गठबन्धन खटपटः सँघारमा पुगेर किन शंका?

काठमाडौं। स्थानीय निर्वाचनको सँघारमा पुगेपछि पाँचदलीय गठबन्धन शंकाको घेरामा परेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पाँच दलीय गठबन्धनका मुख्य तीन दल हुन्। अहिले यिनै तीन दलका शीर्ष नेताहरुका अभिव्यक्ति शंकाले भरिपूर्ण छन्। माओवादी र एकीकृत समाजवादीले नेपाली कांग्रेसलाई शंकाको दृष्टिले हेर्न थालेका छन्। नेपाली कांग्रेसले उनीहरुलाई विश्वस्त तुल्याउन सकिरहेको देखिँदैन।

स्थानीय निकायका विभिन्न तहमा भागबण्डा गरेर निर्वाचनमा मुख्य विपक्षी दल नेकपा एमालेसँग प्रतिष्पर्धा गरिरहेका यी तीन दल मतदान हुनु तीन दिन अघि किन परस्पर शंकाको अभिव्यक्ति दिईरहेका छन् भन्ने कुराले उनीहरुका पक्षमा मतदान गर्ने मतदाता समेत चकित परेको देखिन्छ।

केही दिन यताका अभिव्यक्ति सुन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल गठबन्धनको सहमति अनुसारको मत आफ्ना उम्मेदवारले पाउने कुरामा आशंका गरिरहेका छन्। कतिपय स्थानमा नेपाली कांग्रेसका उम्मेदवारले आफूखुशी उम्मेदवारी दर्ता गराएकाले उनीहरुलाई शंका गर्न वाध्य बनाएको पनि हुनसक्छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यस्ता उम्मेदवारलाई पार्टीले कार्बाही गर्ने चेतावनी दिए पनि उनको कुरालाई कसैले टेरपुच्छर लाएको देखिँदैन।

भन्न त सभापति देउवाले यसो पनि भनेका छन्– ‘बागी उम्मेदवारले अपिल प्रकाशन गरेर उम्मेदवारी त्याग्नुस्, होइन भने पार्टीले कार्बाही गरेरै छाड्छ।’ 

सभापति देउवाको यस्तो चेतावनी कसैले पालना गरेको पाईँदैन। उनीहरु आफ्नै बलबूतामा निर्वाचन प्रचार प्रशारमा व्यस्त देखिन्छन्। चितवनको भरतपुर महानगरमा यस्तै देखिन्छ। 
 
सत्ता गठबन्धनले विभिन्न पालिकामा तालमेल गर्दै साझा उम्मेदवारी दिए पनि कांग्रेसको पूरै मत आफ्ना उम्मेदवारलाई आउनेमा सहयात्री दल माओवादी र एकीकृत समाजवादी ढुक्क देखिएका छैनन्। गठबन्धन दलहरुवीच आशंकाको टिकाटिप्पणी चलिरहेका बेला प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनपछि गठबन्धन टुट्ने दाबी गरेका छन्। अझ मिति नै किटेर ओलीले असार १७ मा गठबन्धन भत्किने भविष्यवाणी समेत गरेका छन्। सत्तारूढ दलहरूका मनमा  शंकाको विजारोपण गर्न के ओली सफल भएका हुन् त? अहिले यस्तो प्रश्न गरिन थालेको छ।

एमाले अध्यक्ष ओली यो गठबन्धनको परम् मित्र हुने कुरै छैन। सर्बोच्च अदालतको परमादेशपछि बनेको यो गठबन्धन नै ओलीको सत्ताच्युतको मुख्य कारण हो। उनी यसलाई धरापमा पार्न चाहन्छन् भने त्यो अस्वाभाविक हुँदै होइन, त्यही कारण ओलीले मनोवैज्ञानिक अस्त्र छाडेका हुनसक्छन्। 

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले ओलीको मनोवैज्ञानिक अस्त्रले गठबन्धनलाई फरक नपर्ने दावी गरेका छन्। महतको तर्कले मतदाताहरुलाई के कति आवश्वस्त पार्न सक्छ त्यो त उनै जानुन्। तर आशंकाको परिस्थिति कायमै रहने हो भने मतदानको दिनसम्म पुग्दा गठबन्धन जग कतै हल्लिने त होइन भनेर आम मानिसमा आशंका भने बढाएको पाईन्छ।

धनगढी पुगेका गठबन्धनका नेता प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा चढिसकेका छन्। गएको संसदीय निर्वाचनमा अन्यायमा परेका नेता पुष्कर ओझालाई  फकाउन प्रधानमन्त्री देउवाले संवाद सूत्र सक्रिय गराएका थिए। प्रत्यक्ष वार्ता हुननसके पनि दुवैजनाले एकअर्काको प्रशंसा गरेर सम्मान प्रकट गरेको सूत्रहरुले बताएका छन्।

प्रधानमन्त्री देउवाले सम्भवत नेता ओझामाथिको कार्बाही फुकुवा गरेर उनलाई सम्मानजनक स्थान दिने बुझिएको छ। ओझाले निर्वाचन पछि सभापति देउवासँग भेट्ने खबर पठाएका थिए। त्यसपछि देउवा उतैबाट डडेल्धुरा चढेका हुन् भने आरजु पनि बर्दिया फर्किएकी छन्। 

प्रधानमन्त्री देउवा डडेल्धुरामा मतदान गरेपछि मात्र काठमाडौं फर्कने भएका छन्।

कैलालीमा लोकप्रिय मानिने पुष्कर ओझाको भाग खोसेर प्रधानमन्त्री देउवाले धर्मपत्नी आरजु राणा देउवालाई गएको संसदीय निर्वाचनमा उम्मेदवार उठाएका थिए। तर उनी पराजित भएकी थिईन्।

नेपाली कांग्रेससँग सशंकित माओवादी अध्यक्ष प्रचण्डले 'सहमति विपरित उम्मेदवारी खारेज हुनुपर्छ, कुनै खालका धोका, बेइमानी र षड्यन्त्र स्वीकार्य छैन' भनेर तीतो पोखेका छन्। भरतपुर महानगपालिकाको निर्वाचनले कस्तो परिणाम दिने हो भनेर आँकलन गर्न नसकिरहेका प्रचण्डले पुत्री रेनु दाहाल केही गरी हारिन् भने त्यसको दोष नेपाली कांग्रेसमाथि थोपर्न अहिले नै पृष्ठभूमि बनाउन थालेका हुनसक्छन्।

अर्का गठबन्धन नेता माधवकुमार नेपालको आक्रोश यस्तो छ– ‘कांग्रेसमा दम्भ देखिन्छ, दम्भ पाले ओलीकै हालत हुन्छ। ठूलो सानो नभनौं र सबैको अस्तित्व स्वीकारौं।’ एमालेको सानो समूह लिएर अलग्गिएका नेता नेपालको वास्तवमा भोट बैंक देखिँदैन। उनले गठबन्धनकै बलमा मात्र आफ्ना उम्मेदवार जित्ने सम्भावना बुझेकै छन्। तर सहमति विपरित कतिपय स्थानमा उम्मेदवारी परेकाले नेपाललाई पनि टाउको दुःखाएको कुरा बुझ्न सकिन्छ। 

प्रतिक्रिया