स्थानीय निर्वाचन

विश्वप्रकाशको प्रतिष्ठा दाउमा लागेको मेचीनगरको चुनाव

काकडभित्ता। कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएपछि विश्वप्रकाश शर्मा एकताको सन्देश दिन बरिष्ठ नेता कृष्ण सिटौलालाई भेट्न उनकै निवास पुगेका थिए। यतिबेला पार्टीभित्र विश्वप्रकाशको अग्लिदै गएको व्यकि्तत्वलाई सिटौलाले पनि स्वीकार गरेका थिए। 

पूर्वको मेचीमा कृष्ण सिटौला भर्सेस विश्वप्रकाशको द्धन्द्ध नौलो विषय होइन। कांग्रेस महाधिवेशनमा विश्वप्रकाशलाई महामन्त्रीको उम्मेदवार हुनबाट रोक्न सिटौलाले अनेकौ रणनीति अपनाए। तर, उनी सफल भएनन्। प्रकाशमान सिंह जस्तो कमजोर खेमाबाट चुनाव लड्दै पपुलर मतसहित विश्वप्रकाश महामन्त्रीमा निर्वाचित भए। 

यसपछि सिटौलासँग वार्ता गर्न गएका विश्वप्रकाशले आफ्नो क्षेत्रको वरिष्ठ नेतासँग मेचीको राजनीतिमा मिलेर काम गर्ने इच्छा व्यक्त गरेका थिए। जसलाई सिटौलाले पनि सि्वकार गरेका थिए। 

तर, स्थानीय निकायको निर्वाचनमा आइपुग्दा मेचीका यी दुई कांग्रेसी नेताहरूबीचको द्धन्द्ध फेरि सतहमा देखिएको छ। स्थानीय निकायको निर्वाचनका लागि पार्टीले विशेष वक्ताका रूपमा विश्वप्रकाश र गगन थापालाई देशव्यापी अभियानमा समावेश गराएको छ। 

विश्वप्रकाश पार्टीको काममा व्यस्त रहेको बेला उनको संसदीय क्षेत्र मेचीनगरमा उनैलाई जानकारी नदिई आपसी सहमति बिना नै सुरुमा टिकट वितरण गर्ने काम भयो। उम्मेदवारको नाम दर्ता गर्नुअघि विश्वप्रकाश आफ्नो सहमति बेगरको नाम सच्याउन त सफल भए तर यसले उनको राजनीतिक भविस्यलाई पुनः जोखिममा मोडेको छ। 

प्रदेश समितिले मेचीनगर नगरपालिकाका लागि पहिले केशवराज पाण्डेलाई मेयर पदमा सिफारिस गरेको थियो। पाण्डे यहाँका प्रभावशाली नेता मानिन्छन्। पाण्डेको नाम अनि्तम समयमा काटेर इन्द्रबहादुर बुढाथोकीलाई मेयर पदको उम्मेदवार बनाउन विश्वप्रकाश सफल भएका थिए। 

अहिले चुनावी सरगर्मी बढ्दै जाँदा मेचीनगरलाई विश्वप्रकाशको प्रतिष्ठासँग जोडेर हेर्न थालिएको छ। हिजो उनीसँग सरसल्लाह नै नगरी कसरी पाण्डेलाई उम्मेदवार बनाइयो, त्यो यहाँ झर्लङ भइसकेको छ। र, राषि्ट्रय राजनीतिमा विश्वप्रकाशको उचो हुँदै गएको कदलाई रोक्न सिटौला क्याम्पले घात गर्नसक्ने अनुमान पनि लगाइएको छ। 

अघिल्लो चुनावमा नेपाली कांग्रेसका बिमल आचार्यले नेकपा एमालेका विष्णुप्रसाद प्रसाईंलाई १५ सय ८४ मतले पराजित गरेका थिए। त्यतिबेला आचार्यले २० हजार ७७६ मत तथा प्रसाईंले १९ हजार १ सय ९२ मत प्राप्त गरेका थिए। माओवादी केन्द्र तेस्रो स्थानमा थियो। माओवादीका हंसलाल राजवंशीले ७ हजार ६ सय ९४ मत प्राप्त गरेका थिए। अहिले माओवादीसहित गठबन्धनको उम्मेदवार इन्द्रबहादुर भएको हुनाले उनले जित्ने अपेक्षा गरिएको छ। तर, टिकट वितरणलाई पुनः सिटौला भर्सेस विश्वप्रकाश बनाइएका कारण कांग्रेसभित्रबाटै अन्तर्घात हुने त होइन भन्ने आशंका पनि बढेको छ। 

यसपालि यो क्षेत्रमा १५ हजार नयाँ मतदाता थपिएका छन्। अहिले मतदाता संख्या ९० हजार २ सय २ रहेको निर्वाचन आयोगले बताएको छ। 
मेचीनगरबाट नेकपा एमालेले गोपालचन्द्र बुढाथोकीलाई उठाएको छ। उनलाई मेयरमा उठाउन प्रदेश सभा सदस्यको करिब १० महिने कार्यकाल बाँकी हुँदै राजीनामा गर्न लगाइएको थियो। लोकपि्रय र स्पष्ट नेता हुँदा हुँदै पनि प्रदेश सभाको सांसद पदबाट राजीनामा गराएर उनलाई टिकट दिएको विषयमा एमालेभित्र पनि रोष देखिन्छ। 

राजनीतिक लाभ एकै व्यकि्तलाई  दिने हो भने हामीले किन राजनीति गर्ने भन्ने एमालेको असन्तुष्ट धारको आवाज छ। यसैले हिजोआज चुनावमा भोट माग्न जाँदा उनी पार्टीले आवश्यकता बोध गरेर आफूलाई सांसद पदबाट राजीनामा गर्न लगाएको स्पष्टीकरण दिने गरेका छन्। 

मेचीनगर नगरपालिकाम १५ वटा वडा छन्। यसअघि यी वडामध्ये नेपाली कांग्रेस र नेकपा एमालेले समान ७–७ वटा वडा जितेका थिए। माओवादीले एउटा वडामा जित हात पारेको थियो।   

प्रतिक्रिया