्यसपछिका ८ ओभरमा भारतको स्कोरबोर्डमा कूल रन १४९ बन्ने अनुमान गरिएको थियो। तर, कार्तिकको तुफानी इनिङ्सका कारण भारतले ६ विकेट गुमाएर १६९ रन बनायो, जुन दक्षिण अफ्रिकाले दोस्रो इनिङ्समा बनाएको कूल रनभन्दा झण्डै दोब्बर थियो।

आईपीएल २०२२ सुरु भएदेखि आफूले धेरै मिहिनेत गरेको कार्तिक बताउँछन्। उनी भन्छन्,‘अभ्यासले मलाई अवस्था राम्रोसँग बुझ्न र अनुकूल बनाउन मद्दत गरेको छ। म यस टोलीमा सुरक्षित महसुस गर्छु। अन्तिम खेलमा चीजहरू मेरो पक्षमा गएनन् (उनी आठ बलमा छ रन आउट भए)। तर, खेलपछि सान्त्वनाको वातावरण थियो, ड्रेसिङ रुममा। ड्रेसिङ रुम अहिलेको समयमा सुरक्षित ठाउँ हो। कुरा राम्ररी चलिरहेको बेला वा राम्रो नहुँदा पनि राम्रो महसुस हुन्छ। यहाँ अर्कै प्रकारको आराम छ।’

कार्तिकले थप्दै भने, ‘कप्तान के एल राहुल सिरिजमा हाम्रो दृष्टिकोणको बारेमा धेरै स्पष्ट छन्। मलाई लाग्दैन कि उनले हामीले दक्षिण अफ्रिकालाई हराउनुपर्छ भनेर भनेका छन्। उनी केवल ब्याट्सम्यान र बलरहरूबाट राखिएको अपेक्षाको बारेमा कुरा गरिरहेका छन्। त्यो स्पष्टता धेरै महत्त्वपूर्ण छ।’

आईपीएल सकिएपछि कार्तिक भारतीय टोलीमा परेका थिए। अहिले उनले टी–२० विश्वकपको टोलीमा आफ्नो स्थान सुरक्षित गर्न संघर्ष गरिरहेका छन्। उनको आईपीएल र अहिलेको लयलाई हेर्दा लाग्दा उनले भारतका लागि टी–२० विश्वकपमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।

प्रतिक्रिया