पाँच दशकदेखि निरन्तर ...

वरिष्ठ पत्रकार किशोर नेपाल

साना, मझौला र ठूला सञ्चारमाध्यमको नेतृत्व गरेर अहिले स्वतन्त्र पत्रकारको भूमिकामा छन् यी अनुभवी कलमजीवी ।

किशोर नेपाललाई पत्रकारिता विधाका अनुभवका खानी भन्दा उनको नाजायज स्तूति गरिएकोे हुने छैन । लेख्नु उनको कर्म हो । धर्म पनि यही नै हो ।

उनको करिअरमा संस्था र विधा बदिलिँदै रहे तर किशोर नेपालको सिर्जनशील कर्म भने बदलिएन । नेपालको पत्रकारितामा निरन्तर लेखिमात्र रहने उनी आफ्ना समकालिनहरुवीच एक्ला हुन् भन्दा अतिशयोक्ति हुने छैन ।

निरन्तरता उनको जीवनको लोभलाग्दो सम्पत्ति हो । पाँच दशक भन्दा बढी यसरी नै बितेका छन् अनुभवका सप्तरंगी इन्द्रेणी बनेर ।

देशान्तर साप्ताहिक देखि कान्तिपुर पव्लिकेशनस् हुँदै नागरिक दैनिकसम्मको यात्रामा किशोर नेपालको सीप र दक्षताबाट धेरै युवा पत्रकारहरुले लाभ उठाएका छन् । उनीहरु जसले केही सिके ती सबै पत्रकारितामा चिनिने गरी क्रियाशील पनि छन् ।

दर्जनौ पत्रकारले गुरु भनेर सम्मान गरेपनि किशोर नेपाल स्वयं भने आफूलाई गुरु भनिमाग्न रुचाउँदैनन् । ‘मसँग काम गरेर भाई बहिनीहरुले केही सिके भने त्यो मेरा लागि खुशीको कुरा हो ।’ उनी यति मात्र भन्छन् । नयाँ पुस्ताका पत्रकारहरुको क्षमता र कल्पनाशीलतासँग उनी सन्तुष्ट भने छैनन् ।

पत्रकार अध्ययनशील र सिर्जनशील हुनुपर्ने उनको सुझाव छ । अहिलेका पत्रकार सय डेढ सय शब्दहरुमै अल्मलिएको तर शब्द भण्डार बढाउने रुची कसैमा पनि नदेखिएको उनको टिप्पणी छ ।

वरिष्ठ पत्रकार किशोर नेपालको रुची र सोखको अलग्गै रोचक पक्ष पनि छ । कतिपय उनको व्यक्तित्वको यो पक्षलाई लिएर खिसिट्युरी पनि गरिरहन्छन् । तर उनलाई आफ्नो पिठ्युँ पछाडि खिसिट्युरी गर्नेहरुसँग न गुनासो छ न त चासो नै । खानपिन,अम्मल र पहिरनमा ‘ब्राण्ड कन्सस’ मानिने किशोर नेपाल कुनैबेला चेन स्मोकर थिए । जुनबेला त्यस्ता थिए उनी बत्तिसपुतलीबाट ट्याक्सी चढेर मार्लबोरो चुरोट किन्न थापाथली पुग्ने गर्थे । पहिरन र पेय पनि उनको रुचीको अर्को पक्ष हो । यी दुबै कुरामा उनी काम चलाउ शैली मन पराउँदैनन् । सम्झौता पनि गर्दैनन् ।

निवन्ध, कथा, उपन्यास र अटोवायोग्राफीका सर्जन हुन् किशोर नेपाल भन्ने कुरा थाहा नपाउने कमै पाठक होलान् जसले उनलाई विगत चार दशकदेखि पढ्दै आएका छन् । नेपाली पत्रकारिताका ‘बूढो बाघ’ पनि भन्छन् युवा पुस्ताका पत्रकार उनलाई आदर गरेर ।

देशको सबै जिल्ला टेकिसकेका आफ्नै आँखाले जनजीवन देखिसकेका र सकेजति लेखिसकेका यिनै अनुभवी पत्रकार किशोर नेपालसँग दृश्य टेलिभिजको रोचक वार्तालाप । आफैं पनि चर्चामा रहिरहने, बहुआयामिक प्रतिभा र क्षमता भएका ७० वर्षे ‘ठिटो’ वरिष्ठ पत्रकार किशोर नेपालको जीवन शैैली अझै पनि कुनै युवाको भन्दा फरक र कम छैन ।

प्रतिक्रिया