ओशो तपोवन अन्तर्राष्ट्रिय कम्युनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणले समाधि सबै कुराको समाधान भएको बताएका छन् । ‘कुनै व्यक्तिमा समाधि घटित भएपछि सबै समस्याको समाधान हुन्छ, सबै प्रश्नको उत्तर प्राप्त हुन्छ,’ दृश्य टिभीसँग कुराकानी गर्दै स्वामी अरुणले भने । समाधि अनुभव भइसकेको व्यक्तिको मनमा कुनै तृष्णा बाँकी नरहने उनको बुझाइ छ । 

सन् १९६९ मा इन्जिनियरिङको विद्यार्थी रहेका बेला बीसौं शताब्दीका रहस्यदर्शी आध्यात्मिक गुरु ओशोलाई भारतमा प्रत्यक्ष भेटेर उनले संन्यास दीक्षा लिएका थिए । त्यसयता स्वामी अरुणको दिनचर्या ध्यान, साधना, प्रवचन, संन्यास दीक्षालगायत कार्यक्रममा व्यतीत हुँदै आएको छ । आफ्ना गुरु ओशोको उत्प्रेरणाले ३२ वर्षअघि काठमाडौंको नागार्जुनमा ओशो तपोवन कम्युन स्थापना गरेका स्वामी अरुणले यस बीचमा स्वदेश र विदेशका हजारौं व्यक्तित्हरुलाई संन्यास दीक्षा प्रदान गरिसकेका छन् । 

योगलाई सामान्य अर्थमा ‘जोड्नु’ अर्थात् आत्मालाई परमात्मासँग जोड्नु भन्ने अर्थमा बुझिने गरिएको उनको भनाइ छ । योगलाई पतञ्जली ऋषिले अत्यन्त वैज्ञानिक ढंगले व्याख्या गरिएको उनले स्पष्ट पारे । ‘पतञ्जलीले योगको अष्टांग मार्गबारे अत्यन्त व्यवस्थित ढंगले चर्चा गरेका छन् । यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि भनी उत्कृष्ट व्याख्या गरिएको छ,’ उनले भने । 

कतिपय व्यक्तिहरुले योगलाई शारीरिक व्यायाम वा आसनका रुपमा बुझ्ने गरेको र त्यस्तो बुझाइ उपयुक्त नभएको उनको ठम्याइ छ । ध्यानलाई वैज्ञानिक ढंगले बुझ्न नसक्दा समस्या आउने गरेको उनी बताउँछन् । पछिल्लो समयमा अस्तव्यस्त जीवनशैलीले मानसिक समस्या बढ्दै गएकाले अध्यात्मिक जीवनशैलीले मात्र त्यस्ता समस्या समाधान गर्न सकिने स्वामी अरुणको अनुभव छ । 
 
ध्यान–साधनाको क्रममा साधकले प्रकाश देख्ने अनि भाइब्रेसन महसुस हुने घटना सामान्य प्रक्रिया भएको उनी बताउँछन् । ‘कतिपय मेरा गुरु भाइहरुले प्रकाश देखेपछि म इन्लाइटेन भए पनि प्रचार गरेको देखिन्छ, जुन सरासर गलत हो,’ उनी स्पष्ट पार्छन् । स्वामी अरुण आफूलाई इन्लाइटेन व्यक्ति भन्न चाहँदैनन् । आफू साधक मात्र रहेको उनको स्वीकारोक्ति छ ।
 
काठमाडौं तपोवनस्थित ओशो तपोवनमा ध्यान साधनाका लागि विश्वका विभिन्न मुलुकबाट साधकहरु आउने गर्छन् । गुरु ओशोको उत्प्रेरणा र सहायताले आफूले माध्यम भएर उहाँको शिक्षालाई विश्वका विभिन्न मुलुकमा फैलाउन सफल भएको उनको धारणा छ । ‘गुरु ओशोले शरीर छाड्नुभएको ३२ वर्ष भयो, अझै पनि मैले उहाँबाट मार्गदर्शन पाइरहेको छु,’ आफ्ना गुरुप्रति उनले अगाध समर्पण प्रकट गरे ।  

उमेरले ७९ वर्ष पुगे पनि अझै पनि स्वामीजीले ध्यान–साधना सिकाउने अनि संन्यास दीक्षा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । चरम भौतिक जीवनशैलीले संसारमा विकराल समस्या निम्तिएको उनको राय छ । ‘मानिसले समाधिको अनुभूति नगरेसम्म डर र लोभबाट मुक्त हुन सक्दैन, त्यही भएर पनि जीवनका लागि आध्यात्मिक साधना अति जरुरी छ,’ उनी भन्छन् ।

योग, ध्यान, साधना, समाधि, जीवन, मृत्यु आदिबारे स्वामी आनन्द अरुणसँग दृश्य टिभीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । हेरौँ–भिडियो ।   
  
  

 
  
 

प्रतिक्रिया